पोखराको प्याराग्लाइडिङ पुरानै ठाउँमा

समाचार सारांश
- पोखरामा प्याराग्लाइडिङ पुरानै स्थानमा फर्किएको छ, अब तोरीपानीबाट उडान हुने भएको छ। यसअघि, विमानस्थल निर्माणपछि मान्द्रेढुंगा सारिएको थियो।
- नेपाल हवाई खेलकुद संस्थाका अनुसार, प्याराग्लाइडिङ स्थानान्तरणले व्यवसायलाई असर गरेको थियो, तर पुरानै स्थानमा फर्काएपछि पहिलेकै अवस्थामा फर्किने विश्वास छ।
- पাইলट र कम्पनी विस्थापित हुनुको कारणबारे छलफल गरिएको छ। कर र शुल्क महँगो हुँदा व्यवसायमा समस्या आएको र उडानको समय पनि विस्तार गरिएको छ।
पोखरा । पोखराको प्याराग्लाइडिङ पूरानै ठाउँमा सरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि मान्द्रेढुंगा पुर्याइएको प्याराग्लाइडिङ उडान अब तोरीपानीबाट गर्ने भएको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले तोरीपानीबाट उडान भरेर खपौंदी र चंखपुर क्षेत्रमा ल्याण्ड गर्ने गरी अनुमति दिएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष अनिल केसीले जानकारी दिए । कुनै समय पोखराको ब्राण्ड बनिसकेको प्याराग्लाइडिङ स्थानान्तरण गर्दा लोप हुने अवस्थामा पुगेको थियो ।
नाले लामो समय प्रयास गरेपछि पूरानै ठाउँमा सारेर प्याराग्लाइडिङ उडान र अवतरणको व्यवस्था मिलाएको केसीको भनाई छ । ‘पोखरा एकसमय प्याराग्लाइडिङका लागि मात्रै आउने पर्यटक पनि थिए । अहिले पोखरा आइसकेका पर्यटकले पनि प्याराग्लाइडिङ नगरी फर्किने अवस्था बन्यो,’ उनले भने, ‘कतिपयलाई पोखराबाट प्याराग्लाइडिङ विस्थापित भैसकेको भन्ने हल्ला पुगेछ । अब हुँदैन भनेर पूरानै ठाउँमा सार्न पहल गरेका हौँ ।’ उनका अनुसार अहिले ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको उडान अब ११ बजेदेखि साढे ४ बजेसम्म गर्न मिल्ने भएको छ ।
नाका महासचिव बलराम आचार्य उडान र अवतरणको स्थानान्तरणसँगै पोखराको प्याराग्लाइडिङ पूरानै अवस्थामा फर्किने विश्वास गर्छन् । ‘मान्द्रेढुंगा पुगेपछि त प्याराग्लाइडिङ उडेको पोखराबाट देख्न सकिँदैनथ्यो । धेरैजना झुक्किनुभएछ । कतिपय नकारात्मक प्रचार पनि भएछ,’ उनले भने, ‘तोरीपानीबाट उडेपछि पोखराबाट सहजै प्याराग्लाइडिङ देख्न सकिन्छ । पर्यटकहरुले फेरि रुचाउने छन् र पूरानै अवस्थामा फर्किनेछ भन्ने विश्वास लिएका छौँ ।’
विमानस्थल निर्माणअघि यहाँका प्याराग्लाइडिङ कम्पनीले दिनमै ७ सय जनासम्म सिजनमा उडाउने गर्थे । ठाउँ सरेपछि सिजनमै २ सय जना हाराहारी मात्रै उड्ने गरेका छन् । प्याराग्लाइडिङ व्यवसाय सुस्ताएपछि दर्ता भएका कम्पनी पनि विस्थापित भए, पाइलटहरु पनि पलायन भएका छन् । हवाई खेलकुद संस्थाका अनुसार ६० कम्पनी दर्ता भएकोमा अहिले ५३ कम्पनीले मात्रै नियमति उडान भर्छन् ।
यहाँ प्याराग्लाइडिङ उडाउन ३ सय ९९ जना पाइलटले अनुमतिपत्र लिएका छन् । तर २ सय ६० जना मात्रै अहिले सक्रिय रहेका र अन्य पलायन भएका महासचिव आचार्यले जानकारी दिए । ‘रोजीरोटी नै नचल्ने अवस्था आएपछि बसिरहने कुरा पनि भएन,’ उनले भने- ‘धेरै पाइलटले पेसा परिवर्तन गरे । कतिपय विदेश गैसकेका छन् ।’
राज्यले लिने कर र शुल्क महंगो भएका कारण पनि कतिपय कम्पनीहरु सक्रिय हुन सकेका छैनन् । पोखरामा हुने प्याराग्लाइडिङमा उड्दा न्यूनतम ७ हजार ५ सय देखि अधिकतम ८ हजार ५ सयसम्म शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले फेरि गरे राजावादी नेताहरूसँग भेट, छलफलको विषय गोप्य राखियो
-
'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'
-
अख्तियारले अपनाएको शैलीः ‘टाउकोबाट अनुसन्धान’ गर्ने
-
कोशी प्रदेश वाइसिएलको अध्यक्षमा विक्रम बाबु फियाक निर्वाचित
-
पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
-
बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने