‘जेन–जी’ : सिर्जनात्मक विचार र व्यक्तिगत स्वतन्त्रालाई विशेष महत्त्व दिने प्रविधिमैत्री पुस्ता

समाजशास्त्रीय दृष्टिकोणले आधुनिक समयको विभिन्न कालखण्डमा जन्मिएका व्यक्ति र तिनको मानसिकता, जीवनशैली, चिन्तन तथा दृष्टिकोणलाई बुझाउनका लागि विभिन्न पुस्तामा वर्गीकरण गरिएको छ । यतिसम्मकी आउने पुस्तालाई के भन्नेसम्मको नामकरण गरिसकिएको छ । यहाँ विभिन्न कालखण्डमा जन्मेका र जन्मने व्यक्तिबारे चर्चा गरिनेछ ।
- जेन एक्स
लगभग सन् १९६५ देखि सन् १९८० को दशकमा जन्मेर हुर्केका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई ‘जेन एक्स’ भनिन्छ । यो पुस्ता प्रविधिको विकासका हिसाबले संक्रमणकालीन परिवर्तनबाट डिजिटल युगतर्फ उन्मुख पुस्ता हो । यो पुस्ताले रेडियो, टेलिभिजन, टेलिफोन र प्रारम्भिक कम्प्युटरको प्रयोग गर्यो । तसर्थ यो पुस्ताले स्वतन्त्रता, आत्मनिर्भरता, स्वाभिमान तथा सामाजिक दायित्वप्रति अलि बढी लगाव राख्छ ।
- जेन वाई
लगभग सन् १९८१ देखि सन् १९९७ को दशकमा जन्मेर हुर्केका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई ‘जेन वाई’ भनिन्छ । जुन समय विज्ञान र प्रविधिको क्रान्तिको समय थियो । तसर्थ यो पुस्ता शिक्षा र करिअरप्रति बढी संवेदनशील तथा केन्द्रित हुन्छ । इन्टरनेट, स्मार्टफोन तथा सामाजिक सञ्जालमा खेल्न रुचाउँछ । डिजिटल जीवनशैलीतर्फ उन्मुख हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक, परिवर्तन तथा पर्यावरणीय सवालमा चासो राख्ने र अनुभवजन्य जीवनशैलीलाई प्राथमिकता दिन्छ ।
- जेन जेड (जेन–जी)
लगभग सन् १९९७ देखि सन् २०१३ दशकमा जन्मेर हुर्केका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई ‘जेन जेड’ वा ‘जेन–जी’ भनिन्छ । यो पुस्ता र एआई जुम्ल्याहा सन्तानजस्ता रहेका छन् । स्मार्टफोन, युट्युब र एप्सको प्रयोगकर्ता; वैश्विक ज्ञान आर्जनप्रति तीव्र भोका; उद्यमशील सोच भएका; टिकटक, इन्स्टाग्राम, च्याट जीपीटी, डिपसिकजस्ता अत्याधुनिक एआई प्लेटफर्मका प्रयोगकर्ता— यही नै यो पुस्ताको विशेषता हो ।
- जेन अल्फा
लगभग सन् २०१३ देखि २०२४ को दशकमा अत्याधुनिक प्रविधिलाई सालनालका रूपमा लिएर जन्मेर हुर्केका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई ‘जेन अल्फा’ भनिन्छ । उनीहरूले बाल्यकालदेखि नै स्मार्ट फोन, ट्याब्लेट, एआई, इन्टरनेट, युट्युब लगायत भिडियोहरूसँग खेल्दै हुर्केका छन्; प्रविधिमार्फत शिक्षा आर्जन गरेका छन्; अनलाइन क्लास, स्मार्ट कक्षा, अनलाइन सिकाइ तथा छोटो ध्यान अवधि प्रयोग गरेका छन् । उनीहरू एआईसँग अन्तक्र्रिया गर्ने, आत्मनिर्भर केन्द्रित सोच भएका र खुला विचारधारा भएका हुन्छन् । प्रविधि र नवप्रवरद्र्धनमा आधारित उन्नत र विश्वस्तरको सामाजिक चेतना भएका यस पुस्ता लोकतन्त्र, मानव अधिकार, पर्यावरणको रक्षा आदिप्रति प्रतिबद्ध हुन्छन् ।
- जेन बिटा
समाजशास्त्री मार्क म्याकक्रिन्डलका अनुसार सन् २०२५ देखि २०३९ को समय अन्तरालमा जन्मने र हुर्कने पुस्ताको दृष्टिकोण र जीवनशैली ‘जेन बिटा’ हुने भविष्यवाणी गरेका छन् । उनका अनुसार यो पुस्ता स्मार्ट परिवारमा हुर्कनेछ, एआईसँग मित्रता गाँस्नेछ, रोबर्टसँग सहकार्य गर्नेछ । उनीहरूका लागि च्याट जीपीटी, सोरा, डिपसिकजस्ता अत्याधुनिक प्राविधिक प्लेटफर्महरूको प्रयोग सामान्य हुनेछ । यो पुस्ताको अवधिमा स्वास्थ्य, शिक्षा, सेवा, मनोरञ्जन, सुरक्षाजस्ता कार्य एआईमा आधारित हुनेछन् । प्रविधिको एकीकरण, दीर्घजीवन, दिगोपन, विश्वव्यापी प्रभाव तथा डिजिटल अर्थतन्त्र, उद्यमशीलता, स्वतन्त्रता जेन बिटाका प्रमुख विशेषता हुनेछन् । उनीहरूको सिकाइ विधि आभासी यथार्थता (भीआर), विस्तारित यथार्थता, (एआर), विस्तारित वास्तविकता (एक्सआर) अनुकरणात्मक अध्ययन, (एलएस) अनुकूलन सिकाइ (एएल) र गेममा आधारित सिकाइ (जीएल) हुनेछन् । तसर्थ उनीहरू पारिवारिक र सामाजिक सम्बन्धमा भन्दा डिजिटल संसारमा घुलनशील र सयर गर्ने हुनेछन् ।
जेन–जी नामक पुस्ता आफैँमा एउटा स्वतन्त्र र फरक पहिचान भएको पुस्ता हो । जेन–जी नामक शब्दले मूलतः जेन वाई र जेडलाई समेट्छ । जसले मूलतः सन् १९८१ देखि सन् २०१२ सम्मको करिब ३१ वर्ष उमेर समूह भएका पुस्ताको दृष्टिकोण र जीवनशैली भएका युवालाई समेट्छ । जेन अल्फा भर्खर १२ वर्षको उमेर समूहमा हुर्कंदै छन् भने जेन बिटा जन्मने क्रममा छन् ।
कुनै व्यक्ति, समाज वा संसार र यसमा घटित घटनाहरूका बारेमा हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र विश्वास गर्ने विचारहरूको समुच्चय नै दृष्टिकोण हो, जुन व्यक्ति विशेषले बोकेको हुन्छ । समकालीन विश्व एआईतर्फ पदार्पण गर्दै छ । जुन युगका नायक जेन–जीहरू हुन् । तसर्थ व्यक्ति, समाज, राष्ट्र र वैश्विक स्तरका महत्त्वपूर्ण सवाल र पक्षहरूप्रति उनीहरुको दृष्टिकोण कस्तो रहेको छ र उनीहरूको कस्तो भूमिकाको अपेक्षा राष्ट्रले गरेको हुन्छ भन्ने विषयमा चर्चा गर्नु यो आलेखको प्रमुख उद्देश्य हो ।
- जेन–जीको दृष्टिकोणको सवाल
१) प्रविधिको सवालमा: जेन–जीहरू प्रौद्योगिकी युगका स्मार्ट सन्तान भएको हुँदा उनीहरू स्मार्ट फोन, सोसल मिडिया, इन्टरनेट तथा डिजिटल उपकरणसँग परिचित र मैत्री हुन्छन् । सोसल मिडियामार्फत विश्व समुदायसँग जोडिएका हुन्छन् । जसले उनीहरूको विचार र दृष्टिकोणलाई विश्वस्तरको बनाउँदै लगेको हुन्छ । उनीहरूले आर्जन गरेको वैश्विक ज्ञान व्यक्तिगत लाभका लागि मात्र नभएर समाज रूपान्तरणका लागि समेत प्रयोग गर्न इच्छुक हुन्छन् ।
२) अर्थराजनीतिक सवालमा: जेन–जीहरू परम्परागत अर्थराजनीतिको सट्टा सामाजिक न्याय, समानता, स्वतन्त्रता, जलवायु परिवर्तन, उन्नत लोकतान्त्रिक शासन प्रणाली, सामाजिक र लैङ्गिक समानता चाहन्छन्; जातिवादका विरोधी हुन्छन्; मानव अधिकारको रक्षा चाहन्छन्; दिगो विकासका पक्षपाती हुन्छन्; डिजिटल अर्थव्यवस्था र ‘क्रिप्टोकरेन्सी’जस्ता आर्थिक मोडलका पक्षधर हुन्छन् । रोजगारी र आय–आर्जन उनीहरूका प्राथमिक चाहना हुन् । परम्परागत रोजगारीमा भन्दा स्टार्टअप र आईटीमा आधारित तथा फ्रिलान्सिङ (एकभन्दा बढी ठाउँमा काम गर्ने) मा रुचि राख्छन् । राजनीतिमा आफ्नोजस्तै विचार, दृष्टिकोण र उमेर समूहका नेताहरू तथा नयाँ राजनीतिक शक्तिलाई रुचाउँछन् । किनकि उनीहरू विस्फोटक परिवर्तन चाहन्छन् । व्यापार–व्यवसायप्रति उनीहरूको रुचि तुलनात्मक रूपमा कम हुन्छ ।
जेन–जी पुस्ता र एआई जुम्ल्याहा सन्तानजस्ता रहेका छन् । स्मार्टफोन, युट्युब र एप्सको प्रयोगकर्ता; वैश्विक ज्ञान आर्जनप्रति तीव्र भोका; उद्यमशील सोच भएका; टिकटक, इन्स्टाग्राम, च्याट जीपीटी, डिपसिकजस्ता अत्याधुनिक एआई प्लेटफर्मका प्रयोगकर्ता— यही नै यो पुस्ताको विशेषता हो ।
३) शिक्षाको सवालमा: जेन–जीहरू शिक्षालाई पुस्तक अध्ययनदेखि परीक्षासम्मको प्रक्रियालाई भन्दा डिजिटल उपकरण र इन्टरनेटका माध्यमबाट प्राप्त गर्ने प्रविधिमा आधारित रोजगारमूलक शिक्षा चाहन्छन् । उनीहरु सिर्जनात्मक सिकाइमा रुचि राख्छन्; सामाजिक परिवर्तनका लागि शक्तिशाली उपकरण बनाउन चाहन्छन्; व्यक्तिगत अध्ययनका लागि छनोटमा स्वतन्त्रताको माग गर्छन् ।
४) सोच: जेन–जी पुस्ताले स्वतन्त्र सिर्जनात्मक विचार र व्यक्तिगत स्वतन्त्रालाई विशेष महत्त्व दिन्छन्; लैङ्गिक समानता, जातीय विविधताको सम्मान तथा अल्पसङ्ख्यक यौनिकहरूको अधिकारको सुनिश्चितता जस्ता समावेशी सोच राख्छन् । उनीहरु परम्परागत सामाजिक मूल्य–मान्यता र विचारबाट मुक्त हुन चाहन्छन्; उद्यमशीलताका माध्यमबाट भविष्य निर्माण गर्न चाहन्छन्; यथार्थवादी हुन र आफ्नो फरक इमेज तथा छवि बनाउन चाहन्छन् ।
५) युद्ध र आतंकवादको सवालमा: जेन–जीहरू हिंसात्मक उपायको सट्टा पारस्परिक संवाद, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने प्रवृत्तिका हुन्छन् । उनीहरु युद्ध र आतंकवादलाई विकास, स्थायित्व र मानव अधिकारको बाधक ठान्छन् । उनीहरूमा विश्वस्तरको चेतना हुने भएको हुँदा राष्ट्रिय सीमाभन्दा माथि उठेर मानवताको पक्षमा वकालत गर्छन् । यो मानवतावादी पुस्ता हो ।
६) सामाजिक दायित्वको सवालमा: जेन–जीहरू सामाजिक दायित्वप्रति निकै सचेत हुन्छन्; जलवायु परिवर्तन, दिगो विकासप्रति संवेदनशील हुन्छन्; वातावरणमैत्री जीवनशैली रोज्छन् । उनीहरु सबै प्रकारका सामाजिक विभेदको विरोध गर्छन् । समाजसेवामा योगदान गर्ने प्रवृत्ति उनीहरुमा उच्च हुन्छ । उनीहरु नैतिकता, सदाचारिता र स्वभिमानप्रति विशेष चासो राख्छन्; सामाजिक सञ्जालमार्फत आफ्ना विचार अभियान सञ्चालन गर्छन् ।
उनीहरुले स्वयंसेवा गर्ने, सामाजिक अभियानमा सहभागिता जनाउने इच्छा राख्छन् । यसरी उनीहरू सामाजिक परिवर्तनका सक्रिय भागिदार बन्न चाहन्छन् ।
७) ब्रेन ड्रेनको सवालमा: जेन–जी पुस्ताले ब्रेन ड्रेनलाई बाध्यताको पलायन र अवसरको खोजीको रूपमा लिन्छ; ग्लोबल प्रतिस्पर्धामा सहभागी हुन चाहन्छ । उनीहरुमा देशप्रतिको मातृभाव कायम रहेको हुन्छ; आफ्नो देश फर्केर स्टार्टअप सुरु गर्न चाहन्छन् । कतिपय अवस्थामा उनीहरू अवसरको खोजीको निरन्तरतामा गैरआवासीय नागरिक बन्न पुग्छन्; गन्तव्य मुलुक भने आफ्नो अनुकूलता अनुसार छनोट गर्छन् । जस्तै: नेपालको सन्दर्भमा अस्ट्रेलिया, जापान, क्यानडा, अमेरिका ।
८) परिवारको सवालमा: परिवारप्रतिको दायित्व र सद्भाव मानव मात्रको संवेगात्मक विशेषता हो । उनीहरूमा आमाबुवा तथा परिवारप्रति मायाभाव गहिरो हुन्छ तर आफ्नो पहिचान, स्वतन्त्रता, विचारको सम्मानमा भने सम्झौता गर्दैनन् । सम्बन्धको छनोटमा खुलापन रोज्ने प्रवृत्तिका हुन्छन् ।
९) खेल, संगीत र फिल्मको सवालमा: उनीहरू विश्वका सर्वाधिक लोकप्रिय खेल फुटबल, क्रिकेट, बास्केटबलप्रति विशेष लगाव राख्छन् । ई–स्पोर्टहरू (पबजी, फ्री फायर, फ्रटनाइट) मा पनि उनीहरु निकै आकर्षित हुन्छन्; लोकप्रिय र चर्चित खेलाडीलाई टिकटक, युट्युब, इन्स्टाजस्ता प्लेटफर्ममार्फत पिछा गर्छन् । फिटनेस, थेरापी, योग, जिम, माइन्डफुलनेस (एकाग्र रहने) तथा मनोरञ्जनात्मक खेलहरूप्रति पनि उनीहरुको रुचि रहन्छ । संगीतमा पप, हिपहप, र्याप र लोकगीतहरू तथा टिकटकमा भाइरल गीतहरू मन पराउँछन् । फिल्महरूमा आधुनिक र नवीन मन पराउँछन् । जस्तै: लभ स्टोरी, सुपर हिरो, रोमान्ससँग सम्बन्धित, आधुनिक ड्रामा, फ्युचरिस्टिक तथा समकालीन विविधतामा आधारित मन पराउँछन् ।
जेन–जीहरूले सुधार गर्नुपर्ने सवाल: उनीहरू प्रविधिमैत्री हुने भएकाले तत्काल परिणाम चाहने, दीर्घकालसम्म धैर्य गर्ने बानी कम हुने हुन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने बानीले दुनियाँको सूचना र प्रगतिसँग पहुँच राख्ने हुँदा तत्काल परिणाम प्राप्त गर्न नसक्दा हडबडाउने, तनाव र चिन्तामा डुब्ने र छिटै आत्मविश्वास गुमाउने प्रवृत्ति हुन्छ । कुनै पनि विषयवस्तुमा लामो समयसम्म ध्यानकेन्द्रित गर्न सक्दैनन् । डिजिटल संसारसँग व्यस्त हुने हुँदा उनीहरूले पारिवारिक र सामाजिक दायित्वप्रति कम समय दिन सक्ने भएकाले उनीहरूको वास्तविक सामाजिक सम्बन्धप्रति दूरी बढ्ने खतरा हुन्छ । आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रताप्रति बढी केन्द्रित हुने हुँदा आलोचना सहने बानी कमजोर हुन्छ । यसले गर्दा यदाकदा उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा बाधा पुगिरहेको हुन्छ ।
- जेन–जीहरूले निर्वाह गर्नुपर्ने सामाजिक भूमिका
आधुनिक युगले आफ्ना युग मेटका रूपमा रहेका जेन–जीसँग देहाय बमोजिमका अपेक्षा राखेको हुन्छ ।
जनचेतना वृद्धि गर्ने: जेन–जीले सामाजिक सञ्जालको प्रयोगद्वारा मुलुकमा विद्यमान रहेको भ्रष्टाचार, अनियमितता, कुशासन तथा पक्षपातजस्ता तमाम विकृति र विसंगतिका विरुद्धमा जनमत निर्माण गर्नुपर्छ ।
सांगठनिक र नीतिगत दबाब सिर्जना गर्ने: सूचना र प्रविधिको प्रयोग गरी जनमत संकलन गर्ने र त्यसको प्राप्तिका लागि नागरिक आन्दोलनको रूपमा अभियान सञ्चालन गर्ने हुनुपर्छ । पारदर्शिता र उत्तरदायित्वको माग गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्न सक्छन् ।
सक्रिय नागरिकको भूमिका निर्वाह गर्ने: मुलुकको विद्यमान शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह, बजेट र कर प्रणालीजस्ता सार्वजनिक महत्त्वका विषयमा प्रश्न उठाउनुपर्छ ।
नवप्रवर्धन भित्र्याउने: मुलुकमा ई–गभर्नेन्स सञ्चालन गर्नेतर्फ कार्यक्रम तयार गरी सरकारसमक्ष प्रस्ताव गर्न सक्छन् । डेटामा आधारित अनुसन्धानात्मक र प्रतिफलमुखी सुझाव प्रस्तुत गर्न सक्छन् ।
नैतिक नेतृत्व निर्माण गर्ने: जेन–जीले सामान्यतया जेरोन्टोको नेतृत्वलाई स्वीकार गर्नु हुँदैन । भविष्यले भूतकाललाई नेता मान्नु हुँदैन । आफ्नो युगको नैतिक नेतृत्वका लागि अग्रसर हुनुपर्छ । दल सरकार वा हरेक नीति–निर्माणको क्षेत्रमा सहभागी हुने र नेतृत्वमाथि धावा बोल्ने साहस गर्नुपर्छ । काकिस्टोक्रेसी र जेरोन्टोक्रेसीको अन्त्य गर्दै नियोक्रेसीको स्थापना गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री