शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

शुक्रबार, २३ जेठ २०८२, १० : ४१
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय साउनदेखि वीरगञ्ज भन्सारमा गाभिने भएको छ। यो निर्णय संघीय सरकारको हो।
  • सुक्खा बन्दरगाह ५७ बिघामा फैलिएको छ, जसको निर्माण विश्व बैंकको ऋण र भारतको रेल लिंकबाट भएको हो।
  • चालु आवको १० महिनामा सुक्खा बन्दरगाहले ४१ अर्ब १८ करोड राजस्व संकलन गरेको छ, र एकीकृत जाँचचौकी निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ।

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए । “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ”, उनले भने, “सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले  साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।” 

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ । यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ ।  

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ ।  नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ । 

यसैबिच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । 

वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघामा फैलिएको छ । पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको रु एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप