शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
अल्फाबेटहरूको संयोजन

कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै

शनिबार, १० जेठ २०८२, १८ : ००
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • कोरियाली कलाकार बो सुक लीको एकल कला प्रदर्शनी काठमाडौंमा सम्पन्न भयो, जसमा उनले अक्षर र अमूर्तताको संयोजनलाई प्रस्तुत गरिन्।
  • प्रदर्शनीमा लीका क्यानभासमा विभिन्न देशका अक्षरहरू, अमूर्ततामा रूपान्तरित भएर कथा बुनेका थिए, जसले दर्शकलाई संस्कृति र भावनासँग जोडेको थियो।
  • बो सुक लीले आफ्नो कलाको माध्यमबाट विश्वभरका संस्कृति र मानिसहरूलाई जोड्ने प्रयास गरेकी थिइन्, र उनको काममा पूर्वीय र पश्चिमी शैलीको मिश्रण रहेको थियो।

कोरियन इन्स्टलेसन र भिजुयल आर्टिस्ट बो सुक लीको ३७औँ एकल कला प्रदर्शनी काठमाडौँस्थित आर्ट काउन्सिलमा भर्खरै सम्पन्न भयो । ‘पेगोडा इन्स्टिच्युट अफ फाइन आर्ट’को आयोजनामा यो प्रदर्शनी १२ देखि २१ अप्रिल (२०२५) सम्म चलेको थियो ।

कलाकार रोशन प्रधान निर्देशक रहेको पेगोडा ग्रुपले नेपालका थुप्रै कलालाई विदेशमा समेत प्रदर्शन गर्न भ्याएको छ । युवा कलाकारलाई प्रोत्साहन दिनेदेखि बगुन्द्रो (झन्डै ३५ जना) पाका कलाकारलाई एकैपल्ट एउटै ठाउँमा अभिनन्दन गर्ने काम समेत यो ग्रुपले गरिसकेको छ । नेपालमा कलाकारलाई यस किसिमले सम्मान गर्न अरु कसैले भ्याएको देखिँदैन । यसले विदेशी कलाकारलाई नेपालमा प्रदर्शनी गर्ने अवसर समेत जुराउने गर्छ ।

कलाकार बो सक लीका क्यानभासमा थुप्रै देशका ‘अल्फाबेट’ आएका हुन्छन् । हेर्दै अद्भुत लाग्ने किसिमले उनले अक्षरहरूलाई क्यानभासमा संयोजन गर्छिन् । सुल्टो–उल्टो जता फर्केर यी अक्षर बसे पनि यसबाट गहन अर्थ भने निक्लन्छ । उनको क्यानभासमा विभिन्न स्वरूपका अक्षरहरू अमूर्ततामा रूपान्तरित हुने गर्छन्, यसरी विचार र अभिव्यञ्जनालाई एकमुष्ट रूपमा थोपरिने प्रक्रिया सुरु हुन्छ । फलस्वरूप अनौठो संरचनाभित्र अनेक कथा बन्ने क्रम सुरु हुन्छ । प्रदर्शन चलिरहेका बेला क्यानभासमा आएका कथालाई उनले भाका मिलाएर भावकलाई सुनाउने गर्छिन् ।

यस खालका उनका कलाका अलग–अलग नाम छैनन् । उनले गर्ने कला सिरिजको एउटै नाम छ, ‘क्यारेक्टर सिम्बोल एब्स्ट्राक्ट वर्ल्ड विथ स्टोरिज’ । यो नाम मात्र नभएर थिम पनि हो । यसै नाममा उनले कहिलेकाहीँ उपनाम थप गर्छिन्, यद्यपि मूल थिम भने बदलिँदैन । उनका अनिगिन्ती काम यसै सिरिज अन्तर्गत देखापर्छन् । यही थिमका उनका कला विश्वका थुप्रै देशमा प्रदर्शन भइसकेका छन् । यसै क्रममा उनी नेपाल आइपुगेकी हुन् ।  

IMG_20250413_115545

आफ्नो क्यानभासमा आएका आकृतिको कथा उनले विश्वका विभिन्न देशमा पुगेर सुनाएकी छन् । यो उनको अल्फाबेटसँगको माया र गहिरो मित्रता हो र आफ्ना कुरा भन्ने भरपर्दो वाहन वा बहाना पनि हो । विश्वभरका विविध अल्फाबेटको ढङ्ग, स्वरूप र तिनमा रहेका लयात्मक रेखाहरूसँग उनको मोह बस्यो । 

अक्षरहरूलाई आकारमूलक अमूर्ततामा खेलाउने लीका कलाहरू विश्वभर प्रख्यात छन् । यो अमूर्तता हो, खोतल्दै जाँदा भने अनगिन्ती सग्ला अक्षर भेटिन्छन्, यसर्थ यो मूर्त पनि हो । अमूर्त भाव र मूर्त आकार भएपछि यसलाई कलागत भाषामा ‘फिगरेटिभ एब्स्ट्राक्सन’ भनिन्छ । उनको क्यानभासमा प्रतीकात्मक अमूर्तता आउँछन् । विश्वभरका अनेकौँ संस्कृतिलाई प्रतीकका रूप लिएर उनले कला सिर्जना गरेको देखिन्छ । एक–दुईवटा गर्दागर्दै विश्वका थुप्रै कुरा उनका कलामा समाहित भएका छन् । 

उनले अक्षरहरूलाई मात्र अल्फाबेटको रूपमा नहेरी एउटा विम्बका रूपमा हेर्छिन् । समय र अवस्था हेरेर यी अक्षरलाई उनले थुप्रै अवयवसँग जोड्न खोज्छिन् । यस कारण उनका कलामा कतै हिमाल, कतै घर, कतै फूल अनि मान्छेहरू अनेक–अनेक रूपमा देखापर्ने गर्छन् ।

मैले उनलाई सोधेको थिएँ— यो तपाईंको क्यालिग्राफी आर्ट हो ? उनले तत्काल जवाफ दिइनन्, ‘क्यालिग्राफी पनि हो । अझ यसभन्दा पनि अल्फाबेटद्वारा विश्वभरिका संस्कृति जोड्ने प्रयास हो भन्दा ज्यादा उपयुक्त हुन्छ होला ।’ 

उनले अक्षरहरूलाई मात्र अल्फाबेटको रूपमा नहेरी एउटा विम्बका रूपमा हेर्छिन् । समय र अवस्था हेरेर यी अक्षरलाई उनले थुप्रै अवयवसँग जोड्न खोज्छिन् । यस कारण उनका कलामा कतै हिमाल, कतै घर, कतै फूल अनि मान्छेहरू अनेक–अनेक रूपमा देखापर्ने गर्छन् । चराहरू, माछाहरू अनि अनेकौँ क्युबिक फर्महरू पनि उनका क्यानभासमा भेटिन्छन् । अक्षरले माछा, घर आदिलाई धकेल्दै गरेजस्तो देखिन्छ, जस कारण उनका क्यानभासमा मिठो संरचना बनेको देखिन्छ । ‘मोनोक्रोम्याटिक कलर स्किम’मा बनेका यी उनका काममा स्वभावतः सौन्दर्यताको यथेष्ट सुगन्ध छताछुल्ल भएर पोखिएको देखिन्छ ।

IMG_20250413_115649

कोरियाका लोकगाथाका आइकन समेत सग्लो रूपमा उनका क्यानभासमा उभिएका पनि देखिन्छन् । उहिलेका मान्छेले कसरी एकापसमा पे्रमालाप गर्थे, वेशभूषाहरू कस्तो हुन्थ्यो आदि अवयवलाई उनले अलिकता आधुनिक फर्ममा संयोजन गरेको देखिन्छ । जहाँ आकार स्पष्ट हुँदाहुँदै पनि कताकता हराएजस्तो भएर रेखाहरूमा विलीन हुन पुग्छन् । अनि वरिपरि अनेकानेक बुट्टाहरूको सजावटले अझ थुप्रै कुरामा अल्झाउने उपक्रम रहन्छ । यो परम्परागत र आधुनिकताको फ्युजनले गर्दा उनका कलामा अनौठोपन देखिन्छ नै, जहाँ उनको मौलिक सिग्नेचरलाई पनि स्पष्ट छाम्न सकिन्छ । तथापि त्यहाँ पनि उनलाई अल्फाबेटले छाडेको भने हुँदैन । आकारमूलक यस्ता आइकनको चारैतिर यस्तायस्तै बुट्टाले छोप्दा वा बसिदिँदा हाम्रो परम्परागत कलाको पनि याद आउँछ । उनी भन्छिन्, ‘हामी जहाँ बसे पनि सबै एकै हौँ नि ! म कोरियामा बसिरहेकी छु, सँगसँगै समग्रमा म पृथ्वीमा पनि बसिरहेकी हुन्छु ।’ 

आफ्ना कला अवलोकन हेर्न पुगेका भावकलाई उनले कलाबारे विभिन्न कुरा सुनाउँछिन् । उनले मलाई पनि डोर्‍याउँदै एउटादेखि अर्को चित्रको अगाडि लगेकी थिइन् । उनको एउटा चित्रमा देवनागिरी लिपिमा ‘माया’ शब्द लेखिएको छ । मायाको अंग्रेजी अनुवाद ‘लभ’ भन्ने उनलाई थाहा रहेछ । नेपालप्रति आफ्नो गहिरो माया रहेको भाव प्रकट गर्न उनले यस शब्दलाई लिएकी रहिछन् । अक्षरहरूको भिडमा माया खोज्न भने सहज हुँदैन । यद्यपि त्यस शब्दको अलग्ग अस्तित्व त्यहाँ आएको छ । 

आफ्नो अर्को चित्रमा उनले अमूर्त रूपमा रहेको हिमाल पनि देखाइन् । चित्रपटमा अमूर्तताले ढाक्दा हिमालजस्तो देखिन्न, तर उनले नेपालको हिमालको बखान गर्दै गर्दा साँच्चिकै सग्लो हिमाल उभिएको देख्न सकिन्छ । यो उनको कल्पना र शिल्प दक्षताको राम्रो नमुना रहेछ । 

मैले उनलाई भनेको थिएँ, ‘हाम्रा अरु धेरै पुराना लिपि छन्— ब्राह्मी लिपि, लिच्छवि लिपि, रञ्जना लिपि आदि ।’ अर्कोपल्ट यी लिपिलाई पनि समावेश गरेर चित्र बनाउने उनले बताइन् । 

IMG_20250413_115636

क्यानभासमा टन्नै कोरियन अक्षरहरू भरिएको देख्दा मैले हाम्रो ब्राह्मी वा लिच्छवि लिपिजस्तो लागेको कुरा बताएको थिएँ । उनले झट्ट भनिहालिन्, ‘विश्वमा उस्ताउस्तै लाग्ने धेरै लिपि रहेछन् । त्यसैले मलाई हामी सबै एकै हौँ जस्तो लागेको हो । यसैले म अक्षरहरूबाट संसार जोड्न खोज्दै छु ।’ 

यो उनको अल्फाबेटसँगको माया र गहिरो मित्रता हो र आफ्ना कुरा भन्ने भरपर्दो वाहन वा बहाना पनि हो । विश्वभरका विविध अल्फाबेटको ढङ्ग, स्वरूप र तिनमा रहेका लयात्मक रेखाहरूसँग उनको मोह बस्यो । 

उनका अनुसार, कोरियन अक्षरहरूमा कोरियाको हजारौँ वर्षको इतिहास, त्यहाँको संस्कृति, भाषाको महत्त्व आएका छन् । झट्ट हेर्दा बलिया रेखाहरूले गुजुमुजु परेजस्तो अमूर्त स्वरूपमा कोरियन अक्षर देखिए पनि हेर्दै जाँदा भने त्यसभित्र घर, रुख, फूल, मान्छे आदि अनेक अवयव आउँदा रहेछन् । ‘हामी विश्वका तमाम मान्छे यही अक्षरका माध्यमबाट जोडिएका छौँ । मलाई लाग्छ, हामी अलग्ग होइनौँ, कतै न कतै हामी संस्कृति र प्रकृतिले आपसमा बाँधिएका छौँ,’ उनी भन्छिन् ।  

चुङ टेक योङ, जो आफैँ राम्रा कलाकार पनि हुन् । उनले लीका बारेमा सानो आलेख तयार पारेका रहेछन् । सन् १९८० मा फ्रेन्च सिम्बोलिस्ट रोल्यान्ड बार्थसले भनेको एउटा उक्तिलाई उद्धृत गर्दै लीका बारेका उनले लेखेका रहेछन् । बार्थसका अनुसार, नयाँपन भनेको रूप अनि विधिमा हँुदैन, बरु यसको मूल्यमा हुन्छ । अर्थात् बाह्य दृश्यबाट देखापर्ने रूपहरू वा अनेकानेक माध्यमहरू मूल्यलाई ओसार्ने एक औजार मात्र हुन् । यसले गर्दा लीले संस्कृति र मूल्य–मान्यताका कुरा बढी मात्रामा गर्छिन् । 

IMG_20250413_115726

हाम्रो पूर्वतिर पाकिस्तानमा पचासको दशकतिर कलामा यस्ता अक्षरहरू आधुनिक फर्ममा देखापरेको हो । परम्परागत मुस्लिम कलाका रूपमा पूर्वतिर सयौँ वर्षदेखि अक्षरहरू प्रयोग र प्रचलनमा छन् । अहिले नेपालमा चाहिँ रञ्जना लिपिलाई लिएर यस्तै अक्षरहरूको आन्दोलन देखापर्दै आएको छ । ईसाको १०–११ शताब्दीतिर रञ्जना लिपि कलात्मक रूपमा लेखिने गथ्र्यो । अहिले आएर यस्ता लिपि राखेर चित्र मात्र बनाइँदैन, व्यावसायिक डिजाइन र उपयोगी वस्तुहरूमा पनि यस्ता अक्षर टाँसेको पाइन्छ । नेपालमा मध्यकालमा देखापरेको रञ्जना लिपिलाई विश्वभर पुर्‍याउने प्रयास हुँदै आएको छ । भर्खरै नाफा (ललित कला प्रज्ञा प्रतिष्ठान) ले अक्षरमा कला भनेर दर्जनौँ कलाकारहरू जम्मा गरी यस्तायस्तै चित्रहरू बनाउन लगाई प्रदर्शनी गर्‍यो । 

सजिलो गरी बुझ्ने भाषामा यस खालको कामलाई ‘क्यालिग्राफी आर्ट’ भनिए पनि लीले भने यसैमा थप अनेक भावनााई जाड्दै कलाको निर्माण गर्ने लालसा राखेको देखिन्छ ।   

कोरियाबाट कलामा स्नातक गरेकी लीले पश्चिमी कलाको विशेष अध्ययन रसियामा गरेकी हुन् । यसैले पूर्वीय डेकोरेटिभ फर्म र पश्चिमा अमूर्तताको समिश्रण उनको कलामा गहन रूपमा समाहित भएको देखिन्छ । अति डिटेलमा काम गर्ने हुँदा उनका क्यानभासमा सयौँ–हजारौँ रेखा सलबलाएको देखिन्छ । ती रेखा बाङ्गाटिङ्गा भए पनि अन्ततः एउटा आकार वा अक्षरहरू क्यानभासमा देखिन्छ, जसलाई भावकले कतै देखेजस्तो आकृति ठान्छन् । 

IMG_20250413_115615

वर्ल्ड कल्चर आर्टिस्ट एसोसिएसनकी अध्यक्ष समेत रहेकी ली अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुन् । कलाकारसँगै उनी योजनाकार, क्युरेटर, कमिसनर र अन्तर्राष्ट्रिय आर्ट प्रोजेक्टहरूका समन्वयकर्ता पनि हुन् । 

अहिले विश्वमै समसामयिक कलाको बिगबिगी छ । कलाकारहरू नौला–नौला, सीमाहीन माध्यममा काम गरिरहेका छन् । आफ्ना कामलाई अन्य देशमा प्रदर्शन गर्न सबैजसो कलाकारले चाहेका हुन्छन् । आर्ट प्रोजेक्टहरू आयोजना गरेर विश्वमा विकसित भइरहेका अनेकानेक नौला कामलाई प्रदर्शन गर्ने प्रचलन बढिरहेको छ । नेपालमै पनि सन् २००० यता यस्ता प्रोजेक्ट आर्ट (प्रोजेक्ट वर्क) देखापर्ने क्रम बढेको छ । लीले कलाकारहरूको इनोभेटिभ आइडियालाई ठाउँ दिनका लागि विभिन्न प्रोजेक्ट आर्टको आयोजना गर्छिन् । इन्टरनेसनल आर्ट फेयर, इन्टरनेसनल बाइनाले, स्याम्पोइजम्, म्युरलका परियोजना लगायत कैयौँ कलाका काममा उनी संलग्न छिन् । 

सन् १९९६ देखि उनले विभिन्न देशमा प्रदर्शन गर्न थालेकी हुन् । हालसम्म उनले विश्वभरिका ९८ राष्ट्रका ६०० विश्व प्रसिद्ध कलाकारलाई आफ्नो नेटवर्कमा जोडेकी छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप