इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी

समाचार सारांश
- चीनले इरानको सार्वभौमसत्ता उल्लंघन गरेको भन्दै इजरायलको निन्दा गरेको छ, आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेको छ।
- अमेरिकाले इजरायललाई इरानमाथिको आक्रमणबारे जानकारी पाएको तर संलग्न नभएको बतायो, र इरानलाई वार्तामा आउन आग्रह गर्यो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै अन्यथा इजरायलको थप कारबाही हुने चेतावनी दिए।
न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन्। उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।
यसले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरे।
उनले आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षरकर्ताको रूपमा इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्ने अधिकारको पूर्ण सम्मान गरिनुपर्ने बताए। चीन र इरान घनिष्ठ साझेदार हुन्, विशेष गरी ऊर्जा र विकास परियोजनाहरूमा।
गत मार्चमा चीनले इरान र रुसका उपविदेशमन्त्रीहरूलाई बेइजिङमा आमन्त्रित गरेको थियो । जहाँ उनीहरूले इरानको आणविक मुद्दामा छलफल गरे र यसमा लगाइएका प्रतिबन्धहरू हटाउन माग गरे।
यता, अमेरिकी ब्यूरो अधिकारी म्याककोय पिटले इरानमाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकालाई यसबारे जानकारी गराएको बताएका छन् । इजरायलले अमेरिकालाई यो कारबाही आफ्नो आत्मरक्षाको लागि आवश्यक रहेको भनेर बताएको उनको भनाई थियो।
‘यी आक्रमणहरूको बारेमा संयुक्त राज्य अमेरिकालाई पहिले नै जानकारी गराइएको थियो, तर यी अमेरिकाको कुनै सैन्य संलग्नता छैन,’ पिटले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता अमेरिकी नागरिक, कर्मचारी र सैन्य कर्मचारीहरूको सुरक्षा हो।’
यदि इरानले अमेरिकी जनता वा स्रोतसाधनमाथि आक्रमण गर्यो भने गम्भीर परिणाम भोग्नुपर्ने पिटले चेतावनी पनि दिए। उनले इरान वार्ताको लागि तयार होस् र यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने अमेरिकाले चाहेको स्पष्ट पारे। पिटले भने, ‘इरानका नेताहरूले वार्ताको सहारा लिने यो सही समय हो।’
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गरेका छन् । यदि यसो भएन भने इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने ट्रम्पले चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’