कुश्मा बजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
सारांश
- पर्वतको कुश्मा बजारमा ८० लाखको लागतमा बनेको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ।
- घण्टाघर निर्माण सुरुदेखि नै विवादित बनेको र यसलाई पूर्णता दिन बजेटको अभाव रहेको बताइएको छ।
- नगरपालिकाले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने र यसलाई सञ्चालनमा ल्याउने योजना बनाएको छ।
पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन। नगरपालिकाको रु ८० लाख लागतमा निर्माण घण्टाघरलाई साँचो लगाएर राखिएको छ भने बाहिरी संरचना जीर्ण बन्दै जान थालेका छन् ।
स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो ।
कुश्मा –५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताए । दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उनको भनाइ छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिए । उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए । उनका अनुसार घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको दाबी गरे ।
साहसिक पर्यटनको हब बन्दै गएको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै लामो सुपर म्यान शैलीको जीपलाइन नजिकै रहेको उक्त घण्टाघरलाई समयमै पूर्णता दिन सकेमा पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण