शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
अख्तियार

पतञ्जली प्रकरण : स्वामी रामदेव र आचार्य बालकृष्णलाई अख्तियारले किन चलाएन मुद्दा ?

बुधबार, २८ जेठ २०८२, १८ : २६
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • पतञ्जली जग्गा हिनामिना प्रकरणमा शालिग्राम सिंहविरुद्ध मुद्दा दायर गरिए पनि स्वामी रामदेवसहित अन्य चार जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।
  • अख्तियारले सिंहलाई सम्पूर्ण जिम्मेवारी दिएको र अन्य संस्थापक सदस्यहरूको संलग्नता पुष्टि नभएकाले मुद्दा नचलाउने निर्णय गरेको जनाएको छ।

काठमाडौँ ।  पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा चलायो । यसैक्रममा पतञ्जली कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहविरुद्ध पनि मुद्दा चलाइयो ।

तर कम्पनीका संस्थापक सदस्यहरू स्वामी रामदेव र आचार्य बालकृष्णसहित राजेन्द्र दास र राजेन्द्र सिंहलाई भने मुद्दा नचलाउने निर्णय अख्तियारले गर्‍यो ।

मुद्दा चल्ने सिंह नेपाली नागरिक रहेकोमा स्वामी रामदेवसहित अन्य चार भारतीय नागरिक हुन् । भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेकाले उनीहरुविरुद्ध केही गरिरहन नपर्ने निष्कर्ष अख्तियारको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार स्वामी रामदेवसहित संस्थापक चार सदस्यविरुद्ध मुद्दा नचलाउन अख्तियारले निम्न आधार लिएको छ –

१) २०६४ असोज २३ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीको लेखा नम्बर प्राप्त गर्ने कार्यका लागि आन्तरिक राजस्व कार्यालय काठमाडौँमा गई स्थायी लेखा नम्बर लिनुपर्ने सम्पूर्ण कामको जिम्मेवारी शालिग्राम सिंहलाई अख्तियारी दिइनु । सिंहलाई नेपालको अख्तियारवाला नियुक्त गरी कानुन बमोजिम गर्नुपर्ने कामका लागि नियुक्त गरिनु ।

२) २०६४ कात्तिक २३ गतेको सञ्चालक समितिको बैठकबाट कम्पनीका नाममा निर्माण गरिने आश्रम र अन्य कार्यका लागि चलअचल सम्पत्ति खरिद, बिक्री तथा रजिस्ट्रेसन नामसारी लगायतका सम्पूर्ण कार्यको जिम्मेवारी सिंहलाई दिइनु र कानुनबमोजिम गर्नुपर्ने काममा अधिकार दिइनु ।

३) कम्पनीको नाममा आश्रम स्थल निर्माण तथा अन्य बैङ्क सम्बन्धी सबै कारोबार र धितो राख्ने, बैङ्कबाट कर्जा लिने र बैङ्क सम्बन्धी सम्पूर्ण कामका लागि पनि सिंहलाई नियुक्त गरिनु ।

४) अख्तियारसामु सिंहले हदभन्दा बढी जग्गा खरिदबिक्रीका लागि निवेदन दिनेदेखि सम्पूर्ण कार्य आफू स्वयंले गरेको बयान र कम्पनीको सम्पूर्ण कार्य आफैँले गरेको र मौखिक/अनौपचारिक जानकारी सम्म संस्थापक सदस्यहरूलाई गराएको बयान दिनु ।

५)  हालसम्म सङ्कलित प्रमाण कागजातबाट स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिंह स्वयं उपस्थित भई कार्य गरेको पुष्टि नहुनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप