फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
काठमाडौँ । फिल्म र म्युजिक भिडियोका दृश्यमा सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् । सोमबार राजधानीमा आयोजित ‘दृश्यमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? भन्ने विषयको अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड दिइएको जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा .विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्ता विषय कम गर्दै लानुपर्नेमा जोड दिए ।
डा. देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्न आग्रह गरे । ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौँ । महिलाले कसैलाई सोच्नुहुन्छ होला’, उनले भने, ‘त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो । त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन् ।’ सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैँले त्यस्ता दृश्यका विकल्पमा संसारमै मानक बनाउने दृश्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे, ‘तपाईँहरू चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ ।’
विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनीकरण गर्न सकिने बताए । फिल्ममा देखाइएको दृश्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताउँदै उनले भने, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ । यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु । जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो ।’
चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे ।
फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे । तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो । उनले थपे, ‘’हामी जति फिल्म बनाउनेहरू छौँ । यसको असर थाहा छ। तर पनि हामी प्रयोग गरिरहेका हुन्छौँ । त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया सिनेमाभित्र कथाले मागेर नै यस्तो दृश्य राख्ने गरिएको पनि उनको तर्क थियो ।
यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे ।
म्युजिक भिडियो कलाकार सङ्घका पूर्व अध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृश्यहरू कटौती गर्दै लगिएको बताए । देखासिकीमा त्यस्ता दृश्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृश्यमा कटौती भइरहेको उनको भनाइ थियो ।
स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृश्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए । उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण