आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

लन्डनमा नीति शाह : दर्शकको मायाबाट दङ्ग !

शुक्रबार, १६ जेठ २०८२, २१ : ०४
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • मिस नेपाल इन्टरनेशनल-२०१७ नीति शाह लन्डनमा नेपाली चलचित्र महोत्सव २०२५ मा सहभागी हुन आएकी छिन्।
  • उनले 'ज्वाइँ साब' बाट सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको अवार्ड जितेकी छिन् र 'नरसिंहा' प्रदर्शनको तयारीमा छिन्।
  • लन्डनमा नेपाली समुदायसँग भेटघाट र चलचित्र महोत्सवमा उनले नेपाली चलचित्रलाई माया गर्न आग्रह गरिन्।

लन्डन । अभिनेत्री एवं मिस नेपाल इन्टरनेशनल-२०१७ की विजेता नीति शाह यतिबेला लन्डनमा छिन् । थर्ड आइले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव २०२५ मा सहभागी हुन उनी केही दिन अघि लन्डन आएकी हुन् ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ विजेता शाहले  ‘खजुरे ब्रो’बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । हाल उनी  महानायक राजेश हमालको जोडीका रूपमा ‘नरसिंहा अवतार’मा दर्शकमाझ आइसकेकी छन्। उनले दोस्रो फिल्म ‘ज्वाइँ साब’ बाट पनि राम्रो सफलता हासिल गरिन्।

भर्खरै मात्र अमेरिकाको न्यूयोर्कमा आयोजित '८८४८ हिमालय म्युजिक एन्ड फिल्म अवार्ड'मा उनले 'ज्वाइँ साब' बाट सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन्।

लन्डनमा उनी नेपाली समुदायसंग भेटघाटमा निकै व्यस्त रहेकी छन् । ‘यहाँका नेपालीहरु नेपाली फिल्म र कलाकारप्रति पनि निकै चासो राख्नु हुँदो रहेछ, मलाई धेरै जनाले नायिकाको रूपमा चिन्दा गौरव महसुस गरेको छु,’ शाहले भनिन् ।

नेपाली चलचित्र महोत्सवको सिलसिलामा बेलायत आएको जनाउँदै उनले नेपाली चलचित्रलाई अझ धेरै माया गरिदिन अपिल गरिन् । ‘मेरो तेस्रो चलचित्र ‘नरसिंहा’ अहिले नेपालका सिनेमा हलमा चलिरहेको छ र विदेशमा पनि चाँडै आउँदैछ । माया र साथ दिएर थप हौसला बढाइदिन सबै दर्शकलाई अनुरोध छ’- उनले भनिन् ।

नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि चार उत्कृष्ट नेपाली चलचित्र चयन भएका छन्, जसमा उनी अभिनीत चलचित्र ‘ज्वाइँसाब’ लगायत पुजार सार्की, सतिदेवी र हाफ जर्नी छन् । यस वर्ष फेस्टिभलमा विश्वभरबाट ३९८ वटा चलचित्रले आवेदन दिएका थिए ।

३१ मे २०२५ मा ग्रीनफोर्ड टाउन हलमा हुने समापन समारोहमा उत्कृष्ट चलचित्र र कलाकारलाई विशेष सम्मान गरिने थर्ड आइका अध्यक्ष विकास देवकोटाले बताए । विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरूलाई प्रोत्साहित गर्न महोत्सव गरिएको आयोजकको दाबी छ । शनिवार हुने महोत्सवमा सहभागी हुन  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायत लन्डन आइसकेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप