बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

मङ्गलबार, २० जेठ २०८२, १७ : ४०
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • यातायात व्यवसायी महासंघको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिटमा हडतालका कारण नागरिकको आवतजावतमा परेको असरलाई उठाइएको छ।
  • रिटमा सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ। संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावतमा बाधा पुगेको उल्लेख छ।
  • यातायात सेवा बन्द गर्नु संविधान विपरीत भएको र अत्यावश्यक सेवा क्षेत्रमा हडताल गर्न नपाइने कानुनी प्रावधान रहेको दाबी गरिएको छ।

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । 

रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । 

जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ । 

संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख गर्दै यातायातमा भएको हडतालले आम जनताको मौलिक हकमै हस्तक्षेप भएको रिट निवेदनमा भनिएको छ । 

नेपाल सरकारद्वारा २०८० मंसिर २८ गते प्रकाशित नेपाल राजपत्रले सार्वजनिक यातायात सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । भोलिका दिनमा यातायातसहित अत्यावश्यक २५ वटै क्षेत्रमा हड्ताल गर्न नपाइने गरी परमादेश जारी गर्न पनि माग रिटमा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?