सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर

समाचार सारांश
- नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रको लगानी बढाउन सहयोगी र सन्तुलित रहेको टिप्पणी गरेको छ।
- बजेटले सूचना प्रविधि, जलविद्युत, उत्पादनमूलक, पर्यटन र निर्माण उद्योगमा निजी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
- परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाल उद्योग परिसङ्घले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको टिप्पणी गरेको छ ।
परिसङ्घले बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको र आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्दै निजी लगानी प्रवर्द्धनलाई प्राथमिकता दिएकामा स्वागत गरेको छ ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने, दश करोडसम्मको वार्षिक कारोबार गर्ने नवप्रवर्तन व्यवसायलाई पाँच वर्षसम्म आयकर नलाग्ने व्यवस्था आगामी आवको बजेटमा गरिएको छ । सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्थाले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा लगानी आकर्षित गर्ने विश्वास परिसङ्घको छ ।
विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गर्ने, निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित शहर विकास गर्ने नीतिले अर्थतन्त्रको विकासलाई गति प्रदान गर्ने भन्दै परिसङ्घले उत्पादनमूलक, पर्यटन र निर्माण उद्योगका साथै आवास विकास कम्पनीका लागि सरल र सुलभ तरिकाले कार्यशील पुँजी कर्जा उपलब्ध गराउने व्यवस्थाको कार्यान्वयनमा जोड दिएको छ ।
त्यसैगरी जलविद्युत् सर्वेक्षण, उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको लगानी प्रोत्साहित गरिने, सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरेमा जलाशययुक्त आयोजना सरह विद्युत् खरिद सम्झौता गर्ने व्यवस्था सकारात्मक रहेको पसिङ्घले ठहर गरेको छ ।
बजेटमा बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने, राष्ट्रिय प्रसारण प्रणालीदेखि उद्योग स्थलसम्मको वितरण लाइन उद्योग आफैँले निर्माण गरेमा ह्विलिङ्ग चार्ज लिन पाउने व्यवस्था गरिने उल्लेख छ । विद्युत् माग कम हुने समयमा निश्चित युनिटभन्दा बढी खपत गर्ने उत्पादनमूलक उद्योगलाई महसुल दरमा थप छुट घोषणाको परिसङ्घले स्वागत गरेको छ ।
बजेटको प्रभावकारी कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न परिसङ्घले सहयोगी एवं सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
-
डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ
-
अख्तियारले छानबिन थालेको थाहा पाएर एयरपोर्टबाट भट्टराईलाई हटाएको होइन : गृहमन्त्री