१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. आरोप–प्रत्यारोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेसँगै राजनीति तरङ्गित भएको छ ।
एमाले र एकीकृत समाजवादीका नेताबिच यो प्रकरणमा आरोप–प्रत्यारोप चलेको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताए ।
२. प्रतिशोधको गन्ध : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’
३. भिजिट भिसा प्रकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसाको नाममा सेटिङको विषयमा छानबिन गर्न सत्तापक्ष सकारात्मक देखिएको छ ।
शुक्रबार दिउँसो नयाँ वानेश्वरस्थित संसद् भवनमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिचको छलफलमा कांग्रेस नेताहरू भिजिट भिसा प्रकरणमा छानबिन गर्न सकारात्मक सकारात्मक देखिएका हुन् ।
४. कोरोनाको जोखिम
भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर नेपालका सीमावर्ती क्षेत्रहरूमा देखिन थालेको छ ।
सुदूरपश्चिम प्रदेशको पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएको छ । विशेषगरी कैलालीको त्रिनगर र कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका हुँदै दैनिक सयौँ व्यक्ति नेपाल भित्रिरहेका छन् । त्यसैले पनि यहाँ सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै चासो बढेको छ ।
५. वाईसीएल
नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
६. प्रतिवेदन हस्तान्तरण
गण्डकी प्रदेश सरकार मातहत रहेका विभिन्न संरचनाको पुनरावलोकन गर्न गठित समितिले प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको छ । शुक्रबार समितिका संयोजक शरदचन्द्र पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई रिपोर्ट हस्तान्तरण गरेका हुन् । ३ सय २४ पृष्ठको प्रतिवेदनमा समितिले प्रदेशभित्र रहेका संरचनाको औचित्य र आवश्यकता गहिरो गरी केलाएको छ ।
७. मन्त्रालयमा हाजिर गर्छन् भट्टराई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लियो ।
सो दिन अख्तियारले छापा मारेर भट्टराईसँग सम्बन्धित अफिसियल र व्यक्तिगत डिभाइस समेत नियन्त्रणमा लिएको थियो । सोही प्रकरणले गर्माएको राजनीति अझै सेलाएको छैन ।
सोही घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेसहितका माग राख्दै प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामासहित संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गरिरहेका छन् ।
तर जसका कारण प्रतिनिधिसभा बन्धक बनिरहेको छ, उनै सहसचिव भट्टराई भने दैनिक गृह मन्त्रालय पुगेर हाजिर गर्दै फर्किँदै गरिरहेको पाइएको छ ।
८. अनेरास्ववियु
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वयिुको २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि सुरु हुँदै छ । त्यसअघि संगठनका नेताहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महाधिवेशनको तयारीबारे आवश्यक ब्रिफिङ गरेका छन् ।
९. बीमाको सवाल
दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो ।
१०. बहुबिवाह
बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा