शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
कोरोनाभाइरस

भारतबाट फर्किनेमा कोभिडको जोखिम, सुदूरपश्चिममा कस्तो छ तयारी ?

शुक्रबार, २३ जेठ २०८२, १६ : २२
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ।
  • कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिनेहरूमा नयाँ भेरियन्ट पुष्टि भएको र परीक्षण किटको अभावले चुनौती थपिएको छ।
  • प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरे पनि परीक्षण सामग्री अभाव, जनशक्तिको कमी र संघीय सरकारसँगको समन्वयमा ढिलाइले जोखिम व्यवस्थापनमा समस्या देखिएको छ।

धनगढी । भारतमा कोभिड–१९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर नेपालका सीमावर्ती क्षेत्रहरूमा देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएको छ । विशेषगरी कैलालीको त्रिनगर र कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका हुँदै दैनिक सयौँ व्यक्ति नेपाल भित्रिरहेका छन् । त्यसैले पनि यहाँ सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै चासो बढेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार त्रिनगर नाका हुँदै नेपाल फर्किएका तीन जनामा हालै नयाँ प्रकारको कोरोना भेरियन्टको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसपछि सीमामा सतर्कता अपनाइए पनि परीक्षणका लागि चाहिने आवश्यक सामग्रीको अभावले चुनौती थपिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार हाल सीमामा तत्काल परीक्षणका लागि प्रयोग हुने एन्टिजेन किटको अभाव छ । ‘कोरोना सङ्क्रमणको जोखिम बढेको यथार्थ हो । तर किट नभएकाले परीक्षणको काम प्रभावकारी रूपमा गर्न सकिएको छैन,’ उनले भने ।

गिरीका अनुसार अहिले हेल्थ डेस्कमार्फत शङ्का लागेका तथा लक्षण देखिएकाहरूको स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला धनगढीमा पीसीआर परीक्षणका लागि पठाइँदैछ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना व्यवस्थापन फोकल पर्सन हेमराज जोशीका अनुसार अहिले सीमामा पीसीआर परीक्षणको भरमा काम चलाइएको छ । उनका अनुसार भारतबाट आउनेमध्ये केही व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ, यद्यपि कुन भेरियन्ट हो भन्नेबारे जीन सिक्वेन्सिङ नभएसम्म ठोस कुरा भन्न नसकिने अवस्था छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका मुख्य नाकाहरू कैलालीको त्रिनगर र टीकापुर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलंगा नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । हरेक डेस्कमा पाँच–पाँच जना गरी कुल २५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरू नाकामा आउने व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षण, लक्षणको निगरानी तथा सचेतनामूलक कार्यमा खटिएका छन् ।

तर, परीक्षण किट र आवश्यक पूर्वाधार अभावका कारण उनीहरूको काम सीमित भएको देखिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार पीसीआर परीक्षणमा समय लाग्ने र परीक्षणको सङ्ख्या सीमित भएकाले वास्तविक जोखिमको मूल्याङ्कन गर्न गाह्रो भइरहेको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार सुदूरपश्चिम सरकार कोभिड भाइरसको नयाँ भेरियन्टबाट हुने जोखिमप्रति सचेत छ । उनले भने, ‘हाम्रो बजेट निर्माणको प्रक्रिया चलिरहेको छ, तर महामारी व्यवस्थापनका लागि कोष छुट्ट्याइएको छ । त्यही बजेटमार्फत आवश्यक पूर्वतयारी तथा व्यवस्थापनमा जुट्नेछौँ ।’

मन्त्री खड्काका अनुसार स्वास्थ्य निर्देशनालयमार्फत संघ सरकारसँग समन्वय भइरहेको छ र आवश्यक सहयोगको प्रयास भइरहेको छ ।

तर, पूर्वतयारीको कमी, परीक्षण सामग्रीको अभाव र सीमामा मानिसको उच्च चहलपहलबिच सङ्क्रमण फैलिनसक्ने जोखिम भने कायमै छ ।

सीमावर्ती क्षेत्र त्रिनगरनजिकै बसोबास गर्ने स्थानीय बासिन्दा रमेश बिष्ट सङ्क्रमणको सम्भावित जोखिमप्रति गम्भीर देखिन्छन् । उनले भने, ‘नाकाबाट दैनिक सयौँ मान्छे भित्रिन्छन्, तर परीक्षण राम्ररी नहुँदा हामीजस्ता स्थानीय बासिन्दा डरमा छौँ । हेल्थ डेस्कमात्रै होइन, किट र निगरानी प्रणाली मजबुत हुनुपर्छ । अहिले सजगता देखिए पनि तयारी पर्याप्त छैन ।’

बिष्टका अनुसार भारतमा फैलिएको कोभिडको नयाँ भेरियन्ट प्रदेशमा आइपुगेको प्रमाण देखिन थालेकाले सावधानी बढाउनुपर्छ । सरकारद्वारा हेल्थ डेस्क स्थापना, सीमामा स्वास्थ्यकर्मी परिचालन र पीसीआर परीक्षणजस्ता पहल गरिएको छ, तर परीक्षण किटको अभाव, सीमित जनशक्ति र संघीय सरकारसँग समन्वयको ढिलाइले जोखिम व्यवस्थापनमा चुनौती थपिएको छ ।

उच्च सतर्कता, भरपर्दो परीक्षण व्यवस्था, स्वास्थ्य पूर्वाधारको मजबुतीकरण र स्थानीय समुदायलाई पूर्ण जानकारी दिनु आवश्यक देखिएको धनगढीका स्वास्थ्यकर्मी कलावती केसीले बताइन् ।

उनका अनुसार सीमाबाट सुरु हुने सङ्क्रमण देशव्यापी बनेको थियो । यसकारण महामारीले डरलाग्दो रूप लिन नदिन अहिले नै तयारी गर्नुपर्ने आवश्यकता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप