थिएटरमा ‘मञ्जिरा’देखि ‘मीरा’सम्म, बढे ‘जेन–जी’ पुस्ताका दर्शक

काठमाडौंँ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारबाट नाटक ‘मञ्जिरा’को मञ्चन सुरु भएको छ । पोलिटिकल सोसियल ड्रामा यस नाटकले अन्याय सहेर बस्नु पनि आफैलाई अन्याय गर्नु रहेको सन्देश दिन्छ ।
सन्देश घिमिरे र सोमनाथ खनालको लेखन रहेको नाटकका निर्देशक सोमनाथ खनाल हुन् ।
नाटकमा सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपानेको अभिनय छ । अभिनेता सरोज खनाल लामो समयपछि यसै नाटकमार्फत रङ्गमञ्चमा कमब्याक गरेका हुन् ।
शुक्रबार अतिथि र रंगपत्रकारका लागि प्रिमियरका रूपमा मञ्चन भएको शनिबारबाट सर्वसाधारणले पनि हेर्न पाउनेछन् । नाटक असार ८ गतेसम्म हरेक दिन (सोमबार बाहेक) बेलुकी ५ः१५ बजे, शनिबार दिनको १ बजे र ५ः१५ मा मञ्चन हुने निर्देशक खनालले बताए ।
मण्डलामै केही सातादेखि नाटक ‘ऋतु राग’ पनि नियमित मञ्चन भइरहेको छ । नाटकको जर्नी हजुरबा र नातिनीको कथाबाट प्रारम्भ हुन्छ । नाटक ‘ऋतु राग’को लेखन तथा निर्देशन सुदीप खतिवडाले गरेका हुन् भने सहनिर्देशनमा दिपेश काफ्ले रहेका छन् ।
मण्डला थिएटरको नाट्य सिजन २०८२–८३ को पहिलो नाटकको रूपमा प्रस्तुत यो १८ गते आइतबारसम्म चल्नेछ । नाटक अन्य दिन ६ः३० बजे र शनिबार थप एक शो २ः३० बजे मञ्चन हँुदै आएको छ । नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरे कलाकारका रूपमा रहेका छन् ।
त्यस्तै, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ मञ्चनमा छ । जेठ ३ गतेदेखि नियमित मञ्चन हुँदै आएको नाटक १७ गते शनिबारसम्म चल्नेछ । पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय रहेको नाटकले अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेदलगायत विषय उठाएको छ ।
नाटकको सुरुवात एउटा क्याफेबाट हुन्छ । जहाँ मुख्य पात्र भूमि र सागर हुन्छन् । उनीहरू आपसमा कुराहरू गर्छन् । विगतको कुराहरूदेखि लिएर एक अर्काको जीवनभित्र हराइरहेका प्रश्नको जवाफ खोज्दै काल्पनिक रूपमा हराइरहन्छन् । नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन् ।
अभिनेत्री रेखा थापाले थिएटर डेब्यु गर्न लागेको नाटक ‘मीरा’ आगामी १९ गते सोमबारबाट नियमित मञ्चनमा आउँदैछ । गैरीधारास्थित कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक यसअघि १५ गते बिहीबारबाट मञ्चन सुरु गर्ने तयारी थियो । बिहीबार राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो ।
‘मीरा’को परिकल्पना निर्देशक सुन्दर धिताल हुन् । असार ७ गतेसम्म बुधबारबाहेक यो नाटक साँझ ५ः३० मा नियमित मञ्चन हुनेछ । नाटकमा रेखाको अलवा विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय हुनेछ ।
यो नाटक कान्तिपुर थिएटरको पहिलो प्रस्तुतिका रूपमा मञ्चन हुन लागेको हो । नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यासमा आधारित रहेको छ ।
टेकुस्थित कौसी थिएटर, थापागाउँस्थित आरोहण गुरुकुल र डिल्लीबजारस्थित सर्वनाम थिएटरमा भने अहिले कुनै पनि नाटक मञ्चन भएका छैनन् । केहीपछि मञ्चन गर्ने गरेर यी थिएटरले पनि नाटकको तयारी गरिरहेका छन् ।
दर्शकमा बढे ‘जेन–जी’ पुस्ता
पछिल्लो समय केही समययता मण्डला थिएटरमा नियमित एक वा दुई नाटक मञ्चन भइरहेका छन् । गत वर्ष नाटकमा दर्शक बढेसँगै मण्डलाले नियमित नाटक मञ्चन गरिरहेको हो । केही दिन अगाडि ‘दारासिङ’ मञ्चन गरेको मण्डलाले शुक्रबारबाट ‘मञ्जिरा’ थालेको छ, भने अर्काे नाटक ‘ऋतु राग’ नियमित मञ्चनमा छ ।
नियमित नाटक मञ्चन भइरहे पनि गत वर्षको तुलनामा यो वर्ष मण्डलामा दर्शक घटेका मण्डला थिएटरले जनाएको छ । ‘अहिले धेरै नाटक घरमा नियमितजस्तो नाटक मञ्चन हुने गरेका छन्,’ मण्डलाकी प्रज्ञा विष्ट भन्छिन्, ‘दर्शक बाँडिएर होला । पहिलेभन्दा घटेका छन् ।’ जति दर्शक छन्, तिनमा पनि युवापुस्ता बढी देखिएका उनी बताउँछिन् ।
दर्शकको विषयमा मण्डलाकी प्रज्ञाको विचारसँग केही सहमत जनाउँछन् शिल्पी थिएटरका झकेन्द्र विसी पनि । उनी नाटक हेर्ने दर्शक बालबालिका, उमेर पुगेका पाकाभन्दा जेनजी पुस्ता नै बढी भएको बताउँछन् ।
‘नाटकमा दर्शक घटे–बढेको भन्दा पनि पहिलेजस्तै हो,’ बिसी भन्छन् ‘दर्शकमा पहिलेको तुलनामा अहिले युवापुस्ता बढी देखिएका छन् ।’ नाट्यकर्मी केदार श्रेष्ठ पनि पछिल्लो समय नाटक हेर्ने दर्शक जेनजीपुस्ता नै बढी भएको आफूले पाएको बताउँछन् ।
‘अहिले जुनै थिएटरको नाटक हेर्नहोस्, अभिनय गर्ने कलाकार युवापुस्ता नै बढी छन्,’ श्रेष्ठले भने, ‘अभिनय गर्ने मात्र होइन, दर्शक पनि युवापुस्ता बढी छन् ।’ जेनजी पुस्ता सबैतिर बढेका भन्दै उनले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राख्छन् । ‘नेपालमा मात्र होइन, विश्वमै नाटकका धेरै दर्शक अहिले जेनजी पुस्ता नै छन्,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा