सहमतिको नाममा वाईसीएलको बन्दसत्र बन्धक, निर्वाचन कार्यतालिका प्रभावित

समाचार सारांश
- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको नेतृत्व छनोट प्रक्रियामा सहमति जुट्न नसक्दा समस्या भएको छ।
- वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि नेताहरूबीच छलफल भइरहेको छ, तर सहमति हुन सकेको छैन।
- सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने अधिकार प्रतिनिधिलाई दिइने र अध्यक्ष पदका लागि विभिन्न नेताहरूले दाबी गरेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन मानिएको योङ्ग कम्युनिस्ट लिग(वाईसीएल) को नेतृत्व छनोट प्रक्रिया पेचिलो बनेको छ ।
जेठ १८ गतेबाट प्रज्ञाभवन कमलादीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व छनोटमा आकांक्षीहरूबिच सहमति नहुँदा पेचिलो बनेको हो । सम्मेलनबाट राजनीतिक तथा संगठन मंगलबार नै पारित भइसकेको छ ।
नेतृत्व छनोट विवादलाई सहजीकरण गर्ने विषयमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्न संगठनको नेतृत्वलाई नै जिम्मा दिने निर्णय गरेको थियो । वाईसीएल पार्टीको नेतृत्व निर्माण गर्ने एक महत्त्वपूर्ण सहायक संगठन भएकाले सहमतिबाट नै अध्यक्ष छनोट गर्न पार्टीले जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘पार्टीको सहायक संगठन वाईसीएल उत्तराधिकारी निर्माण गर्ने एक महत्त्वपूर्ण संगठनको सम्मेलनको बारेमा अध्यक्ष प्रचण्डले विस्तृत रिपोर्ट पेस गर्नुभएको थियो। यी सबै विषयलाई हेरेर अधिकतम पहलकदली गरिराख्नुभएको छ । सर्वसम्मतिका आधारमा नेतृत्व चयन हुनपर्छ । वाईसीएलका इन्चार्ज, अध्यक्ष लगायत अन्य नेताहरूलाई समेटेर विस्तृत रिर्पोट पेस गर्न भन्नुभएको छ । आशा छ सहमतिबाट नै नेतृत्व टुंगिन्छ,’ उनले भने, ‘नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा मोटामोटी कुरा भएको छ । नाममा ठ्याक्कै कुरा भएको छैन । तर नेतृत्व योग्य, क्षमतावान्, ऊर्जावान् लिडरसिप हुनुपर्छ । त्यसलाई बढो निष्पक्षतापूर्वक त्यसलाई पार्टीले सहजीकरण गर्नुपर्छ निष्कर्ष छ ।’
पार्टीको निर्णय अनुसार अहिले इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले गृहकार्य गरिरहेका छन् । नेतृत्व छनोटका लागि सर्वसम्मत र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढिरहेको शेर्पालीले दाबी गरे ।
कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा नटुंगिएको उनले जिकिर गरे । ‘निर्वाचन प्रक्रिया पनि अगाडि बढिरहेको छ । सहमतिको प्रयास पनि भइराखेको छ । सहमति भएन भने निर्वाचन प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा केही टुङ्गो लागेको छैन । आकाङ्क्षीहरू बिचमा छलफल चलिरहेको छ ।’
माओवादीका एक पदाधिकारीका अनुसार सहमत नभए निर्वाचनबाट नेतृत्व छान्न पाउने अनधिकार प्रतिनिधिलाई दिनुपर्ने बताएका छन् । ‘पार्टीको बैठकले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छनोट गर्ने भनिएको हो । पार्टीले हस्तक्षेप गरेर होइन । आकाङ्क्षीबिच नै सहमतिबाट नेतृत्व छनोट गर्ने भनिएको हो । सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिलाई दिनुपर्छ । यो नै सबैभन्दा लोकतान्त्रिक पद्धति हो,’ ती नेताले भने ।
यसै विषयमा निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट गर्ने संगठनको अधिकारलाई अङ्कुश लगाउन खोजिएको हो भन्ने प्रश्नमा प्रवक्ता सापकोटाले त्यस्तो नभएको जिकिर गरे । ‘निर्वाचन हुँदै हुँदैन भन्ने होइन । तर दुनियाँमा जहाँसुकै र हाम्रोमा पनि सबैभन्दा लोकतान्त्रिक प्रक्रिया भनेको सर्वसम्मत नै हो । भोलि वाईसीएल सञ्चालन गर्न, गुणात्मक काम गर्न सहमति नै सर्वोत्तम विकल्प हो,’ उनले भने ।
अध्यक्ष पदमा पुष्प ओली, केहयसिंह कुँवर, नवराज ऐर र गणेश शाहीले दाबी गरेका छन् । सहमति वा निर्वाचन प्रक्रिया जेभएपनि कुँवर, ओली, ऐर र शाहीमध्ये एक जना आउने सम्भावना रहेको छ । तर सहमतिको नाममा बन्दसत्रलाई अनिर्णयको बन्दी बनाउन नहुने ऐरले बताए । पार्टी वा नेताहरूले हस्तक्षेप गरी जबरर्जस्ती गरिएको सहमति आफूलाई मान्य नहुने स्पष्ट पारे ।
‘निर्वाचन प्रक्रियाबाट नै नेतृत्व छान्न पाउने अधिकार सम्मेलन हललाई दिनुपर्छ । पार्टीको निर्देशन वा सहमतिको नाममा बन्दसत्र हललाई अनिर्णयको बन्दी बनाउन हुँदैन । नेतृत्व छनोट निर्वाचन प्रक्रियाबाट हुनुपर्छ,’ ऐरले भने ।
सहमतिबाट नेतृत्व टुङ्ग्याउनका लागि पहल भइरहेकाले निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ । निर्वाचन समितिले बिहान १० बजे मतदाता नामावलीमाथि दाबी विरोध दर्ता, १०:३० बजे दाबी विरोधको सूचना प्रकाशन, ११ बजे दाबी विरोधमा छानबिन र ११:०५ मा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । मध्यान्ह १२:०० बजेबाट उम्मेदवारहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने भनिएको थियो । सहमतिका कारण निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
वाईसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले मतादाता नामावलीमा धेरै त्रुटि रहेकाले त्यसलाई सच्चाउनु पर्ने भएकाले ढिलाइ भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन