बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

मङ्गलबार, २० जेठ २०८२, ०२ : ५०
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • निजामती कर्मचारी अस्पतालले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु गरेको छ। मुख्य सचिवले सेवाको उद्घाटन गरे।
  • डाक्टरका अनुसार, यो प्रविधि नेपालमा पहिलो पटक प्रयोग भएको हो र यसले बिरामीलाई छिटो निको पार्न मद्दत गर्छ।
  • अस्पतालले चार बिरामीको सफल प्रत्यारोपण गरिसकेको छ र यस प्रविधिबाट उपचार गर्दा ३ देखि साढे ३ लाख रुपैयाँ लाग्नेछ।

काठमाडौँ।  निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ । 

आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरे । उनले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे । “नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भने,  “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”
उनले नाम निजामती भए पनि अस्पताल सबै जनताको रहेको भन्दै अरु अस्पतालभन्दा यसलाई उत्कृष्ट बनाउनुपर्ने बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने बताए । 

घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल चिकित्सक डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधीबाट घुँडा प्रत्यारोपण गर्नु नेपालमा पहिलो भएको बताए । “अरु प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरिए पनि कम्प्युटर नेभिगेशन प्रविधिबाट पहिलो पटक हो”, उनले भने, “यसले बिरामीलाई सहज र चाँडै निको हुने हुन्छ ।”

डा मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका, घुँडा बिग्रिएका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने बताउनुभयो । गत शनिबार र आइतबार चार जना बिरामीको सफल प्रत्यारोपण  गरिएको उनले जानकारी दिए । 

शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले गरिएको त्यस अवसरमा जानकारी दिइयो । डा मरहठ्ठाका अनुसार प्रत्यारोपण गर्दा प्लाष्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने उक्त प्रविधिबाट हुने उपचारमा रु तीनदेखि साढे तीन लाख लाग्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप