के ‘झोले आन्दोलन’ वाम आन्दोलन बन्न सक्छ ?

समाचार सारांश
- लेखमा विचारधारात्मक विभाजनको महत्व र यसले मानव जातिको विकासमा पुर्याएको योगदानबारे चर्चा गरिएको छ।
- नेपालको वाम आन्दोलनले पुँजीवादसँगको स्पष्ट सम्बन्धविच्छेद गर्न नसकेको र यसका कारण उत्पन्न समस्याहरूलाई उजागर गरिएको छ।
- लेखले वाम आन्दोलनको पुनर्निर्माण र झोले प्रवृत्तिलाई परास्त गर्दै सच्चा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।
सबैलाई थाहा भएको सत्य के हो भने–विचारधारात्मक हिसाबले संसार विभाजित छ । यो विभाजन आज मात्र देखापरेको होइन । करिब ७० हजार वर्ष पहिले पृथ्वीमा सेपियन्सहरू (मानवजातिका पुर्खा) देखापरेदेखि नै यस प्रजातिमा अनेकौँ विषयमा निरन्तर विभाजन हुँदै आएको पाइन्छ । विचारधारात्मक हिसाबले विभाजित भइरहने यो आनुवंशिक प्रवृत्तिका कारण नै सेपियन्सहरू आज आधुनिक मानवमा रूपान्तरण भएका हुन् ।
धरती, समुद्र, आकाश र अन्तरिक्षमा मानवको आश्चर्यजनक विजय, उनीहरूमा सधैँ जागिरहने जिज्ञासा, त्यसले निर्माण गर्ने फरक विचार र त्यसबाट उत्पन्न संघर्ष अनि ती संघर्षको व्यवस्थापनले मात्रै मानव जातिको विकास सम्भव भएको हो । त्यसैले मानव जातिको थप उन्नतिका लागि विचारधारात्मक संघर्ष आवश्यक छ र यो संघर्ष सदैव जारी रहनेछ । यदि यो संघर्ष रोकियो भने मानव जातिको अस्तित्व पनि डाइनासोरझैँ अन्त्य हुने खतरा छ ।
प्राचीनकालमै मानिसहरू विभाजित थिए–जङ्गलमा स्वतन्त्रतापूर्वक विचरण गर्ने कि नदी किनारमा स्थायी बसोबास गने ? भोजनको खोजी जङ्गलमै गर्ने कि खेती र पशुपालनबाट जीवन यापन गर्ने ? दासयुग कायम राख्ने कि वैभवशाली सामन्ती शासन रोज्ने ? धर्मशासित राज्य चाहिने कि राजाशासित ? प्रतिस्पर्धात्मक पुँजीवादी अर्थतन्त्र चाहिने कि समाजवादी प्रणाली ? यस्ता अनगिन्ती विषयहरूमा संसार सधैँ विभाजित रहँदै आएको छ–वाद, सिद्धान्त, विचारधारा, नीति, कार्यक्रम, योजना, संस्कृति र धर्ममा ।
आजको युगमा मानव समाजको मूल विभाजन पुँजीवाद र समाजवादको धारमा छ । यो विभाजन केवल राजनीतिक प्रणालीमा सीमित छैन, यसले सामाजिक, सांस्कृतिक र आर्थिक संरचनामा पनि गहिरो प्रभाव पार्छ ।
नेपालको वाम आन्दोलनले पुँजीवादसँग सीधा संघर्ष गरेको इतिहास छैन । उनीहरूले पुँजीवादीहरूसँग मिलेर सामन्तवादको अन्त्य गरेका हुन् ।
पुँजीवाद वर्तमानको विश्व व्यवस्था हो भने, समाजवाद भविष्यको सम्भावित नयाँ व्यवस्था हो, जसले पुँजीवादलाई विस्थापन गर्दै अगाडि बढ्न खोजेको छ । यद्यपि, आज पनि विश्वका केही भागहरूमा समाजवादका विविध मोडेलहरू प्रयोगमा छन्, कसैले सफल परिणाम दिएका छन् भने केही असफल पनि भएका छन् ।
पुरानो पुँजीवादी प्रणाली आफैँलाई जोगाउन समयानुसार विभिन्न रूप धारण गर्दै आएको छ । त्यस्तै, नयाँ समाजवादी प्रणाली पनि आफूलाई विस्तार गर्न विविध अभ्यासमा संलग्न देखिन्छ । प्रारम्भिक पुँजीवाद नवप्रवर्तनशील, रोजगार सिर्जना गर्ने, प्रतिस्पर्धी र सामन्तविरोधी थियो । तर कालान्तरमा यसको स्वरूप बदलिँदै गयो । कहिले एकाधिकारवादी, कहिले उत्पादन नगरी नाफामात्र कमाउने, कहिले सामन्तहरूको पक्षपोषक हुँदै हाल प्रविधिमा आधारित फासीवादतर्फ उन्मुख ।
समाजवादका पनि चिनियाँ, क्युवाली र उत्तर कोरियालीजस्ता विभिन्न मोडेल छन् । जे भए पनि पुँजीवाद र समाजवादको भिडन्त विश्वभर जारी छ । यो भिडन्त कहिले सशस्त्र संघर्षका रूपमा, कहिले संसद्मा, सडकमा, त कहिले सरकारमै देखापर्छ । साथै, संघर्षको अर्को गहिरो रूप हो, घुसपैठ ।
सीधै कम्युनिस्टहरूलाई पराजित गर्न नसक्ने अवस्थामा प्रतिक्रियावादीहरूले कम्युनिस्ट पार्टीभित्रै घुसपैठ गराउने रणनीति अपनाउँछन् । यस्ता अभ्यासहरूले विश्वभरिका कम्युनिस्ट आन्दोलनहरूलाई प्रभावित पारेका छन् । जुन आन्दोलन घुसपैठबाट जोगिएको छ, त्यहाँ उपलब्धि देखिन्छ र जोगिन नसकेका आन्दोलनहरू गम्भीर क्षतिको सामना गर्दै समाप्त भएका छन् ।
नेपालको वाम आन्दोलनले पुँजीवादसँग सीधा संघर्ष गरेको इतिहास छैन । उनीहरूले पुँजीवादीहरूसँग मिलेर सामन्तवादको अन्त्य गरेका हुन् । तर त्यो सहकार्यपछि नेपालका समाजवादीहरूको विचारधारात्मक अडान, नीति निर्माण र संघर्षको परम्परामा उल्लेखनीय विचलन आएको देखिन्छ ।
त्यसैले आजका नेपाली कम्युनिस्टहरू यथास्थितिवादीजस्ता देखिन्छन् । संसद् वा सरकार सञ्चालनमा उनीहरू र बुर्जुवाहरूबिच विशेष भिन्नता अनुभव हुँदैन ।
आजको अवस्था यस्तो छ– नेपालका तथाकथित वामपन्थीहरू पैसा खर्च गरेर आफ्नै जयजयकार गराउँछन् । नीति निर्माणमा हुकुम जारी गर्छन्, संगठन निर्माणमा दासहरू भर्ना गर्छन् ।
जसरी यो लेखको सुरुवातमा भनिएको छ । गणतन्त्र प्राप्तिपछि समाज फेरि दुई धारमा विभाजित हुनु जरुरी थियो; पुँजीवाद र समाजवादका रूपमा । मानव जातिको विकास भिन्न मत, विभाजन, संघर्ष र समाधानबाट भएको इतिहास भएकाले यो विभाजन आवश्यक थियो । तर नेपालमा त्यो सम्भव हुन सकेन । नेपालको गणतन्त्र, लोकतान्त्रिक आन्दोलन, वाम आन्दोलन, जनताको जनजीवन र मुलुकको समृद्धिको आकांक्षामै समस्या देखापर्यो । समाजवादी र पुँजीवादीहरू एउटै कित्तामा उभिन थालेपछि समस्याहरू झनै गहिरिएका छन् । बरु आज सामाजिक असन्तुष्टिहरूको प्रतिनिधित्व प्रतिगामी र सामाजिक लफंगाहरूले गर्न थालेका छन् । यस्तो अवस्था केवल अप्राकृतिक मात्र होइन, लाजमर्दो पनि हो । त्यसैले त एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल भन्छन्, ‘आज गणतन्त्रवादीहरूले आफ्नो अनुहारमा आफैं कालो पोत्नुपर्छ ।’
अब समस्या समाधानको सुरुवात बिन्दु पुँजीवादीहरूसँग समाजवादीहरूको स्पष्ट सम्बन्धविच्छेद हो । दुर्भाग्यवश: नेपालको कम्युनिस्ट आन्दोलन यो निर्णयको लागि तयार छैन । यसमा प्रतिक्रियावादीहरूको भूमिका त छँदै छ, तर त्योभन्दा बढ्ता कम्युनिस्ट पार्टीभित्रका थाकेका, गलेका, वयोवृद्ध र सत्तामोहमा डुबेका नेताहरूको सक्रियता देखिन्छ ।
यही कारणले पुँजीवादी र प्रतिगामीहरूसँग चुनावी गठबन्धन हुन्छ, सँगै सत्तारोहण हुन्छ । यत्तिमात्र होइन, प्रतिगामी सहकारी ठग र मानव बेचबिखनमा लागेकाहरूको पक्षमा ढाल बनेर उभिन्छन् । कम्युनिस्ट भनिनेहरूले नै अरू कम्युनिस्टहरूलाई झूटा भ्रष्टाचारका मुद्दामा फसाउन तल्लीन देखिन्छन् । अनि त ‘हामीलाई भोट देऊ वा कांग्रेसलाई देऊ’ भन्दै दुई पार्टी प्रणालीको पक्षमा उभिन्छन् ।
आजको अवस्था यस्तो छ– नेपालका तथाकथित वामपन्थीहरू पैसा खर्च गरेर आफ्नै जयजयकार गराउँछन् । नीति निर्माणमा हुकुम जारी गर्छन्, संगठन निर्माणमा दासहरू भर्ना गर्छन् ।
आफूलाई कम्युनिस्ट भन्नेहरूले गर्वका साथ भन्नुपर्ने हो – ‘म साँचो लोकतन्त्रवादी हुँ, म न्याय र समानताका लागि काम गर्छु, म श्रमजीवी हुँ, म श्रमको सम्मान गर्छु, म मानवताको पक्षमा छु, म शोषणविहीन समाज चाहन्छु, म समाजको निरन्तर गतिशीलता र प्रगतिमा विश्वास गर्छु, म युद्ध र हिंसाविरुद्ध छु ।’
तर हाम्रो आन्दोलन यति विकृत भइसकेको छ कि मान्छेहरू ‘म झोले हुँ’ भन्दै गर्व गर्न थालेका छन् । प्रश्न उठ्छ– के झोले आन्दोलन वाम आन्दोलन हुन सक्छ ? कदापि हुन सक्दैन ।
त्यसैले आज आवश्यकता छ, गौरवशाली वाम आन्दोलनको पुनर्निर्माणको । यसको लागि प्रतिक्रियावादी र प्रतिगामीहरूसँग मात्र होइन, सम्पूर्ण पुँजीवाद र यसको राजनीतिक प्रतिनिधिहरूसँग तत्काल सम्बन्धविच्छेद घोषणा गर्नुपर्छ ।
समाजलाई विचारधारात्मक रूपमा विभाजित गर्न, र यस विभाजनबाट उत्पन्न हुने संघर्षका लागि तयार हुन अब विकल्प छैन । त्यसका लागि झोलेहरू र झोले आन्दोलनका प्रवर्तकहरूलाई पराजित गर्नैपर्छ । अर्थात्, आन्दोलनभित्र घुसपैठ गर्नेहरूलाई हटाउनैपर्छ । यसैमा निहित छ—सकारात्मक वैचारिक ध्रुवीकरण र शुद्ध वाम आन्दोलनको पुनर्गठन ।
त्यसैले अब हामीले स्पष्ट भन्नैपर्छ – कम्युनिस्ट आन्दोलन जिन्दाबाद, झोले आन्दोलन मुर्दावाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा चर्को विवाद
-
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
-
न्यायाधीशमाथिको दुर्व्यवहार आपत्तिजनक : निजामती कर्मचारी सङ्गठन
-
स्थानीय तहका पदाधिकारीहरूले गरेको वैदेशिक भ्रमणको विवरण माग
-
विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल
-
सन्तोष परियारलाई प्रश्न : संसद्मा रास्वपा अब एक्लै भिड्छ ?