इन्द्रसरोवरमा पानीको सतह घट्दै

हेटौँडा । देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह सोमबार साँझसम्म १४ सय ८६.३९ मिटर पुगेको छ ।
कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार तत्काल पानी नपर्दा र नियमित जस्तो विद्युत उत्पादन गर्नुपर्दा इन्द्रसरोवरको पानीको सतह घटिरहेको हो ।
उनले इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट अन्तिम विन्दु १४ सय ८४ मिटरसम्म पुर्याउन सकिने जानकारी दिए । यद्यपि बिजुलीको माग बढिरहे थप एक मिटर तलसम्म जान सकिने उनको भनाई छ । त्यसपछि भने कुलेखानीबाट नियमित बिजुली उत्पादन गर्न नसकिने प्रमुख भट्टले बताए ।
उनका अनुसार अहिले कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो नियमितजसो पूर्ण क्षमतामा चलिरहेको छ । समुद्री सतहबाट १४ सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने प्रमुख भट्टले जानकारी दिए ।
‘सोमबार साँझसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट १४ सय ८६.३९ मिटर पुगेको छ । अझै दुई तिन मिटरसम्म हामी बिजुली उत्पादन गर्न सक्छौ,’ उनले भने, ‘पानीको सतह १४ सय ८३ मिटरभन्दा तल झरेको अवस्थामा भने कुलेखानीबाट अत्यावश्यक भन्दा बाहेक बिजुली उत्पादन गर्न सकिँदैन ।’
पछिल्लो समयमा गर्मी बढेसँगै बिजुलीको माग बढी रहेकोले कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको उनले जानकारी दिए । उनका अनुसार नियमित विद्युत उत्पादन हुँदा र पानी नपर्दा इन्द्रसरोवरमा पानीको सतह घटेको हो ।
प्रमुख भट्टका अनुसार इन्द्रसरोवरमा समुद्र सतहबाट १५ सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । इन्द्रसरोवरमा अघिल्लो वर्ष पनि अन्य समय भन्दा बढी पानी खपत भएको थियो ।
पानी पर्न सुरु भएपछि इन्द्रसरोवरमा पानीको सतह बढ्ने भएकाले पनि यो समयमा पानीको अधिकतम उपयोग गरेको आयोजना प्रमुख भट्टले बताए । गत वर्ष १० र ११ गते परेको अविरल वर्षापछि इन्द्रसरोवर ताल भरिएर ओभरफ्लो समेत भएको थियो । सरोवरको बाँधको सुरक्षाको लागि दुई वटा ढोका खोलेर पानी बाहिर पडाइएको थियो ।
प्रमुख भट्टले निरन्तर पानी पर्ने र हिउँ पग्लेर खोलाहरूमा पानीको सतह बढ्ने क्रम सुरु भएपछि रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा चल्न थालेपछि कुलेखानी जलविद्युत् आयोजना ब्याकअप रूपमा मात्रै सञ्चालन हुने जानकारी दिए ।
कुलेखानीलाई नेपालको जलविद्युतको महत्त्वपूर्ण ब्याकअप आयोजनाका रूपमा लिइन्छ । विशेष गरी सुक्खा र गर्मी याममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ ।
पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथम जलविद्युत् आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
-
माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ