शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म

बिहीबार, ०८ जेठ २०८२, २२ : ००
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएको उपस्थित भएका छौँ–

१. बैठकमा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् ।

२. स्वार्थको खेलमा मुख्यसचिव

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती कर्मचारी विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने सहमति भएलगत्तै उक्त सहमति उल्ट्याउन मुख्यसचिवदेखि सचिवसम्म शक्ति केन्द्र धाउन थालेका छन् ।

प्रस्तावित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा २ वर्षे कुलिङ पिरियड राख्ने समितिमा सहमति भैसकेको छ । सेवा अवधि सकिएको निश्चित समयभित्र कुनै संवैधानिक वा राजनीतिक नियुक्ति लिन नपाउने व्यवस्थालाई कुलिङ पिरियडको रुपमा लिने गरिएको छ ।  तर, स्वार्थमा खेलमा लागेर सोही कुलिङ पिरियड उल्ट्याउन मुख्यसचिव एकनारायण अर्यालकै नेतृत्वमा सचिवहरूले शक्तिकेन्द्र र नेताहरूको घरदैलोमा अस्वाभाविक रूपमा दौडधुप गरिरहेका हुन् ।

 

३. अदालत

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

लामिछाने, जोशी र सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा भोलि जाहेरवालाको तर्फबाट बहस भएपछि जवाफी बहस सुरु हुनेछ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्दैछन् ।

४. भिजिट भिसा प्रकरण

पर्यटक भिसा लगाएर बिदेसिनेहरूसँग असुल्न अध्यागमन विभागका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले यूएई र कुवेत जाने महिलाहरूबाट मोटो रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए ।

आयोगका एक उच्च अधिकारी ३ दिनअघि मात्र उजुरी आएको बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार अगाडिदेखि नै सूक्ष्म रुपमा अनुसन्धान भइरहेको थियो । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख ९सहसचिव० तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित गरेको थियो । तर, सो सूचना चुहिएपछि गृहमा हलचल मच्चियो । र जेठ ६ मा भट्टराईलाई गृहमन्त्री रमेश लेखकले मन्त्रालय ताने ।

भट्टराईसँगै अरू ८ जना नायब सुब्बाहरू पनि मन्त्रालयमा सरुवा भएका छन् । अध्यागमन विभागका एक अधिकृत भन्छन्, ‘सुब्बाहरू पनि कारबाही भोगेका र विवादित पृष्ठभूमिका थिए ।’

५. मन्त्रिपरिषद् निर्णय

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्तिदेखि  केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।

 

६. समिति बैठक

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबिच बाझाबाझ भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो ।

बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए ।

७. वाम विग्रह

पटक पटक विभाजनको मार खेपेको नेपाल समाजवादी पार्टी (नेसपा)भित्र फेरि अन्तरविरोध उत्कर्षमा छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेसपाका तत्कालीन अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महिन्द्र राय यादवबिच विवाद हुँदा २०८० चैत ३ गते विभाजन भएको थियो ।

 

८. मधेसमा मन्त्रिपरिषद्

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

९. एनआरएनए

परराष्ट्र मन्त्रालयले एकता महाधिवेशनबाट निर्वाचित भएको महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिबारे सबै नेपाली दूतावासलाई सर्कुलर पठाएको छ ।

परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भएको जानकारीसहित बिहीबार सबै दूतावासलाई सर्कुलर पठाएको हो । सचिवालयबाटै काम गर्दै आएको बद्री केसी नेतृत्वको अर्को एनआरएनएलाई झट्का लाग्नेगरी परराष्ट्रले पत्राचार गरेको हो ।

 

१०. सेयर बजार

साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप