सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल

आइतबार, २५ जेठ २०८२, २१ : १४
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका कला र सांस्कृतिक सम्पदाको संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

आइतबार नक्सालस्थित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै सातै प्रदेश प्रतिनिधित्व हुने गरी राखिएका कलाकृति प्रदर्शनीमा देख्न पाएकामा खुशी व्यक्त गर्दै नेपाल कलाका हिसाबले निक्कै धनी रहेको उल्लेख गरे । 

अध्यक्ष दाहालले भने, “प्रदर्शनी नेपाल कलामा कति धनी छ भन्ने कुराको एउटा प्रमाण पनि हो । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।”

उनले यस्ता कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्ने पनि बताए । कलाको प्रचार र विकास गर्दा पर्यटनको विकास हुने अध्यक्ष दाहालको भनाइ थियो ।

“आम्दानी र रोजगारी सिर्जना हुने यस्ता खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ । हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसारलगायत काम गरेमा  धेरै उपलब्धि हासिल गर्न सकिन्छ”, अध्यक्ष दाहालले भने । 

उनले अघिल्लो वर्ष पनि कलाकृति हेर्न आएको स्मरण गर्दै यसपटक विगतभन्दा तुलनात्मक रूपले विकास भएको पाएको पनि बताउनुभयो । ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताका बीचमा यसका महत्व र आवश्यकताबारे बोध गराउने काम गर्नुपर्ने र त्यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 

केही दिनअघि मात्रै सभामुख देवराज घिमिरेले पनि उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाललाई कलामार्फत विश्वमा परिचित गराउनुपर्नेमा जोड दिए ।  

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।

जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातलाई प्रतिनिधित्व गर्ने कलासमेत राखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप