सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा

समाचार सारांश
- गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका जिल्लामा कार्यरत ५ उपसचिवलाई सरुवा गरेको छ, जसले सीडीओको रूपमा काम गरिरहेका थिए।
- मन्त्रीस्तरीय निर्णयअनुसार, केही उपसचिवलाई जगेडामा राखिएको छ भने केहीलाई सहायक सीडीओको रूपमा अन्य जिल्लामा पठाइएको छ।
- यस सरुवामा मन्त्रालयले जगेडामा रहेका ७ सहसचिवलाई पनि विभिन्न जिल्लाको सीडीओको जिम्मेवारी दिएको छ, जसमा गोरखा, इलाम, सल्यान, जुम्ला र डोटी लगायतका जिल्लाहरू छन्।
काठमाडौँ । गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका जिल्लामा ‘पावर’ लगाएर प्रमुख जिल्ला अधिकार (सीडीओ) भई ‘मस्ती गरिरहेका’ पाँच उपसचिवलाई तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट सहसचिवको दरबन्दी भएका जिल्लामा सीडीओ भएका उपसचिवहरू दीर्घराज उपाध्याय, चोमेन्द्र न्यौपाने, सावित्रा पुन, रामबहादुर शाही र मोहनराज जोशीलाई मंगलबार तानिएको हो ।
उपाध्याय बैतडीमा, न्यौपाने डडेलधुरामा, पुन सल्यानमा, शाही जुम्लामा र जोशी डोटीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । उपाध्याय, जोशी र न्यौपानेलाई गृह मन्त्रालयको जगेडामा तानिएको छ भने पुनलाई डडेलधुराको सहायक सीडीओ र शाहीलाई सप्तरीको सहायक सीडीओ बनाएर पठाइएको छ ।
मंगलबारको सरुवामा मन्त्री लेखकले मन्त्रालयमा जगेडामा रहेका सात सहसचिवलाई पनि जिम्मेवारी दिएका छन् ।
मन्त्रालयबाट रातोपाटीलाई प्राप्त सरुवा सूचीअनुसार जगेडामा रहेका सहसचिव रामुराज कडरियालाई गोरखाको सीडीओ बनाएर पठाइएको छ । सहसचिव सुनिता नेपाललाई इलामको सीडीओ, सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको सीडीओ, सहसचिव केदारनाथ शर्मालाई जुम्लाको सीडीओ, सहसचिव बासुदेव दाहाललाई रोल्पाको सीडीओ र सहसचिव बुद्धबहादुर गुरुङलाई डोटीको सीडीओ बनाएर पठाइको छ ।
मन्त्रालयमै १० जना सहसचिव जगेडा रहेकामा सात जनाले जिम्मेवारी पाएका हुन् । अझै पनि मन्त्रालयमा सहसचिवहरू तीर्थराज भट्टराई, लालबाबु कवारी र भरतमणि सुवेदी जगेडामा छन् ।
सहसचिव भट्टराईलाई जेठ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट मन्त्रालयमा तानिएको हो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ७ गते अध्यागमन कार्यालयमा छापा मारी नियन्त्रणमा समेत लिएको थियो ।
उनकै प्रकरणमा कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । यसबारे अझै कुरा मिल्न सकेको छैन ।
आज (मंगलबार) रोल्पाको सीडीओ बनाएर पठाइएका दाहाललाई चैत ८ गते सिरहामा महायज्ञका क्रममा दलित परिवारलाई उठीबास लगाएको घटनामा संवेदनशील नभएको भन्दै तानिएको थियो । जेठ १८ गते प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दा स्याङ्जाबाट नेपाल र धनुषाबाट कडरिया तानिएका थिए ।
आजको सरुवाबाट पनि केही सहसचिव र उपसचिव जगेडामा आएका छन् । आजको सरुवाबाट सहसचिवहरू कल्पना श्रेष्ठ, नरबहादुर थापा र लीलाप्रसाद शर्मा मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा आएका छन् । त्यस्तै उपसचिवहरू उपाध्याय, जोशी र न्यौपाने जगेडामा आएका छन् ।
यसअघि गृह मन्त्रालयले वैशाख १४ गते सहसचिव दरबन्दी भएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका उपसचिवहरू राजुप्रसाद पौडेल र नवराज जैशीलाई तानेको थियो ।
मन्त्रीस्तरीय निर्णयबाट रामेछापमा सीडीओ रहेका पौडेल र दैलेखमा सीडीओ रहेका जैशीलाई तान्दै रामेछापमा सहसचिव श्यामकृष्ण थापा र दैलेखमा सहसचिव बद्रीनाथ गैह्रेलाई सीडीओ बनाएर पठाइएको थियो ।
प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ ।
उक्त कार्यविधिको दफा ६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ भने बाँकी १६ जिल्लामा उपसचिवको दरबन्दी छ ।
ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, पूर्वी रुकुम, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, कालिकोट, म्याग्दी, रुकुम पश्चिम, बाजुरा, बझाङ र दार्चुलामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइन्छ ।
तथापि कानुनविपरीत पाँच उपसचिवलाई सहसचिवको दरबन्दी रहेका जिल्लामा सीडीओ बनाएर काम गर्न दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु