अख्तियारको मुद्दा दायरबाट जेठमै प्रतिनिधिसभाका २ सांसद निलम्बित
सारांश
- अख्तियारले मुद्दा दायर गरेपछि माधवकुमार नेपाल र मोहनबहादुर बस्नेतसहित ४ सांसद निलम्बनमा परेका छन्।
- माधवकुमार नेपाललाई पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा मुद्दा दायर भएपछि निलम्बन गरिएको हो।
- यसअघि, रवि लामिछाने र टोपबहादुर रायमाझी पनि विभिन्न मुद्दाका कारण निलम्बनमा परेका थिए।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि जेठ महिनामै प्रतिनिधिसभाका दुई सदस्य निलम्बनमा परेका छन् । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् ।
यसअघि जेठ एक गते अख्तियारले नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको थियो ।
नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद अहिले निलम्बनमा छन् । २०७९ मङ्सिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका २७५ सदस्यहरूमध्ये ४ सांसद निलम्बनमा परेका हुन् । यसअघि सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति प्रतिनिधिसभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि २०८१ पुस ८ गतेदेखि निलम्बनमा छन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०८० असार एक गतेदेखि निलम्बनमा छन् । सहकारीको बचत अनियमितताको आरोप लागेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । २०८१ वैशाख १४ गते पक्राउ पुर्जी जारी भएपछि बस्नेत फरार छिन् ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण