इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ

समाचार सारांश
- इजरायलमा बसोबास गरिरहेका नेपालीहरूले इरान र इजरायलबीचको युद्धलाई डरलाग्दो र खतरनाक रूपमा वर्णन गरेका छन्।
- इजरायलमा कार्यरत नेपालीहरू, विशेष गरी केयरगिभर र कृषि क्षेत्रमा संलग्नहरू, युद्धका कारण त्रसित छन् तर सुरक्षित आश्रयस्थलमा बसेका छन्।
- इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको सुरक्षाका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ र सुरक्षा प्रोटोकलहरू पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ । इरान र इजरायलबिच चर्किरहेको युद्ध आफूहरूले देखेमध्ये सबैभन्दा भयानक र खतरनाक रहेको इजरायलमा बसोबास गरिरहेका नेपालीले बताएका छन् ।
विगत केही दिनदेखि जारी यस द्वन्द्वमा दुवै देशले ठुलो जनधनको क्षति व्यहोरिरहेका छन् । इरानले इजरायलका विभिन्न सहरहरूलाई लक्षित गरी निरन्तर हवाई आक्रमण गरिरहेको छ, जसले त्यहाँका नेपाली समुदायमा त्रासको वातावरण सिर्जना गरेको छ ।
इजरायलमा हाल करिब साढे ५ हजार नेपाली कार्यरत छन्, जसमध्ये अधिकांश केयरगिभरका रूपमा र करिब ३ सय जना कृषि क्षेत्रमा संलग्न छन् । लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएका नेपालीले यस पटकको आक्रमण विगतका कुनै पनि द्वन्द्वभन्दा गम्भीर र जटिल प्रकृतिको भएको अनुभव सुनाएका छन् । यद्यपि, आफूहरू सुरक्षित रहेको उनीहरूको भनाइ छ ।
एनआरएनए एनसीसी इजरायलका महासचिव अलि महम्मद मियाका अनुसार इरानले प्रयोग गरिरहेका हतियारहरू निकै शक्तिशाली छन्, जसले इजरायलका केही क्षेत्रमा क्षति पुर्याएको छ । ‘इरानले हाइपरसोनिक र ब्यालेस्टिकजस्ता शक्तिशाली क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ, जसलाई रोक्न इजरायली प्रतिरक्षा प्रणाली (आइरन डोम) लाई समेत हम्मेहम्मे परेको देखिन्छ,’ मियाले भने ।
विगत १७ वर्षदेखि इजरायलमा बस्दै आएकी नितु खतिवडाले पनि हालको युद्ध पहिलाभन्दा निकै जटिल रहेको बताइन् । मनमा डर भए पनि सुरक्षा साइरन बज्नासाथ सुरक्षित आश्रयस्थलमा जाँदा सुरक्षित महसुस हुने उनले बताइन् । ‘अहिलेसम्म नेपाली वा अन्य विदेशी नागरिकहरूले देश फर्किनेबारे सोचेका छैनन् । हामी त्रसित छौँ, मन त अलि आत्तिएको छ । तर, रुममा जाँदा सुरक्षित भइन्छ ।’ खतिवडाले भनिन् ।
त्यस्तै विगत ९ वर्षदेखि कार्यरत काशीराम आलेले पनि सुरक्षा नियमहरूको पूर्ण पालना गर्दा सुरक्षित रहन सकिने बताए । उनका अनुसार सुरक्षा प्रणालीबाट अलर्ट साइरन आएपछि तोकिएको समयभित्र सुरक्षित स्थानमा पुग्न नसकेमा जोखिम बढ्ने खतरा रहन्छ ।
यसैबिच इजरायलस्थित नेपाली राजदूतावासले नेपालीको सुरक्षाका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । नेपाली राजदूत डा. धनप्रसाद पण्डितले युद्धका कारण इजरायलको जनजीवन सामान्य नरहेको बताए । उनका अनुसार स्कुल, कलेज, कार्यालय र व्यापार–व्यवसाय बन्द छन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् ।
राजदूत पण्डितले भने, ‘इरानबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरूलाई इजरायली प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गर्ने गरेको छ, तर त्यसका टुक्राहरू खस्ने जोखिम रहन्छ । युद्धका कारण नेपालीहरूमा त्रास हुनु स्वाभाविक हो, तर उहाँहरूले सुरक्षा प्रोटोकल अपनाएर आफ्नो दैनिकी चलाइरहनुभएको छ ।’
उनले अवस्था थप गम्भीर भएमा वा ठुलो क्षति भए नेपाल सरकारसँग समन्वय गरी आवश्यक कदम चालिने जानकारी दिए । सम्पर्कमा आएका नेपालीहरूले भौतिक रूपमा कुनै समस्या नभोगे पनि वरपर भएका विस्फोट र क्षतिका कारण मानसिक रूपमा भने त्रसित रहेको बताएका छन् ।
रातोपाटीको सम्पर्कमा आएका केहीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गरे भने केहीले फोटोसहित परिचय प्रकाशन गर्न सहमति जनाए ।
- रातोपाटीको सम्पर्कमा आएका केही नेपालीसँग गरिएको कुराकानीः
एनआरएनए एनसीसी इजरायलका महासचिव अलि महम्मद मिया
तपाईंले फोन गर्नुभन्दा १० मिनेटअघि मात्र साइरन बजेको थियो । साइरन बजेपछि सुरक्षित स्थानमा पुग्न १० मिनेटको समय हुन्छ । हिजो राति पनि करिब ३ बजे साइरन बजेको थियो, त्यसपछि मिसाइल आक्रमण भयो । यहाँ शान्ति छैन । साइरन बजेको १० मिनेटभित्र हामी सुरक्षित रूपमा बङ्करभित्र गइसक्नुपर्छ । म तेल अबिब नजिकै बस्छु । इरानले मुख्यतया तेल अबिब र हाइफालाई निशाना बनाइरहेको छ ।
हाइफा सैनिक इलाका हो र त्यहाँ ठूला–ठूला कम्पनीहरू छन् । यो इजरायलको सबैभन्दा ठूलो बन्दरगाह र प्रमुख सहरमध्ये एक हो । व्यापारिक केन्द्र भएकाले पनि हाइफालाई इरानले निशाना बनाएको देखिन्छ ।
हाइफाबाटै लडाकु विमानहरू पनि उड्छन् र आक्रमणका लागि जान्छन् । तेल अबिब सबै कुराको मुख्यालय जस्तै हो । पहिलेको राजधानीसमेत भएकाले इरानले हाइफा र तेल अबिबलाई केन्द्रबिन्दु बनाएर मिसाइल आक्रमण गरिरहेको छ ।
पहिले यस्तो थिएन । सन् २०२३ अक्टोबर ७ मा १० जना नेपाली मारिएका थिए, त्यसपछि खासै असर परेको थिएन । तर, अहिले विगतको तुलनामा निकै गम्भीर आक्रमण भइरहेको छ । अहिले इरानले शक्तिशाली मिसाइलहरू प्रहार गरिरहेकाले क्षति पुगेको छ । हाइपरसोनिक र ब्यालेस्टिकजस्ता मिसाइलहरू प्रहार गरिएका छन्, जसलाई रोक्न कठिन भइरहेको छ । इजरायली प्रतिरक्षा प्रणाली (आइरन डोम) ले समेत राम्ररी काम गर्न नसकेको देखिन्छ ।
सबैजना सुरक्षित रूपमा बङ्करभित्र बस्नुपर्ने भएकाले नेपालीहरूलाई खासै असर परेको छैन । सबै नेपालीहरू सुरक्षित नै छन् र म्यासेन्जर ग्रुपमा जोडिएका छन् । केही समस्या परेमा त्यहीँ (ग्रुपमा) सम्पर्क गर्नुहुन्छ ।
सुरुमा एउटा अलार्म बज्छ । त्यो बजेपछि सुरक्षित रूपमा बङ्करभित्र जानुपर्छ । त्यसपछि, सबै सुरक्षित भएको सङ्केत दिने अर्को अलार्म बजेपछि मात्र बङ्करबाट बाहिर निस्किनुपर्छ ।
आक्रमणका लागि आएका मिसाइलहरू आकाशमै निष्क्रिय पारिन्छ, तर त्यसबाट झरेका टुक्राहरूले असर गर्छन् । अहिले खसिरहेका ती टुक्राहरू पहिला हमासले हान्ने रकेटभन्दा पनि खतरनाक छन् । त्यसैले अहिले आईडीएफ (इजरायली रक्षा बल) को अनुमतिविना बाहिर निस्किन मिल्दैन । हामी सबैजना सतर्क र होसियार भएर बसेका छौं । अहिलेको सबैभन्दा सुरक्षित उपाय भनेको सरकारले दिएको नियम पालना गरेर बङ्करभित्र बस्नु हो ।
९ वर्षदेखि इजरायलमा बस्दै आएका काशिराम आले
यो युद्ध पहिलेको भन्दा खतरनाक नै छ, तर पनि हामी हालसम्म सुरक्षित छौं । यहाँको सुरक्षासम्बन्धी नियम पालना गरेसम्म हामी सुरक्षित रहन्छौं ।
सुरक्षा प्रणालीबाट अलर्ट आइसकेपछि सुरक्षित ठाउँमा जानुपर्छ । बङ्करहरू जताततै हुन्छन् । जुन क्षेत्रमा बम खस्ने सम्भावना हुन्छ, त्यतैतिर साइरन बज्छ र त्यो क्षेत्रमा सुरक्षित रहनुपर्छ । कतिपय बेला आकाशमा पड्किएको मात्रै सुनिन्छ भने कतिपय अवस्थामा तल पनि खसेका छन् ।
काम गर्ने माहोल सामान्य नै छ । घरमा काम गर्नेहरू यतिबेला घरमै बस्छन् । टाढाको कार्यस्थलमा जानेहरू प्रायः बिदामा बसिरहेका हुन्छन् ।
खासै कसैले घर फर्किने कुरा गरेका छैनन् । दूतावासले घर फर्किन चाहनेहरूलाई नाम टिपाउन भनेको छ, तर कसैले पनि फर्किने चाहना व्यक्त गरिसकेका छैनन् ।
म इजरायल आएको लगभग ९ वर्ष भयो । यहीँ बसेर लामो युद्ध झेलियो, तर पहिले यति डराउनुपर्ने अवस्था थिएन । अहिले इरान शक्तिशाली भएकाले डराउनुपर्ने अवस्था छ । इरानले इजरायलभित्रै आएर आक्रमण गर्न त सकेको छैन, तर टाढैबाट प्रहार गरिरहेको छ । यसको जवाफमा इजरायलले चाहिँ यहीँबाट फाइटर प्लेन पठाएर आक्रमण गरिरहेको छ ।
यदि इजरायली सरकारले ’हामी सुरक्षा दिन सक्दैनौं’ भन्नु परेको भए, अहिलेसम्म भनिसक्थ्यो होला । तर, अहिलेसम्म केही भनेको छैन ।
केयरगिभर चित्रबहादुर कार्की
म इजरायल बसेको तीन वर्ष भयो । मैले अहिलेसम्म यस्तो आक्रमण देखेको थिइनँ । सन् २०२३ मा हमासले गरेको आक्रमणको तुलनामा यो निकै खतरनाक छ, तर पनि हामी सुरक्षित नै बसिरहेका छौं ।
प्रायःजसो बेलुकी ७–८ बजेतिर र बिहान ३–४ बजेतिर उताबाट आक्रमणको सूचना आउने गरेको छ । त्यसपछि सुरक्षित स्थानतिर जानुपर्छ ।
सूचना आएपछि केयरगिभरको रूपमा काम गर्नेहरूले आफूले हेरचाह गर्ने बिरामीलाई लगेर बङ्करतिर जानुपर्छ । अन्य क्षेत्रमा काम गर्नेहरू पनि त्यहीअनुसार सुरक्षित स्थानमा जान्छन् । घरमा काम गर्नेले आफूले हेरचाह गर्ने एक–दुई जनालाई पनि सुरक्षित रूपमा लैजानुपर्छ । बेलुकी सुतेको बेलामा पनि सूचना आयो भने उनीहरूलाई सुरक्षित क्षेत्रमा लैजानुपर्छ ।
साइरन बजेपछि तयारीका लागि केही समय दिइन्छ । त्यो समयभित्र तयारी गरेर बङ्करमा पुगियो भने सुरक्षित भइन्छ ।
हमाससँगको युद्धभन्दा अहिले अलि बढी डर छ, किनभने यो पटक–पटक भइरहेको छ । तेल अबिबमा मानिसहरूको मृत्यु पनि भयो र घरहरूमा समेत क्षति पुगेको छ ।
अघिल्लो पटक हमास र हिज्बुल्लाहसँगको द्वन्द्वमा मिसाइलहरू जमिनमा खासै खसेका थिएनन् । अहिले जमिनमा खसेका छन्, धेरै घरहरू भत्किएका छन् र मानिसहरू पनि मरेका छन् । जसले गर्दा त्रास अलिकति बढी नै छ । वार्ताको माध्यमबाट समाधान भयो भने ठीकै छ, नत्र युद्ध लम्बिने देखिन्छ ।
नेपालीहरू घर तथा केयर सेन्टरमा काम गर्ने भएकाले धेरै हदसम्म सुरक्षित छन्, किनकि बाहिर खासै निस्किनु पर्दैन ।
कृषि फार्ममा काम गर्नेहरूका लागि भने केही समस्या देखिन्छ । उहाँहरूलाई पनि सङ्केत आउनासाथ रोजगारदाता (साहु) गाडी लिएर आएर सुरक्षित ठाउँमा लैजाने गर्छन् । तर, टाढाको खेतबाट फर्काएर ल्याउन समय लाग्ने हुँदा कृषि क्षेत्रमा काम गर्नेहरूमा केही बढी डर छ । कृषिमा काम गर्ने नेपालीहरू करिब ३०० को हाराहारीमा छन् ।
दूतावासले पनि सूचना निकालेर सुरक्षित रहन र सुरक्षाका उपायहरू अपनाउन भनेको छ । होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ । घरमा काम गर्नेहरूको हकमा पनि सुरक्षित रहन सूचना जारी गरिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत