प्रधानमन्त्री र विश्व बैङ्कका प्रमुख प्रशासकीय अधिकृतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबिच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले विश्व बैङ्क नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्य ढाँचा (२०२५–२०३१) लाई बैङ्कले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरूको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायु परिवर्तनका लागि विश्व समुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुनः निर्माणका काममा लाग्नुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिका लागि लागिएकाले यसमा बैङ्कजस्ता संस्थाको सहयोग आवश्यक हुने बताए ।
प्रमुख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्य ढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाए । उनले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्चाधिकारी सहभागी थिए ।