सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भिजिट भिसा प्रकरण

विमानस्थल अध्यागमनमा दरबन्दीभन्दा बढी उपसचिव, दुई सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र

सोमबार, २६ जेठ २०८२, १५ : ००
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिवहरू कार्यरत रहेको पाइएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव र संघीय मामिला सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजुरीपछि प्रधानमन्त्री कार्यालयले कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको हो।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ । अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेको पाइएको हो ।

यससँगै  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव र संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई कारबाहीको चेतावनीसहितको  पत्र काटेका हुन् । 

सचिव कार्कीले पत्रमा ७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका कर्मचारीको विवरण उपलब्ध गराउन भनेका छन् । पत्रमा दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।  ‘दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण यथाशीघ्र उपलब्ध गराउन र ७ (सात) दिन भित्र अनिवार्य रूपमा दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन गरी गराई सोको जानकारी यस कार्यालयमासमेत उपलब्ध गराउन अनुरोध गर्दछु,’ सचिव कार्कीले दुवै सचिवलाई लेखेको पत्रमा उल्लेख छ । 

साथै उनले उजुरी, कानुनी प्रावधान, सचिव बैठकका निर्णय र यसअघि यस कार्यालयबाट कर्मचारी व्यवस्थापनका विषयमा भएका पत्राचारसमेतलाई ध्यान दिन सचेतसमेत गराएका छन् । 

निर्देशन नमानेमा कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी सचिव कार्कीले पत्रमा उल्लेख गरेको स्रोतले बतायो । ‘सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १५ को उपदफा (४) र निजामती सेवा ऐन, २०४९ को दफा १८(क)को उपदफा (३) बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने ब्यहोरासमेत आदेशअनुसार अनुरोध गर्दछु,’ कार्कीले पत्रमा उल्लेख गरेका छन् । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जेठ १३ गते पत्र लेख्दै गृह मन्त्रालयअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभए पनि काजमा कर्मचारी खटाइएको उजुरी परेको भन्दै कारबाही गर्न पत्राचार गरेको थियो । आयोगले पत्रमा आवश्यक ठाउँमा दरबन्दी रिक्त राखेर सेवा प्रवाहमा अवरोध गरिएको गुनासो आएको भन्दै तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएको थियो । 

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह सचिव दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन सचिव पन्थलाई पत्र लेखेर कर्मचारीहरूको विवरण माग गरेको हो । 

स्रोतले रातोपाटीलाई उपलब्ध गराएको सूची अनुसार अहिले त्यहाँ उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत छन् । 

अहिले अध्यागमन विभागलाई अध्यागमन कार्यालयहरूमा कर्मचारी खटाउने अधिकार दिइएको छ । 

अध्यागमन विभागमा महानिर्देशक गोविन्द रिजालले केही उपसचिव दरबन्दीभन्दा बढी रहेका तर अन्य कर्मचारीहरू दरबन्दी अनुरूपकै रहेका बताए । 

यस्तै अध्यागमन कार्यालयमा शाखा अधिकृतको दरबन्दी १ सय २१ जनाको रहे पनि १ सय १८ जना कार्यरत छन् । 

भिजिट भिसामा सेटिङको उजुरीपछि अख्तियारले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई जेठ ७ गते नियन्त्रणमा लिएको थियो भने लगत्तै गृहले दरबन्दीभन्दा बढी रहेका नायब सुब्बा र कम्प्युटर अपरेटरको सरुवा गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दरबन्दीभन्दा बढी कर्मचारी राखेको विषयमा पत्र पठाएपछि कार्यालयले गृह र सामान्य प्रशासन सचिवलाई पत्र लेखेको पुष्टि गरे । 

 ‘अख्तियारले दरबन्दी भन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा राखेको उजुरी परेको भन्दै कारबाहीका लागि भनेर हाम्रो कार्यालयमा पत्र पठायो । हामीले त्यही पत्रलाई कोड गर्दै यसअघि सचिव बैठकमा भएका निर्णय र पटक–पटक मन्त्रालयहरूलाई दिएका निर्देशन स्मरण गराउँदै सचिवज्यूले पत्र लेख्नुभएको हो,’ प्रवक्ता आचार्यले रातोपाटीसँग भने, ‘कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन र एक साताभित्र दरबन्दी बमोजिमका कर्मचारी यकिन गर्न निर्देशन दिइएको छ । त्यसो नभएमा कानुन अनुसार कारबाही गर्ने पनि पत्रमा सचिवज्यूले उल्लेख गर्नुभएको छ ।’

उनले एक सातासम्म दरबन्दी अनुरूप भन्दा बढी कर्मचारी राखेको पाइएमा अख्तियारको निर्देशन अनुरूप कानुनी कारबाहीको प्रक्रियामा कार्यालय अघि बढ्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप