सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

देउखुरी । दाङका एक जना २६ वर्षीय थारु समुदायका युवा जोर्नी दुखेर अस्पताल पुगे । उनको स्वास्थ्य परीक्षण गर्दा पहिले केही देखिएन र जोर्नी दुखाइ कम गर्ने औषधि सेवन गर्दा पनि रोग निको भएन । रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखिएपछि उनले अहिले नियमित औषधि सेवन गरिरहेका छन् ।
बर्दियाका २३ वर्षीया चौधरी समुदायकी किशोरी पेट दुखेर अस्पताल पुगिन् । उनको रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखियो ।थारु समुदायमा लक्षण फरक फरक भए पनि रोग एउटै देखिने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा रबिन गौतमले बताए ।
‘दाङमा यो रोगका बिरामी थपिँदै गएका छन्’, उनले भने, ‘यो रोग खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यदि बुबा वा आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल हुँदैन । यदि दुवैमा वा कोही एक जनामा रोग भए उनीहरूबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ ।’ सिकलसेलका बिरामी उपचारका लागि आए मात्र रोग पहिचान गरी औषधि दिन सकिने उनले बताए ।
‘वैज्ञानिकले यसलाई एक आपसमा सम्बन्धित गरेका छन् । प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नका लागि मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात् ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोशिका हो । त्यसैले यसको आकार परिवर्तन भई हसियाको आकारमा बदलिन्छ’, डा गौतमले भने ।
हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न नसक्ने जनाउँदै उनले उक्त मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्ने बताए । आकार परिवर्तन हुने भएकाले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसङ्ख्या वा समुदायमा मात्र देखिने उनले जानकारी दिए ।
डा.गौतमका अनुसार सिकलसेल भएकामा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरूको शरीरबाट रगत कम हुँदै जाने भएकाले त्यस्ता बिरामीलाई नियमित रगत चढाउनुपर्ने उनको भनाइ छ । ‘यो रोगमा धेरै किसिमका लक्षण हुने गर्छन् । कसैलाई हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ बढी दुख्ने गर्छ । कसैलाई जन्डिस देखापर्ने र पेट दुख्ने समस्या हुन्छ’, उनले भने ।
दाङका थारु समुदायमा यो रोग फैलिएको छ । हेमोग्लोबिनसम्बन्धी जानकारी दिन र जनचेतना फैलाउन स्वास्थ्यकर्मी तथा सरोकार भएकासँग पैरवी गर्ने काम थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्य समुदायमा विवाह गर्ने युवायुवतीको कुण्डली हेरेजस्तै सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए । लुम्बिनी प्रदेशमा स्वास्थ्य समस्याको रूपमा रहेको यो रोगका विषयमा समुदायमा चेतना फैलाउने र सेवाको पहुँचभन्दा बाहिर रहेका समुदायमा सचेत बनाउनुपर्ने काम रहेको आवश्यकता औँल्याए ।
प्रमुख आचार्यका अनुसार दाङको राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण भइरहेको छ । स्वास्थ्य कार्यालयले सिकलसेल भएका बिरामीका परिवारको निःशुल्क बिमा गरेको उनले बताए । ‘परिवारमा एक जना मात्रै बिरामी छ भने पनि परिवार सबैको निःशुल्क बिमा हुन्छ’, उनले भने, ‘थारु समुदायका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा लक्षण देखिना साथ यथाशीघ्र रोगको पहिचान गरी उपचार गर्नु आवश्यक हुन्छ ।’
राप्ती प्रादेशिक अस्पतालका फिजिसियन डा.जीतनारायण यादवले सिकलसेलका लागि सबैले आफ्नोतर्फबाट सचेतना फैलाउने काम गर्नुपर्ने बताए । जनस्वास्थ्य समस्याका रूपमा रहेको यो रोग वंशाणुगत सर्ने भएकाले थारु समुदायका सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । समयमा रोगको पहिचान भएमा निदान गर्न सकिने उनको भनाइ छ ।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो रोग देखिएको जनाउँदै डा. यादवले लुम्बिनीका दाङ, कपिलवस्तु, बाँके र बर्दियामा बिरामीको सङ्ख्या बढी रहेको उनले बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले सिकलसेल रोग जनस्वास्थ्य समस्याका रूपमा रहेकाले स्थानीय सरकारले चेतना फैलाउने काम सुरु गरेको बताए । आधारभूत स्वास्थ्य सेवाभित्र सिकलसेलको उपचारलाई राखी निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए । उनले सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु