शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

‘किताबविना पनि सिक्न सकिन्छ’

शुक्रबार, ३० जेठ २०८२, २० : ५८
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • पोखरा २६ का विद्यार्थीहरूले ४५ दिनको 'बुक फ्री डे' मा प्रविधि र व्यवहारिक ज्ञान हासिल गरे।
  • तालिममा रोबोटिक्स, ग्राफिक्स डिजाइन, र व्यक्तित्व विकास जस्ता विषयहरूमा प्रशिक्षण दिइयो, जसमा विद्यार्थीहरूले परियोजनाहरू प्रदर्शन गरे।
  • वडाध्यक्ष नरेन्द्र थापाले युवाहरूलाई प्रविधिमार्फत आत्मनिर्भर बनाउने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने योजना रहेको बताए।

पोखरा । कसैसँग रिमोट, कसैसँग रोबोट । कोही कम्प्युटरमा सुन्दर डिजाइन कोर्दैछन् । कोहीचाहिँ व्यक्तित्व विकासको सीप लिँदै गरेका भेटिन्थे । जे होस्, कसैका हातमा किताब छैनन्, कसैसँग पनि किताबका गह्रुङ्गा झोला छैनन् । सधैँ झोलाभरी किताब र कापी बोकेर थकित पोखरा २६ का विद्यार्थी पछिल्लो ४५ दिनदेखि विना पुस्तक व्यवहारिक ज्ञान लिन व्यस्त छन् । 

बिहीबार तालिममा सहभागी विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल सिजर रोबोटबाट रिबन काटेर तालिम समापन कार्यक्रमको उद्घाटन भयो । त्यसपछि अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेकोमा विद्यार्थीको ध्यानाकर्षण गराउँदै विज्ञान प्रविधिमा अभ्यस्त हुन विद्यार्थीहरूलाई अह्राए । 

'अहिले अवसर छ । यो पुस्ता प्रविधिसँग जोडिएको पनि छ । प्रविधि सिक्न पहिलेजस्तो पुस्तकको मात्रै भर पर्नुपर्ने बाध्यता पनि छैन,झ उनले भने, ’सिक्न चाहनेले जुनसुकै विधिबाट सिक्न सक्छन् । फेरि डिजिटल आधारित सीपले बेरोजगार रहन पर्दैन ।'

दैनिक झैँ पुस्तक बोकेर विद्यालय जाने विद्यार्थीहरू एक दिन भए पनि मुक्त हुँदा अनुहारमा नयाँ उत्साह त छँदै छ, पुस्तकविना पनि सिक्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

वडाले सञ्चालन गरेको ‘बुक फ्री डे’ अवधारणाअन्तर्गत उनीहरूले किताबी ज्ञानको सट्टा प्रविधिका सीप सिक्न तल्लीन भएका हुन् । २६ नम्बर वडाले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम बिहीबार सकियो । त्यस अवसरमा विद्यार्थीहरूले आफैँले तयार पारेका रोबोटिक्स प्रोजेक्ट, ग्राफिक्स डिजाइन र छोटो डकुमेन्ट्री सार्वजनिक गरेर सिकेका व्यवहारिक सीप प्रस्तुत गरे । 

कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताए । 'पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रवृत्तिका छन्,उनले भने, ’समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको छ । त्यसविरूद्द जुध्नुपर्छ ।' तालिममा सहभागी विद्यार्थीले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा स्मार्ट कृषि र स्मार्ट डस्टबिन परियोजनामार्फत दोस्रो र तेस्रो स्थान जितेका छन् । उनीहरूलाई वडाध्यक्षले विशेष सम्मान गरेका थिए ।

तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी थिए । अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने भन्दै वडालाई प्रविधि मैत्री बनाउने गरी योजना सुरु गरिएको बताए ।

'युवाहरू प्रविधिको माध्यमबाट आत्मनिर्भर हुन सकुन् भनेर यो योजना सुरु गरिएको हो,उनले भने, ’आजको युग प्रविधिको मुठ्ठीमा छ । त्यसलाई हाम्रा युवाले पनि खोल्न सक्नुपर्छ । प्रविधिको व्यवहारिक सिकाइबाट रोजगारीमा जोडिनुपर्छ ।झ उनले आफ्ना वडाका विद्यार्थीलाई समेत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले कार्यक्रममार्फत जोडेको सुनाए । 

युवा वैज्ञानिक विकल्प ढुङ्गानाले सीप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो हुने बताए । 'सामान्य अभ्यास गर्नेले होइन, निरन्तरता दिनेले मात्र परिणाम ल्याउँछ,उनले भने, तपाईँहरूको पनि निरन्तरता रहने विश्वास छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप