फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सुरु

काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” को औपचारिक सुरुवात गरेको छ। देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई डिजिटल वित्तीय साक्षरता, फिनटेक नवीनता र सामाजिक नेतृत्वमा सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रममा १५० विद्यार्थीको सहभागिता सुनिश्चित गरिएको छ।
कार्यक्रम अन्तर्गत देशभरबाट प्राप्त १७० भन्दा बढी आवेदनमध्ये ७५ टोली छनोट गरिएको फोनपेले जनाएको छ। हरेक टोली दुई जना विद्यार्थीबाट बनेको छ, जसले आ–आफ्नो कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै आठ हप्ते नेतृत्व विकास यात्रामा सहभागी हुनेछन्।
फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रमको मुख्य उद्देश्य डिजिटल समावेशी नेपालको निर्माणमा युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नु हो।
फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मी भन्छिन्,“हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं। स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत उनीहरूलाई आवश्यक सीप दिन चाहन्छौं, जसले उनीहरूले सिकेको ज्ञान आफ्ना अभिभावक र समुदायमा बाँड्न सकून्। यो केवल नेतृत्व निर्माणको कार्यक्रम होइन, यो सामूहिक सशक्तिकरणको अभियान हो।”
कार्यक्रमको विशेष पहल “टाइम टु टीच ब्याक” अन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक तथा वृद्ध समुदायलाई डिजिटल भुक्तानी प्रणाली र उपकरण प्रयोग गर्न सिकाउने अवसर प्रदान गरिनेछ। यसले पुस्ताबीचको डिजिटल दूरी घटाउने अपेक्षा गरिएको छ।
कार्यक्रम अवधिभर सहभागी विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सामग्री सिर्जना, सञ्चार रणनीति विकास, र समुदायमा सचेतना अभियान सञ्चालन जस्ता विभिन्न अभ्यासात्मक कार्यमा संलग्न हुनेछन्। उनीहरू फोनपे स्टुडेन्ट एम्बेसडर का रूपमा आफ्ना कलेज र स्थानीय तहमा डिजिटल रूपान्तरणको अभियन्ता बन्नेछन्।
छनोटमा परेका विद्यार्थीहरू नेपालभरका विविध शैक्षिक संस्थाबाट प्रतिनिधित्व गरिरहेका छन्, जसले कार्यक्रमको राष्ट्रिय पहुँच र शैक्षिक विविधता झल्काउँछ।
फोनपेको यो कार्यक्रमलाई नयाँ पुस्ताको क्षमता अभिवृद्धि गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने दिशामा एक सशक्त कदमका रूपमा हेरिएको छ।