शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर

शुक्रबार, २३ जेठ २०८२, १२ : १९
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • अख्तियारले भिजिट भिसा सेटिङको आरोपमा त्रिभुवन विमानस्थलका अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो।
  • भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध भयो, तर सहमति जुट्न सकेको छैन।
  • भट्टराई निलम्बनमा नपरेकाले गृह मन्त्रालयमा हाजिर हुँदै आएका छन्, अख्तियारले अनुसन्धान जारी राखेको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लियो । 

सो दिन अख्तियारले छापा मारेर भट्टराईसँग सम्बन्धित अफिसियल र व्यक्तिगत डिभाइस समेत नियन्त्रणमा लिएको थियो । सोही प्रकरणले गर्माएको राजनीति अझै सेलाएको छैन  । 

सोही घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेसहितका माग राख्दै प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामासहित संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गरिरहेका छन् । 

यही घटनामा प्रतिनिधिसभा बैठक जेठ १३ गते र जेठ २२ गते सुरु भयो तर प्रतिपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन । जेठ १४, २० र २१ गते सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा एकै दिनमा पटक–पटक सूचना टाँसेर स्थगित गरियो । अझै पनि दलहरूबिच सहमति बन्न सकेको छैन । शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समेत सत्तापक्ष र प्रतिपक्षबिच सहमति नजुटेकाले बस्ने/नबस्ने टुंगो छैन ।  

तर जसका कारण प्रतिनिधिसभा बन्धक बनिरहेको छ, उनै सहसचिव भट्टराई भने दैनिक गृह मन्त्रालय पुगेर हाजिर गर्दै फर्किँदै गरिरहेको पाइएको छ । भट्टराईलाई गृहमन्त्री लेखकस्तरीय निर्णयबाट अख्तियारले कार्यालयमा छापा मार्नुको अघिल्लो दिन मन्त्रालयमा सरुवा गरिएको थियो । उनको स्थानमा तत्कालीन पाँचथरका प्रमुख जिल्ला अधिकारी सहसचिव विष्णुप्रसाद कोइरालालाई सरुवा गरिएको थियो । त्यसको औपचारिक जानकारी गृह मन्त्रालयले १६ गते शुक्रबार चार प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गर्दा दिएको थियो । गृहले आवश्यक पर्दा कर्मचारीको सरुवा र काज गर्ने र धेरैको सरुवा र काज गर्दा औपचारिक रूपमा बाहिर ल्याउने गर्छ । 

गृह मन्त्रालय निकट स्रोतका अनुसार भट्टराई ९ गतेबाटै मन्त्रालय पुगेर हाजिर गरेका थिए । त्यसयता उनले मन्त्रालयमा हाजिर गरिरहेका हुन् । उनलाई कुनै जिम्मेवारी नदिएर जगेडामा राखिएकाले काम भने गर्न पर्दैन । 

भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिनसहित अहिलेसम्म तीन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर सामान्य बयान दिएका छन् । अख्तियार निकट स्रोतका अनुसार सहसचिव भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अख्तियारको कार्यालय टंगाल पुर्‍याएको थियो । त्यो घटनाबारे अनुसन्धान गरिरहेका अख्तियारका एक अनुसन्धान अधिकृतले रातोपाटीसँग भने, ‘हामीले उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा ल्याएर कार्यालयमा ल्यायौँ । उहाँले कानुन पढ्नु भएको रहेछ । पक्राउ पुर्जीबिना मलाई यहाँ किन ल्याएको भन्ने प्रश्न गर्नुभयो । त्यसपछि हामीले जवाफ दिने ठाउँ नै रहेन । अनि केही सोधपुछ गर्नुपर्ने भएकाले ल्याएको भनेर सोधपुछ कागज दिएर सामान्य सोधपुछ गर्‍यौँ र डिभाइस राखेर उहाँलाई पठायौँ ।’ 

त्यसपछि अख्तियारले भट्टराईलाई जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा बोलायो । उनी बोलाइएको समयमै पुगे । अनुसन्धान गरिरहेका ती अधिकृतले भने, ‘त्यो दिन हामीले उहाँविरुद्ध परेको उजुरीबारे जानकारी गरायौँ । प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायौँ ।’ 

त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । ‘१९ जेठमा हामीले उहाँलाई पाँच प्रश्न सोध्यौँ । जुन केही उहाँविरुद्ध परेको उजुरीसम्बन्धी थिए । त्यसपछि २५ जेठमा आउने गरी छोडेका छौँ,’ ती अनुसन्धान अधिकृतले भने । 

अख्तियारले जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा बयान लिने जानकारी भट्टराईलाई गराएको स्रोत बताउँछ । 

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भट्टराई निलम्बनमा नपरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालयमा आएपछि हाजिर भएको बताए । तर उनी अहिले बिदा रिजालको भनाइ छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालय आउनु भयो । केही दिन हाजिर गरेर अहिले बिदामा बस्नुभएको छ,’ महाशाखा प्रमुख रिजालले रातोपाटीसँग भने, ‘निलम्बनमा नपरेकाले हाजिर गराउन प¥यो । हाजिर गरेर बिदा लेखेर अहिले बिदामा हुनुहुन्छ ।’

अख्तियारले छानबिन गरिरहे पनि भट्टराई निलम्बनमा परेका छैनन् । अख्तियारले मुद्दा दर्ता ग¥यो भने मात्रै उनी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलले भट्टराईमाथि अनुसन्धान जारी रहेको र टुङ्गिन समय लाग्ने बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले धेरै बताउन मिल्दैन,’ प्रवक्ता पौडेलले रातोपाटीसँग भने, ‘र्‍याकेट हो यो । त्यसबारे गहिराइमा पुग्न त समय लागिहाल्छ ।’ ‘र्‍याकेट’ भन्नाले समूहमा चलाइने गैरकानुनी धन्दा भन्ने बुझिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप