‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना

काठमाडौँ । फिल्म ‘परिवर्तन’ निर्माण घोषणा गरिएको छ । ‘परिवर्तन’मा तीन दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय विजय केरुङको निर्देशन रहेनछ ।
फिल्म इमानदार प्रहरी अफिसरको कथामा निर्माण हुन लागेको हो । फिल्मले कानुन प्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबिचको सङ्घर्ष भन्नेछ । फिल्मले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थसमेत देखाउने दाबी गरिएको छ ।
फिल्मका लागि अञ्जना बराइली र सुशील श्रेष्ठ मुख्य भूमिकामा अटाएका छन् । ‘आउटलः दफा २१९’बाट एक्सन अभिनेताका रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठका लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी गरेका छन् ।
‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल फिल्ममा काम गरिसकेकी अञ्जनाको ‘महाभोज’ रिलिज हुँदैछ ।
फिल्ममा सुशील र अञ्जनाको अलवा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता दीपक सिवाकोटी हुन् । कथा समेत सिवाकोटीकै रहेको फिल्ममा पटकथा तथा संवाद शिवम अधिकारीको रहेको छ ।
शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य फिल्ममा रहनेछ । फिल्मको ‘परिवर्तन’ छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने फिल्मको प्रदर्शन यसै वर्षभित्र हुनेछ ।