सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला

नेपाली समाज भारतको पहलमा उद्धार, आमाको आँखामा खुसीका आँसु
आइतबार, ०१ असार २०८२, २१ : १०
आइतबार, ०१ असार २०८२

काठमाडौँ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, कुर बेहोरे निवासी गणेश परियार भारतको राजधानी दिल्लीस्थित खाम्पुर क्षेत्रबाट आज साँझ जीवित अवस्थामा सम्पर्कमा आएका छन्। 

उनी विगत ६ महिनादेखि सम्पर्कविहीन थिए। गणेशको उद्धार नेपाली समाज भारतको सक्रिय पहलमा सम्भव भएको हो।

छोरा बेपत्ता भएपछि गणेशका परिवारजन विक्षिप्त भएका थिए। उनका आमा–बुबाले गाउँका मन्दिर धाए, सरकारी निकायका ढोका ढकढक्याए, सामाजिक सञ्जालमा अपिलसमेत गरे तर कतैबाट सन्तोषजनक नतिजा आउन सकेन। अन्ततः उनीहरू  नेकपा माओवादी केन्द्र अन्तर्गत भारतमा क्रियाशील नेपाली समाज भारतका महासचिव आर।बी। खड्कासँग सम्पर्कमा पुगेपछि  खोजी कार्य औपचारिक रूपमा अगाडि बढेको थियो।

महासचिव खड्काले दिएको जानकारी अनुसार नेपाली समाज भारतले दिल्ली क्षेत्रका सम्पर्कहरू, स्थानीय नेपाली समुदाय र विभिन्न सञ्चार माध्यमसँग समन्वय गर्दै खोजी अभियान सञ्चालन गरेको थियो। निरन्तर प्रयासपछि गणेश आज साँझ दिल्लीको खाम्पुर क्षेत्रमा सुरक्षित रूपमा फेला परेका हुन्। हाल उनी आफ्ना मामा विकास परियारको जिम्मामा छन्।

छोरा फेला परेको खबर सुनेपछि गणेशकी आमाले खुसीका आँसु खसालिन्। रुँदै उनले भनिन्, “म त दिन–रात भगवान्लाई छोरा फर्काइदेऊ भनेको थिएँ। आज मेरो छोरा फर्किएको छ। मलाई फेरि बाँच्ने आशा मिलेको छ।”

महासचिव खड्काका अनुसार गणेशलाई छिट्टै नेपाल फर्काउने तयारी थालिएको छ। “भारतीय कानुनी प्रक्रिया पूरा भएपछि उनलाई सुरक्षितरूपमा घर पठाइनेछ,” उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप