रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
_4m9fSxoTzM.jpg)
समाचार सारांश
- रातोपाटी डटकमले 'सबैको सबैभन्दा राम्रो' नाराका साथ १२औँ वार्षिकोत्सव मनायो।
- कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
- वार्षिकोत्सवमा पुस्तक लोकार्पण, रातोपाटी सम्मान र प्रोत्साहन पुरस्कार वितरण गरियो।
काठमाडौँ । ‘सबैको सबैभन्दा राम्रो’ नाराका साथ २०७० वैशाख २७ देखि सञ्चालित रातोपाटी डटकमले मंगलबार १२औँ वार्षिकोत्सव मनाएको छ ।
राजधानीको होटल रोयल टुलिपमा मंगलबार साँझ आयोजित विशेष समारोहका बिच रातोपाटीले १२ औँ वार्षिकोत्सव मनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, विभिन्न मन्त्री, सांसद, बुद्धिजीवी, व्यापारीसहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा संविधान संशोधनसम्बन्धी बहस, अन्तर्वार्ता र विचारहरूको संग्रह पुस्तक लोकार्पण गरिएको छ। प्रधानमन्त्री ओलीले उक्त पुस्तकको लोकार्पण गर्दै रातोपाटीको स्थायित्व, निष्पक्षता र निरन्तर प्रयासको प्रशंसा गरे।
‘रातोपाटीले निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित पत्रकारिता गर्दै आएको छ। म यसको नियमित पाठक हुँ,’ प्रधानमन्त्री ओलीले मन्तव्य दिँदै भने। उनले मिडियाको धर्म निर्वाह गर्ने रातोपाटीको योगदान उल्लेखनीय रहेको बताए।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रातोपाटीको सुरुवातदेखि अहिलेको अवस्थासम्मको यात्रा प्रेरणादायी भएको बताए। ‘सामाजिक न्याय र समृद्धिको बहसलाई अघि बढाउन रातोपाटी जस्तो प्लेटफर्मको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने।
पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको उल्लेख गरे ।
कार्यक्रममा रातोपाटीका संस्थापक ओम शर्माले अनेक दुःख कष्टहरू पार गर्दै रातोपाटीलाई डिजिटल ‘हाइवे’ बनाएको बताए । पूर्वमन्त्री कार्यक्रममा देवी खड्कालाई रातोपाटी सम्मान प्रदान गरिएको थियो भने रातोपाटी डटकममा कार्यरत योगेन्द्र नगरकोटीलाई रातोपाटी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
विजया शर्माको अध्यक्षता भएको वार्षिकोत्सव समारोहको अन्तिममा प्रधान सम्पादक जिवेन्द्र सिम्खडालगायतको सहभागितामा केक समेत काटिएको थियो ।