आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : झोले अभियान

एमालेको ‘झोले अभियान’ : आत्मपहिचानको प्रयास कि असफल ब्रान्डिङ ?

बिहीबार, २९ जेठ २०८२, १० : १४
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । नेकपा एमालेले जेठको मध्य मासमा थालेको ‘म झोले हुँ’ अभियानले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरायो । 

यो अभियानलाई पार्टीका शीर्ष नेताहरूले त गर्व गरे । तर सामाजिक सञ्जालमा भने धेरैले चर्को आलोचना गरे । एमालेकै केही नेता कार्यकर्ताले ओलीको यो कदमप्रति ‘चित्त दुखाए’ । 

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष मात्र होइनन्, देशकै प्रधानमन्त्री छन् यतिवेला । सामाजिक सञ्जालमा उनले सुरु गरेको यो अभियानलाई उनकै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अर्का उपमहासचिव प्रदीप ज्ञवालीलगायतले खुलेरै समर्थन गरेका थिए । तर उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई लगायतले भने साथ दिएको देखिएन । अर्थात् उनीहरूले सामाजिक सञ्जालमा यसबारे न शब्द खर्चिए, न त यस्तो पोस्ट सेयर नै गरे । 

एमालेले एक्कासि यस्तो अभियान किन चलायो ? यसको पृष्ठभूमि, उद्देश्य, सामाजिक प्रभाव र सम्भावित परिणाम केके आउलान् भन्ने उसले सोच्यो कि सोचेन ? यसको चर्चा, विश्लेषण र आलोचना भइरहेका छन् । 

तर यस्तो अभियानले सकारात्मक परिणाम दिनेभन्दा पनि स्वयं ओलीलाई नै ‘ब्याकफायर’ गर्न सक्ने प्राध्यापकसमेत रहेका राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन् ।

आफूहरूले भनेको ‘झोले’ शब्दले झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका मान्छे भनिने अर्थ लाग्ने उनको बुझाइ छ । 

‘ओलीलाई वेलावेलामा आफूले जे गर्दिए पनि ट्रेन्डिङ हुन्छ भन्नेजस्तो लाग्छ, झोले अभियान पनि यस्तै हो,’ पोखरेल भन्छन् । 

पार्टीका सबै कार्यकर्ता आफूले सुरु गरेको जुनसुकै अभियानको पनि पछि लाग्छन् भन्ने बुझाइ ओलीमा आएको हुन सक्ने पोखरेल तर्क गर्छन् । ‘तर भाष्य नै गलत भयो । भाष्य नै गलत भएपछि मानिसहरूलाई आफू झोले हुँ भन्न सहज नलागेको देखिन्छ,’ उनी बताउँछन् । 

तर पार्टीका उपमहासचिव तथा सरकारका प्रवक्तासमेत रहेका पृथ्वीसुब्बा गुरुङ भने फरक तर्क गर्छन् । आफूहरूले भनेको ‘झोले’ शब्दले झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका मान्छे भनिने अर्थ लाग्ने उनको बुझाइ छ । 

जनताका मुद्दाको झोला बोकेरै एमाले अहिलेसम्मको स्थितिमा आएको बताएका उनले पार्टीको नीति सिद्धान्त र झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनुमा गर्व गर्नुपर्ने जिकिर गर्छन् । 

‘प्रधानमन्त्रीले भन्न खोज्नुभएको झोलेको अर्थ पार्टीको नीति सिद्धान्त र झण्डा पनि हो । एमालेको झोले हुन म किन तयार छु भने, एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ,’ उनले व्याख्यासहित तर्क पेस गरे । 

  • ‘अपमान’ शब्द स्वाभिमानमा प्रयोग

‘झोले’ शब्द सामान्यतः नेपाली समाजमा अपमानजनक रूपमा प्रयोग गर्ने गरिन्छ । जसले कुनै नेताको पछिपछि लाग्ने, विवेक र स्वतन्त्रता नभएको कार्यकर्तालाई इङ्गित गर्छ । तर, एमालेले यो शब्दलाई सकारात्मक अर्थमा प्रस्तुत गर्ने प्रयास गरेको छ । झोले अभियान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सुरु भएपछि कतिपयले त्यसलाई बाध्यतावश पछ्याएका विश्लेषक पोखरेल बताउँछन् । 

‘आफ्ना कार्यकर्ताहरूलाई स्वाभिमानी बनाउन सामाजिक सञ्जालमार्फत ओलीले उत्प्रेरित गरेका छन्,’ पोखरेल भन्छन्, ‘आफ्ना कार्यकर्तालाई अरूले झोले भनेर ह्याएको बुझाइलाई इग्नोर गर्ने वा प्रतिवाद गर्ने अन्य तरिकाहरू अपनाउन पनि सकिन्थ्यो ।’

सरकार वा एमालेसँग निराश भएकाहरूले सामाजिक सञ्जालमा ‘झोले’ शब्द प्रयोग गर्ने गरेको पोखरेलको बुझाइ छ ।

‘तीमध्ये कतिपय फ्रस्टेसन जायज पनि होलान् । कतिपय लहडका पनि हुन सक्छन्,’ पोखरेल व्याख्या गर्छन्, ‘सरकारले भनेजस्तो डेलिभर गरिरहेको छैन या गरेको पनि प्याकेजिङ गरेर बाहिर ल्याउन सकेको छैन । यस्तो अवस्थामा युवाहरूमा असन्तुष्टि बढ्नु र एमाले कार्यकर्ताले सरकारका काममा अन्धाधुन्ध फलो गरेको देखेपछि तँ त झोले होस् भनेका हुन् तर त्यसमा आफैले झोले भनेपछि थप नेगेटिजमतिर गयो ।’

तर एमाले पोलिटब्युरो सदस्य सूर्य थापा भने यो शब्दलाई गालीको रूपमा नबुझ्न आग्रह गर्छन् । ओलीले देश र राष्ट्रहितको झोला बोकेकाले ‘म झोले हुँ’ भनेकाले यही अर्थमा बुझ्नुपर्ने उनको भनाइ छ । 

‘केपी शर्मा ओली देश र जनताको समृद्धिको झोला बोक्ने मान्छे होइन ?’ थापाले प्रतिप्रश्न गरे । राष्ट्रहित र राष्ट्रिय एजेन्डाको, विकासको, समृद्धिको, दूरगामी भविष्यको झोला ओलीले बोकेकाले आफूले आफूले त्यसलाई पछ्याएको उनको भनाइ थियो । 

एमालेले विगतमा ‘मै पनि एमाले, सही पनि एमाले’ नारा स्थापित गर्न खोजेको थियो । केही हदसम्म यो चर्चित पनि बनेको थियो । यही नारालाई परिष्कृत गर्दै एमालेले ‘झोले’ अभियान ल्याउन खोजेको धेरैको बुझाइ छ । र यसले पार्टीभित्र र बाहिर मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

‘राष्ट्रको झोला बोक्दा कसैले झोले भन्छ भने ठिकै हो, हामी झोले बन्ने कुरामा कुनै आपत्ति रहेन,’ एमाले स्थायी कमिटी सदस्य तथा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ भन्छन्, ‘कुनै व्यक्ति, संस्था वा परिवारको झोला बोक्नुभन्दा राष्ट्रको सेवा गर्ने झोला बोक्नु उत्तम हो ।’

  • आत्मविश्वास र आक्रामक रणनीति

उद्देश्य जे भए पनि एमालेको यो अभियानको सार कार्यकर्ताहरूमा उत्साह भर्नु र विपक्षीहरूले प्रयोग गर्ने अपमानजनक शब्दलाई आफ्नै पक्षमा हतियार बनाउनु हो । यस्तै तर्क गर्छन्, राजनीतिक विश्लेषक पोखरेल पनि ।

‘विपक्षीको आलोचनालाई कमजोर बनाउने र कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने प्रयासस्वरुप एमाले नेतृत्वले झोले अभियान चलाएको हुन सक्छ,’ उनी भन्छन्, ‘खासगरी, हालैका वर्षहरूमा एमालेले भ्रष्टाचार, संसद् अवरोध र अन्य विवादका कारण आलोचनाको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा झोले शब्दलाई सकारात्मक ब्रान्डिङको रूपमा प्रस्तुत गर्न खोजिएको हो ।’ यस अभियानले पार्टीको आत्मविश्वास र विपक्षीप्रतिको आक्रामक रणनीतिलाई झल्काउने उनको बुझाइ छ । 

सामाजिक सञ्जाल (खासगरी फेसबुक) मा एमालेका नेता कार्यकर्ताहरूबाट व्यापक समर्थन पाएको भनिएको ‘झोले अभियान’ले के साँच्चै पार्टीको तल्लो तहसम्म प्रभाव सिर्जना गर्न सक्यो ? यस अभियानले एमाले सबै कार्यकर्ता सन्तुष्ट हुन सके ? यहाँ केही उदाहरण छन् । जसबाट केही हदसम्म प्रस्ट पार्न खोजिएको छ । 

‘झोले अभियान लाई ६ लाख सदस्य भएको (फेसबुक) एमालेमा ६ हजारले पनि साथ दिएनन् !  १०० मा १ नम्बर पनि आएन !,’ नेकपा एमालेका सक्रिय कार्यकर्ता र सामाजिक सञ्जालमा एमालेको प्रतिरक्षा गर्दै आएका प्रदीप भट्टराईले फेसबुकमा लेखेको छन्, ‘जुन झोलेपिरुद्ध हामी निरन्तर लडेका थियौँ, त्यही अभियान कसको लहडमा आयो ? किन ल्याइयो ? यस्ता पूर्णतः असफल खराब ब्रान्डिङ किन हुन्छ ?’ 

भट्टराईले अझ अघि लेखेका छन्, ‘त्यो असफल भएपछि अस्तिदेखि म गुण्डा हो भनेर नयाँ अभियान सुरु भएको रैछ ! त्यो अभियान सफल बनाउन लागे हुने ? जे जे अभियान चले ती सबै असफल भए सन्देश के जाला ?’

भट्टराईले मात्र होइन, विराटनगरका पुराना एमाले नेता मीन आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विचार बोक्ने र विचारलाई व्यवहारमा बदल्न सिकाउने अभियन्ता हुँ, झोले होइन ।’

त्यस्तै उदयपुरका एमाले नेता विमल कार्कीले पनि सामाजिक सञ्जाल फेसबुकमै कटाक्ष गरेका छन् । ‘कुनै योग्यता, क्षमता नभएको, सही–गलत के हो छुट्ट्याउन नसक्ने, सके पनि विवेक प्रयोग गर्न नसक्ने, सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने, नेताले भनेको कुरा जस्ताको त्यस्तै लागु गर्ने, केवल चाकडी र चाप्लुसी गरी नेता खुसी बनाएर आफ्नो दुनो सोझ्याउने लगायतलाई शब्दकोशमा भाषा शास्त्रले झोले भनेर अर्थ्याउँछ,’ उनले लेखेका छन् । 

  • सामाजिक र राजनीतिक प्रभाव बढाउला ?

एमालेको झोले अभियानले नेपाली राजनीतिमा दुई वटा प्रमुख प्रभाव देखाएको छ । पहिलो, यसले एमाले कार्यकर्ताहरूलाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ, जसले पार्टीको आन्तरिक एकता बलियो बनाउन सक्ने बुझाइ छ । दोस्रो, यसले विपक्षी दलहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट तीव्र आलोचना निम्त्याएको छ । धेरैले यो अभियानलाई ‘हास्यास्पद’ र ‘देवत्वकरण’ को प्रयासको रूपमा पनि बुझेका छन् ।

एमाले केन्द्रीय सदस्य नीरज आचार्य एमालेले बोकेको झोलामा विचार, सिद्धान्त, नीति र जनताका सपना भएकाले म झोले हुँ भनेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भनेको दाबी गर्छन् । साथै उनी एमालेले बोकेको विचार र सिद्धान्तको झोलाप्रति गौरव गर्नुपर्ने बताउँछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एमालेलाई ‘झोले पार्टी’ भन्दै आलोचना गरे पनि त्यसले फरक नपर्ने आचार्यको बुझाइ छ । आलोचनाको दृष्टिकोणबाट हेर्दा यो अभियानबाट एमालेको छविलाई थप विवादास्पद बनाउन सक्ने सम्भावना पनि रहेको देखिने उनी बताउँछन् । 

‘झोले’ शब्दलाई नकारात्मक बनाउने प्रयासले विपक्षीहरूलाई थप आलोचना गर्ने मौका दिएको छ । कतिपयले म झोले हुँ शब्दको साटो ‘म भ्रष्टाचारी हुँ’ जस्ता शब्दहरू जोडेर एमालेको लक्ष्यविपरीत ब्रान्डिङ गर्न खोज्ने पनि सामाजिक सञ्जालमा प्रशस्तै भेटिएका छन् ।

एमालेको यो अभियानले एमालेका केही नेता कार्यकर्ताहरूलाई उत्साहित बनाए पनि यसको दीर्घकालीन प्रभाव भने अनिश्चितजस्तै छ । यो अभियानले व्यापक समर्थन प्राप्त गर्न सकेन भने विपक्षी र विरोधीहरूले यसलाई असफल ब्रान्डिङका रूपमा प्रचार गर्नसक्ने खतरा पनि उत्तिकै देखिन्छ । जसले एमालेको छविलाई थप कमजोर बनाउन सक्ने सम्भावना नहोला भन्न सकिँदैन । 

तर एमालेले यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके वा यसले कार्यकर्ताहरूमा नयाँ जोस र जाँगर भर्न सके विपक्षीको आलोचना बिस्तारै कमजोर बन्दै जान पनि सक्छ । तर यसमा एमालेले आगामी दिनमा लिने थप रणनीतिमा भने भर पर्छ । 

झोलेको ब्रान्डिङ बहस र आलोचनाकैबिच एमाले महासचिव शंकर पोखरेलले प्रस्टीकरण दिँदै प्रस्ट पार्ने प्रयास त गरेका छन् । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत ‘झोले बहस’ चर्को बनेपछि महासचिव पोखरेलले सात बुँदामा जवाफ दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न गौरवका साथ एमालेको झोला बोक्न आग्रह गरेका छन् । तर यति मात्र पर्याप्त भने देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप