१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव

आज २०८२ असार ३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- उपकुलपति छनोट
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको तीन महिना बितिसक्दा पनि नयाँ नियुक्तिको प्रक्रियाले गति लिन सकेको छैन । नयाँ उपकुलपति छनोट तथा सिफारिस गर्न गठित समिति आफैँ प्रक्रियागत अलमलमा फसेपछि नियुक्तिमा थप ढिलाइ हुने देखिएको छ ।
- रुग्ण उद्योग
लामो समयदेखि नेपाली अर्थतन्त्रमा बहस र राजनीतिक खपतको विषय बन्दै आएका रुग्ण तथा बन्द सार्वजनिक संस्थानहरूको भविष्यबारे सरकार अन्ततः निष्कर्षमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेका सात वटा प्रमुख सार्वजनिक संस्थानहरू सञ्चालन गर्न आफू असक्षम रहेको स्वीकार गर्दै सरकारले तिनीहरूको लगानी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
- स्वास्थ्य क्षेत्रलाई उपेक्षा
स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका सरकारले चालु वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार सार्वजनिक गरिएको बजेटमा मधेस सरकारबाहेक अन्य प्रदेश सरकारले स्वास्थ्यमा बजेट घटाएका हुन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई केलाउँदा स्वास्थ्य मन्त्रालय रहेका प्रदेशहरूले समेत महत्त्व दिएको पाइएन ।
- किसानको पीडा
फत्तेपुरका सलिक हवारीले ३ वर्षअघि १ करोडमा किनेको जग्गा हालै ६० लाख रुपैयाँमा बिक्री गरेका छन् । तरकारी खेती गर्दा लागेको ऋण तिर्न नसकेपछि उनले ४० लाख घाटा खाएर जग्गा बिक्री गरेका हुन् ।
- माओवादी के गर्छ ?
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्षबिच दुई बुँदे सहमति भए पनि संसद्को अवरोध हट्न सकेको छैन । यस प्रकरणमा माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित १८ दिनसम्म संसद् बैठक अवरुद्ध गरेको थियो ।
- सरुवा
गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका जिल्लामा ‘पावर’ लगाएर प्रमुख जिल्ला अधिकार (सीडीओ) भई ‘मस्ती गरिरहेका’ पाँच उपसचिवलाई तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट सहसचिवको दरबन्दी भएका जिल्लामा सीडीओ भएका उपसचिवहरू दीर्घराज उपाध्याय, चोमेन्द्र न्यौपाने, सावित्रा पुन, रामबहादुर शाही र मोहनराज जोशीलाई मंगलबार तानिएको हो ।
- फिल्ममा लगानीको बाढी
नेपाली फिल्मको निर्माण दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्कले यस क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको सङ्केत गरेको हो । बोर्डमा गत वैशाखको तुलनामा जेठ महिनामा फिल्म निर्माण इजाजत लिनेको सङ्ख्या दोब्बरले बढेको छ ।
- धरान उपमहानगरपालिका तनावग्रस्त
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबिच तीन दिन अगाडि सुरु भएको विवाद चर्किँदै जाँदा त्यहाँ झडपको स्थिति सिर्जना भएको छ । नगर प्रमुख हर्क साम्पाङले श्रमदान भन्दै गरेको कामको डोर हाजिरी प्रमाणित गरेर भुक्तानी गर्न दबाब दिएपछि उपप्रमुख बेघाले असहमति जाहेर गरेका थिए ।
- इजरायलमा नेपालीले भाेगेकाे पीडा
इरान र इजरायलबिच चर्किरहेको युद्ध आफूहरूले देखेमध्ये सबैभन्दा भयानक र खतरनाक रहेको इजरायलमा बसोबास गरिरहेका नेपालीले बताएका छन् ।
- छुटे रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।