सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट

आइतबार, २५ जेठ २०८२, २२ : ४९
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • भारतीय क्रिकेटर रिंकू सिंहले समाजवादी पार्टीकी सांसद प्रिया सरोजसँग इन्गेजमेन्ट गरे। विवाह नोभेम्बर १८ मा वाराणसीमा हुनेछ।
  • लखनउमा आयोजित समारोहमा अखिलेश यादव, डिम्पल यादव, जया बच्चन लगायतका नेताहरूको उपस्थिति थियो।
  • प्रिया सरोज जौनपुरको मछलीशहर निर्वाचन क्षेत्रबाट सांसद हुन् र उनी भारतकी कान्छी सांसदमध्ये एक हुन्।

लखनउ । भारतीय क्रिकेटर रिंकू सिंहले समाजवादी पार्टी (सपा) की सांसद प्रिया सरोजसँग इन्गेजमेन्ट गरेका छन् । दुबैको विवाह नोभेम्बर १८ मा वाराणसीको ताज होटलमा हुनेछ।

आइतबार लखनउमा आयोजित समारोहमा रिंकू र प्रियाका परिवारसँगै समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, डिम्पल यादव, जया बच्चन, राम गोपाल यादव र शिवपाल यादवजस्ता ठूला नेताहरू पनि समारोहमा सहभागी भएका थिए। बीसीसीआई उपाध्यक्ष राजीव शुक्ला पनि नवदम्पतीलाई बधाई दिन कार्यक्रममा उपस्थित थिए।

तर, रिंकूका धेरै क्रिकेटर साथी भने उक्त समारोहमा सहभागी हुन पाएनन् । भारतीय टेस्ट टोली २० जुनबाट सुरु हुने टेस्ट शृंखला खेल्नका लागि पहिले नै इंग्ल्यान्ड पुगिसकेको छ।

अलिगढ निवासी रिंकू सिंहले भारतका लागि दुईवटा एकदिवसीय खेल र ३३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनी आईपीएल फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका महत्त्वपूर्ण सदस्य हुन् । उनको टोलीले २०२४ सिजनमा उपाधि जितेको थियो।

२६ वर्षीया प्रिया सरोज जौनपुरको मछलीशहर निर्वाचन क्षेत्रबाट पहिलोपटक सांसद बनेकी हुन्। उनी पेसाले वकिल हुन् र भारतकै सबैभन्दा कान्छी सांसदहरूमध्ये एक मानिन्छिन्।

उत्तर प्रदेशको वाराणसीस्थित करखियांव गाउँकी प्रिया सरोजले राजनीतिमा आफ्ना पिता तूफानी सरोजको विरासतलाई अगाडि बढाउँदै करियर सुरू गरेकी हुन्। उनका पिता तीनपटक सांसद र हाल केराकत क्षेत्रबाट विधायक छन्।

प्रियाले सन् २०२४ मा राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता बीपी सरोजलाई ३५ हजार भन्दा बढी मतले हराउँदै मछलीशहरको सांसद बन्न सफल भइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप