सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

ठुलो रकम खर्चेर राजवादीहरूले भ्रमको खेती गरे : महासचिव पोखरेल

सोमबार, १२ जेठ २०८२, १६ : ३८
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • एमाले महासचिव शंकर पोखरेलले राजावादीहरूले लोकतन्त्रविरुद्ध भ्रम फैलाइरहेको बताए।
  • उनले गणतन्त्रले नागरिकलाई राहत दिएको र विकास निर्माणमा फड्को मारेको दाबी गरे।
  • पोखरेलले वडा अध्यक्षहरूलाई गणतन्त्रका सकारात्मक पक्षबारे जनस्तरमा बुझाउन निर्देशन दिए।

ललितपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा ठुलो रकम खर्चेर राजावादीहरूले भ्रमको खेती गरेको बताएका छन् ।  एमाले बागमती प्रदेश कमिटीद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

‘लामो बलिदानीले प्राप्त लोकतन्त्र संसारमै उत्कृष्ट व्यवस्था हो’ महासचिव पोखरेलले एमालेबाट निर्वाचित बाग्मती प्रदेशका वडा अध्यक्षहरूलाई निर्देशन दिँदै भने, ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’ 

राजाले प्रत्यक्ष सञ्चालन गरेको शासन प्रणालीभन्दा छोटो अवधिको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामिक क्षेत्रमा राहत दिने काम गरेको, विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले गणतन्त्रको विकल्प खोज्ने राजावादीहरुको दिवास्वप्ना कहिल्यै पुरा नहुने ठोकुवा गरे ।

‘पञ्चायती व्यवस्थामा धनी र गरिब बिचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ । मान्छेको औसत आयु ५४ वाट बढेर ७४ वर्ष पुगेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौतिक पूर्वाधारको विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ । अझै नागरिकमा आशा फैलाउने गरी देशभर ठुलो ठुला विकास निर्माणका परियोजनाहरू सञ्चालनमै छन् । छोटो अवधिमा प्राप्त उपलब्धिहरू अध्ययन नगरेर लोकतान्त्रिक व्यवस्थामा काम भएन भन्ने भ्रमलाई चिर्दै आशा जगाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ, महासचिव पोखरेलले थप्नुभयो ।’ 

कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारहरूसँग कम भए पनि प्रत्यक्ष रूपमा तिनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्त्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा उनले जोड दिए ।  

नागरिकलाई सेवा प्रवाह गर्ने र सुख, दुःखमा साथ दिने दायित्वका हिसाबले भन्ने हो भने सबैभन्दा बढी जिम्मेवारी तपाईहरु (वडा सरकार) सँग छ । वडा अध्यक्षलाई जनताले आफ्नो अभिभावकका रूपमा लिने गरेका छन्, त्यसैले पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यकारी प्रतिनिधिका रूपमा काम गर्न वडा अध्यक्षहरूलाई महासचिव पोखरेलले निर्देशन दिए । 

गणतन्त्रले के दियो भनेर युवा पुस्तालाई हामीले बुझाउन नसकेको उल्लेख गर्नु भएका महासचिव पोखरेलले गणतन्त्रका सुन्दर पक्षलाई जनस्तरमा बुझाउने कामको नेतृत्व सत्ता र पार्टीको वडा तहलाई लिन निर्देशन दिए । 

नेपालमा लामो समयको एकात्मक राज्य व्यवस्थालाई अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आगामी जेठ १५ गते बाग्मतीका सबै वडामा नागरिक उत्सवका रूपमा मनाउन निर्देशन दिएका महासचिव पोखरेलले एमालेले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

देशका विभिन्न समुदायमा प्रचलित ४ सय भन्दा बढी सांस्कृतिक झाँकीसहितको र्‍याली प्रदर्शन गर्दै विशेष उत्सवका रूपमा काठमाडौँमा गणतन्त्र दिशव मनाउने लागिएको उल्लेख गरेका पोखरेलले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक अपिल समेत गरेका छन् । 

ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा आइतबारदेखि सुरु भएको वडा अध्यक्षहरुको भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडा अध्यक्षहरुमध्ये ३५० जना वडा अध्यक्षहरू सहभागी भएको एमाले बाग्मती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप