शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
किताबका कुरा

‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’

शनिबार, १० जेठ २०८२, १७ : ००
शनिबार, १० जेठ २०८२

‘यद्यपि प्रश्नहरू’ (२०६२), ‘विम्बहरूको कठघरा’ (२०६६) र ‘बागी सारङ्गी’ (२०६९) कविता संग्रहपछि साहित्यकार तथा लेखक सरस्वती प्रतीक्षा उपन्यासतिर लागिन् । उनका दुई उपन्यास ‘नथिया’ (२०७४) र ‘स्व’ (२०८१) चर्चित छन् ।

सुन्दर सहर पोखरामा बसेर लेखन साधना गर्ने सरस्वती प्रतीक्षालाई हामीले यसपटक ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ । 

  • पढ्नका लागि कति समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

खानु, पिउनु, निदाउनु भनेजस्तै पढ्नु पनि मेरो दैनन्दिन जीवनको एक अनिवार्य हिस्सा नै बनिसकेको छ । पढ्नका लागि मैले दिनको एक घण्टा छुट्ट्याएकी छु र मैले पढ्ने त्यति नै हो । यात्रा वा अन्य कामले कुनै दिन पढ्न छुटेको घण्टा अर्को दिनमा थपेर भर्पाइ गर्ने गर्छु । यदाकदा कुनै कुनै किताब रातारात पनि पढेर सक्छु, त्योचाहिँ अपवादको कुरा । हरदिन एक घण्टा पढ्दा हप्तामा औसत एउटा किताब सकिन्छ । यसरी वर्षमा पचासवटा किताब पढेर सक्नलाई मैले त्यस्तो कुनै ठुलो मेहनत गर्नैपर्दैन । मलाई लाग्छ, लेखनको सवालमा समयको व्यवस्थापन गर्न खास खाले कोसिस, त्याग, ऐकान्तिकता र साधना चाहिन्छ । पठनका लागि सामान्य इच्छाशक्ति भएमा समय उताउतीबाट जसरी नि उबार्न सकिहालिन्छ । 

  • पछिल्लो समयमा कस्ता किताब पढिरहनुभएको छ ? हालैका दिनमा पढेको किताब ?

म सबै खाले किताब पढ्न रुचाउने पाठक हुँ । आख्यान र गैरआख्यान दुवै खाले किताब मेरो रोजाइमा पर्छन् । अघिल्लो हप्ता मैले सोनिया फलेरोले सम्पादन गरेको ‘हाउ आई राइट’ नामक पुस्तक पढेँ । पछिल्लो समय मैले एक–एक वाक्य एकदमै इन्जोय गरेर पढेका किताबमध्येका यो किताब पनि पर्छ । यसमा अठारजना विभिन्न कवि, उपन्यासकार, अनुवादक आदिसित बाह्रजना प्रश्नकर्ताले सोधेका प्रश्नको जवाफ छ, (केही प्रश्नकर्ता दोहोरिएका छन्) । फरक–फरक प्रश्नका फरक–फरक जवाफले पाठकलाई सिर्जना र प्यासनको अर्को दुनियाँमा पुर्‍याउँँछ । हरेक लेखकले पढ्नैपर्ने किताबमा यो किताब पर्छ । 

  • तपाईंका लागि किताब के हो ?

यो साधारणजस्तो सुनिने तर जटिल प्रश्न हो मेरा लागि । सुन्दा अतिशयोक्तिजस्तो लागे पनि मलाई सास फेर्नका लागि अक्सिजनले मात्र पुग्दैन, किताब पनि चाहिन्छ । यसर्थ किताब मेरा लागि बाँच्नका लागि नभई नहुने अनिवार्य तत्त्व हो । संसारको सबैभन्दा मोहक वासना कुन हो भनेर कसैले सोधे म किताब खोल्दा आउने वासना हो भन्छु । अंग्रेजीका एउटा शब्द छ, ‘बिब्लियोस्मिया’, जसले किताबबाट आउने वासनालाई जनाउँछ । यो शब्द सायद म र मजस्ताका लागि नै बनेको शब्द होला । 

कहिलेकाहीँ मेरो छोराले मलाई जिस्काउँदै भन्छ, ‘मामु, तपाईंले किताब र ममध्ये एउटा रोज्न परे किताबलाई रोज्नुहुन्छ होला है !’ म उसलाई जवाफ नदिई सधैँ फिस्स हाँसिदिन्छु । मेरो ‘म’पछिको दोस्रो नजिकको साथी नै किताब हो । 

  • किताबसँग साइनो कसरी जोडियो ? 

आफ्नो अन्तर्मुखी स्वभावका कारण बच्चैबाट म अरु साथीहरूसित बोल्न, घुलमिल हुन र आफ्नो कुरा राख्न कसोकसो संकोच मान्थे । अरुहरूलाई साथी बनाउनुभन्दा किताबहरूलाई साथी बनाउनु र किताबहरूसँग रमाउनु मलाई सहज लाग्थ्यो । त्यहीमाथि किताबहरू पढिरहँदा हरेक किताबले फरक–फरक दुनियाँमा पुर्‍याउँथे र ती फरक–फरक दुनियाँमा विचरण गर्ने लोभले म झन्झन् पढ्न प्रेरित हुन्थे । यसरी नै किताबसितको साइनो प्रगाढ हुँदै गयो । 

संसारको सबैभन्दा मोहक वासना कुन हो भनेर कसैले सोधे म किताब खोल्दा आउने वासना हो भन्छु । अंग्रेजीका एउटा शब्द छ, ‘बिब्लियोस्मिया’, जसले किताबबाट आउने वासनालाई जनाउँछ । यो शब्द सायद म र मजस्ताका लागि नै बनेको शब्द होला ।
  • किताब किन्नका लागि कतिको पैसा खर्च गर्नुहुन्छ ?

किताब किन्नका यति नै खर्च हुन्छ भनेर म ठ्याक्कै भन्न सक्दिनँ । म किताब उपहार दिन पनि रुचाउने मान्छे हुनाले सबै गरेर वर्षमा ५० हजार वरपर खर्च हुन्छ होला ।

  • तपाईंलाई मनपरेको कुनै एक विदेशी किताब र मनपर्नुको कारण !

विदेशी किताबमा मैले सबैभन्दा बढी मनपरेर पटकपटक दोहोर्‍याएर पढेको किताब हर्मन हेसको सिद्घार्थ हो । यो किताब जतिपटक पढ्छु, प्रत्येकपटक केही न केही नयाँ कुरा पाउँछु । पूर्वीय दर्शनमा आधारित भएर पश्चिमेली लेखकले लेखेको यो किताबले सजिलो कथाको माध्यमबाट जीवनको गहिरो दर्शन सम्झाउँछ । स्वयं बुद्घलाई भेटेर पनि बुद्घसँग अप्रभावित हुँदै किताबको मुख्य पात्र सिद्घार्थ आफ्नो निजी अनुभव र अनुभूतिको आडमा आफ्नो बोधको यात्रा गर्छ । ध्यान, तपस्या, कठोर व्रत, सीमाहीन भोग विलास, सम्पत्ति र जुवाको लत हुँदै अन्त्यमा वैराग्यको बाटोमा जाँदै गर्दा नदीबाट सिद्घार्थले जे सिक्छ, त्यो सिकाइ अभुतपूर्व लाग्छ । यो किताब मेरा निम्ति फगत एक किताब होइन, सिकाइको पाठशाला नै हो ।

  • यहाँलाई मनपरेका नेपाली लेखक र किताब सम्झनुपर्दा ! अनि ती किताब मनपर्नुको कारण !

मन परेका नेपाली लेखक र किताब थुप्रै छन् । सुम्निमादेखि शिरीषको फूलसम्म, एब्सट्रयाक्ट चिन्तनः प्याजदेखि कारागारसम्म, घुम्ने मेचमाथि अन्धोमान्छेदेखि माधवीसम्म, पागल बस्तीदेखि उलारसम्म— कुन कुन किताब र लेखकहरूको नाम लिउँ खै ? यो सूची निकै लामो पो हुन्छ त । मनपराउनुका कारण फरक–फरक लेखकका सन्दर्भमा फरक–फरक नै छन् । के के मात्र बताउनु ?

मेरा लागि सर्वाधिक प्रिय लेखक बीपी कोइरालालाई मनपराउनुको कारण मात्र यहाँ खुलाउन चाहन्छु । बजारमा एक्सपायरी डेटसहित आउने सामान जस्तै एक्सपायरी डेट नलेखीकन पनि एक्सपायरी डेटसहित थुप्रै किताब आउँछन् । बीपीका किताबहरू भने यस्ता किताब हुन्, जसको कहिल्यै डेट एक्स्पायर हुँदैन । जहाँ, जहिले र जसरी पढ्न सुरु गरे पनि ती सर्वथा नयाँ र रोचक लाग्छन् । यस अर्थमा बीपी एक सार्वकालिक लेखन हुन् र उनका किताब सार्वकालिक किताब ।

बीपीको सुम्निमा उपन्यासको त झन् के कुरा गर्नु ? तिमीभित्रको मनुवा रिसाएको छ भनेर सुम्निमाले सोमदत्तलाई मनुवा दहमा लिएर जान्छे र ऊभित्रको मान्छे जगाउँछे । चाहे सुम्निमा उपन्यासकी सुम्निमा होस्, चाहे तीन घुम्ती उपन्यासकी इन्द्रमाया, नरेन्द्र दाइकी मुनरिया होस् वा श्वेतभैरवी कथाकी फगुनी वा मोदीआइन नै किन नहोस्, उनका एक–एक नारी पात्रहरू अमर पात्र बन्न पुगेका छन् । एक पुरुष भईकन पनि एक महिलाको मनोविश्लेषणको केस्राकेस्रा केलाउन खप्पिस लाग्छन् उनी । यो उनको बेजोड खुबी र प्रतिभा हो । 

राजनेता बीपी साहित्यकार भए कि साहित्यकार बीपी राजनेता भए ? कहिलेकाहीँ बीपीलाई लिएर यस्तो प्रश्न पनि जाग्छ मनमा । आफ्नो एउटा उँचो व्यक्तित्वको छाया आफ्नो अर्को उँचो व्यक्तित्वमा पर्न नदिने कला पनि बीपीबाटै सिक्न सकिन्छ । 

  • जीवनमा तपाईंले कहिल्यै कुनै किताब चोर्नुभएको छ कि छैन ? तपाईंको जिन्दगीमा किताब हराएका वा चोरी भएका घटना कति छन् ? कुनै रोचक घटना बताइदिनुस् न !

आजसम्म कुनै किताब चोरेको छैन तर मागेर पढेको अनुभव भने छ । आफूसित नभएका र बजारमा नपाइने दुर्लभ किताबहरू मागेर पढेकी छु । तीमध्ये कति फिर्ता गरेँ, कति चाहिँ गरेकी छैन । 

इमानदार भएर भन्नुपर्दा मेरा साथीभाइ एकदम कम छन् । जो छन्, उनीहरूसित प्रायः बाहिरै भेटघाट हुन्छ । घरमा भेटघाट हुने भनेको आकलझुकल मात्र हो । म एकान्तप्रिय हुनाले घरसम्मै पहुँच भएका साथीभाइको संख्या पनि लगभग शून्य बराबर नै छ । यस्तोमा मेरो घरबाट किताब हराउने सम्भावना पनि लगभग शून्यजस्तै छ ।

  • आफूले खोजेका तर नभेटेका वा मुस्किलले भेटेको कुनै पुस्तक पनि छन् कि ?

इन्टरनेटको जमाना हुनाले आफूले खोजेका किताब खोजेर पढ्न धेरै सजिलो भएको छ । मलाई भने किताबमा पनि मुद्रित किताबसित अघोर प्रेम छ । मुद्रित किताबबाट आउने जुन वासना हुन्छ, त्यो वासनाको पारखी हुनाले पनि म इबुकहरू त्यति इन्जोय नै गर्न सक्दिनँ । त्यसो त बजारमा नपाएका थुप्रै किताब ई–लाइब्रेरीमार्फत पढेकी छु । एलिफ शफाकको ‘ब्ल्याक मिल्क’ मुद्रित किताबमै पढ्न मन थियो, तर बजारमा नभेटेकाले ई–लाइब्रेरीमा गएर पढेँ । नोबेल पुरस्कार विजेता फ्रेन्च लेखिका यानी अर्नोको ‘अ गल्र्स स्टोरी’, ‘सिम्पल प्यासन’जस्ता किताब पोखरामा खोजिरहेकी छु, मगाइरहेकी छु तर पनि उपलब्ध हुन सकिरहेको छैन । यसै गरी नागार्जुनको ‘मध्यकारिका’ पनि मैले पढ्न चाहेर पनि भेटिरहेकी छैन । 

विदेशी किताबमा मैले सबैभन्दा बढी मनपरेर पटकपटक दोहोर्‍याएर पढेको किताब हर्मन हेसको सिद्घार्थ हो । यो किताब जतिपटक पढ्छु, प्रत्येकपटक केही न केही नयाँ कुरा पाउँछु । पूर्वीय दर्शनमा आधारित भएर पश्चिमेली लेखकले लेखेको यो किताबले सजिलो कथाको माध्यमबाट जीवनको गहिरो दर्शन सम्झाउँछ ।
  • यहाँले पहिलोपटक पढेको ठुलो आकारको किताब कुन थियो ? त्यसबाट के पाउनुभयो ?

मैले पहिलोपटक पढेको ठुलो किताब माधवी थियो । आईए पढ्दै गर्दा उक्त किताब पढेकी थिएँ । मदनमणि दीक्षितद्वारा लिखित यो किताब वैदिक कथावस्तुमा आधारित छ । गालव र माधवीको सम्बन्धको जगमा उभिएको भए पनि यो किताबले नारी मनोविज्ञान, चेतना, त्याग, निष्ठा र प्रेमको पैरवी गर्छ । तीन हजार वर्ष पहिलाको उत्तरभारतीय समाज र तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक परिवेशको जबर्जस्त चित्रणले पनि जो–कोही झङ्कृत नभइरहन सक्दैन । संस्कृतप्रधान भाषाको मिठाससँगै कतै सरल र कतै जटिल लयमा बग्छ कथावस्तु । सुस्त गतिमा अडिइ–अडिई पढ्दै गर्दा उपन्यास पनि पुरानो कुनै वाइनजस्तो रमरम रमरम लाग्छ । यसको विराट क्यानभास र प्रस्तुतिका कारण माधवी अत्यधिक प्रिय लाग्छ । 

  • आजको दिनसम्म सयौँ किताब पढिसक्नुभएको छ । आफ्नो सोचलाई नै बदलेको कुनै किताबको सम्झना छ ? तपाईंको जीवनमा सबैभन्दा बढी प्रभाव परेका कुनै पाँच किताबको नाम लिनुपर्दा ! 

आफ्नो पूरै सोचलाई फेरबदल गर्ने खालको किताब आजसम्म पढेको छैन तर कतिपय राम्रा किताब पढेर केही न केही बदलिएकी भने छु । एउटा किताबको एउटा कुराले छुन्छ भने अर्को किताबको अर्कै कुराले छुन्छ । छुँदै नछुने किताबहरू पनि थुप्रै पढेकी छु । जीवनका हरेक मोडमा साथी बनेर आएका राम्रा किताबले केही न केही प्रभाव अवश्य पारेका छन् । जस्तो कि खलिल जिब्रानको ‘द प्रोफेट’ मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो, जुन मन्त्र मनमनै उच्चारण गर्नासाथ जीवनमा लो फिल हुँदा अनायसै ऊर्जा भरिएर आउँछ । यसै गरी ममा ‘सुम्निमा’, ‘सिद्घार्थ’, ‘विचार विज्ञान’, ‘ताओ अफ फिजिक्स’, ‘अटोबायोग्राफी अफ अ योगी’जस्ता किताबहरूको गहिरो प्रभाव छ । 

  • आख्यान र गैरआख्यानमध्ये कुन विधाका किताब बढी पढ्न रुचाउनुहुन्छ ?

रुचिका हिसाबले आख्यान र गैरआख्यान दुवै मेरा निम्ति उत्तिकै प्रिय छन् । अघिल्लो वर्ष आख्यानका किताब धेरै पढेँ । यो वर्ष सुरु भएदेखि गैरआख्यान मात्र पढिरहेकी छु । म जति इन्जोय गरी–गरी कारागार वा शिरीषको फूल पढ्छु, उत्तिकै इन्जोय गरी–गरी ‘द रोड टु रियालिटी’ वा ‘सेपियन्स ः ए ब्रिफ हिस्टरी अफ ह्युमन काइन्ड’ पढ्छु । औसतमा हिसाब निकाल्दा आधाजसो आख्यान र आधाजसो गैरआख्यानका किताब पढ्छु होला । 

  • यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?

मलाई लेख्नलाई प्रेरित गर्ने कुरा खासमा भन्नुपर्दा लेखनले दिने खुसी हो । मलाई शब्दहरूले जति खुसी दिन्छन्, त्यति खुसी अन्य कुनै कुराले दिँदैन । लेख्नु मेरा लागि आफूले आफैँलाई खोज्नु र भेट्नु हो । हरेकपल्ट लेख्नु भनेको आफूले आफैँलाई आविष्कार गर्नु हो । यस अर्थमा लेखन मेरा निम्ति प्यासन हो र यो प्यासनले खुसी दिन्छ मलाई । लेखनले मलाई आफू जिउँदो हुनुको एहसास र प्रमाण दुवै दिन्छ । कतिले सोध्छन्, ‘लेखेर के पायौ तिमीले ?’ म भन्छु, ‘लेखेर केचाहिँ पाएको छैन मैले ?’ मेरो जीवनबाट लेखन हटाइदिने हो भने म आकारविहीन हुन पुग्छु । स्वयंले स्वयंलाई आकार दिन पनि म लेखनको क्षेत्रमा छु । 

लेखेर सिङ्गो समाज बदल्छु वा के–के नै रूपान्तरण गर्छु भन्नेजस्तो ठुलो कुरा गर्न म रुचाउँदिनँ । बस् यति हो कि मैले मेरो खुसीका लागि, मेरो ज्ञान र चेतनाको भोक मेटाउनका लागि, मेरो असन्तुष्टि, असहमति र विद्रोहको प्यास मेट्नका लागि, मेरा कतिपय व्यक्तिगत वा कतिपय सामाजिक प्रश्नहरूको जवाफ खोज्नका लागि जुन लेखनको बाटो समातेँ, त्यसले धेरैभन्दा धेरैका साझा कथा–व्यथा बोकोस् ! मेरा रचनाहरू पढिरहँदा कसै न कसैलाई मेरै मनको कुरा लेखिदिएछ भन्ने लागोस् ! 

  • पछिल्लो समयका नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव बजारका हर क्षेत्रमा परेजस्तै किताबको क्षेत्रमा पनि परेको छ, त्यसमा शंका छैन । बिक्रीका हिसाबले अहिलेको समय अलिकति सुस्ताएको जरुर हो, तर आत्तिनुपर्ने केही छैन । लेखकभन्दा पाठकहरू बढी जुर्मुराएको समयमा छौँ हामीहरू । निरन्तर भइरहेका किताबसम्बन्धी परिचर्चा एवं विमर्श कार्यक्रम त्यसैका उदाहरण हुन् । हिजो हामी किशोरावस्थामा हुँदा कोर्सको बाहेक अन्य किताब पढ्नु समय र पैसा बर्बाद गर्ने वाहियात कुराजस्तो गरेर अपराधीलाई झैँ हेरिन्थ्यो । अहिले परिदृश्य बदलिएको छ । क्याफेमा बसेर कफी पिउँदै किताब पढ्न रुचाउने नयाँ पुस्ता जन्मिसकेको छ । धेरै अर्थमा पठन संस्कृति लोभलाग्दो लाग्छ मलाई । 

आजका पाठक यति सचेत छन् कि उनीहरूलाई सुझाव दिन आवश्यक देख्दिनँ म । बस् यति चाहिँ भन्छु, तरकारीमा साग मन पर्छ भनेर सधैँभरि साग मात्र नखानुस्, अरु खाले तरकारीहरूको पनि स्वाद लिएर हेर्नुस् । किताबको सवालमा पनि ठ्याक्कै यही कुरा भन्छु । पठनमा विविधता अहिलेको आवश्यकता हो । 

  • आगामी दिनका लागि तपाईंका के कस्ता योजना छन् ? बताइदिनुहुन्छ कि ?

लेखनलाई लिएर मैले २०८० सालमा दश वर्षे योजना बनाएकी थिएँ । दश वर्षको बिच आफ्नो लेखनमा आफ्नो तर्फबाट अधिकतम दिने मेरो सोच थियो । त्यसमा दुई वर्ष सकिसकेको छ र यसै बिचमा ‘स्व’ निस्किसकेको छ । अबको आठ वर्षका लागि मसित निश्चित खाले योजना छन् । ती के हुन् ? अहिले नै खुलाउन चाहन्नँ । यतिचाहिँ भन्छु— म सम्पूर्ण प्रेम, समर्पण र आराधनासहित शब्दहरूसितको यात्रामा हुनेछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप