प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’
उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।
‘तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय नै हो । त्यसैमा फेरि प्रवेश गरेको छ सायद अख्तियारले जवाफ देला’, उनले भने ‘यहीँ हो भने कोही पनि छानबिनको दायरमा आउन सक्ने भयो ।’