बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
धरान उपमहानगरपालिका तनावग्रस्त

धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?

उपमहानगरपालिका कार्यालय परिसर केही दिनदेखि तनावग्रस्त
मङ्गलबार, ०३ असार २०८२, २० : ४३
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच श्रमदानको भुक्तानीलाई लिएर विवाद हुँदा झडपको स्थिति सिर्जना भयो।
  • मेयर साम्पाङले श्रमदानको नाममा कामको भुक्तानी गर्न दबाब दिएपछि उपमेयर बेघाले कानुनी व्यवस्था नभएको भन्दै असहमति जनाएका थिए।
  • विवाद चर्किँदै जाँदा मेयर साम्पाङका समर्थक र उपमेयर बेघाका समर्थकबीच झडप भएको थियो, जसमा केही माओवादी समर्थक घाइते भएका थिए।

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबिच तीन दिन अगाडि सुरु भएको विवाद चर्किँदै जाँदा त्यहाँ झडपको स्थिति सिर्जना भएको छ । 

नगर प्रमुख हर्क साम्पाङले श्रमदान भन्दै गरेको कामको डोर हाजिरी प्रमाणित गरेर भुक्तानी गर्न दबाब दिएपछि उपप्रमुख बेघाले असहमति जाहेर गरेका थिए । त्यसपछि उत्पन्न विवादले उग्र रूप लिँदै जाँदा मंगलबार दिउँसो भने झडप हुने स्थिति बनेको थियो । स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा विजयी बनेका साम्पाङका समर्थक र माओवादीबाट उम्मेदवार बनेर उपप्रमुख बनेका बेघाका समर्थकबिच मंगलबार दिउँसो उपमहानगरपालिका कार्यालय परिसरमा घम्साघम्सी समेत भएको छ । साम्पाङका केही समर्थकले माओवादी समर्थकको कुटाइसमेत खाएको बताइएको छ । 

Dharane (6)

उपप्रमुख बेघाले प्रमुख साम्पाङले बजेट तथा कार्यक्रममा नभएको, कार्यक्रम सम्झौता समेत नभएको र श्रमदानको भुक्तानी दिने कुनै कानुनी व्यवस्था नभएकोले भुक्तानी गर्न नसक्ने बताएका थिए । त्यसपछि विवाद उत्पन्न भएको बेघाले बताए । ‘श्रमदान भनेर गरिएको कामको भुक्तानी हुन नसक्ने भनेपछि प्रमुखज्यू र उहाँका समर्थकले बल प्रयोग गर्ने कोसिस गरे,’ बेघाले भने, ‘श्रमदान गरेको पैसा भुक्तानी हुँदैन । बरु श्रमदान गर्नेहरूलाई नगरपालिकाले उच्च सम्मानका साथ सम्मानपत्र दिन सक्छ ।’

अब तपाईँले भनेको हुन्छ कि प्रमुखज्यूले भनेको कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा उपप्रमुख बेघाले भने, ‘कानुन, विधि र प्रक्रिया पुरा गरेर हुन्छ । यहाँ कोही व्यक्तिले भनेर हुँदैन ।’ सोमबार पनि उपप्रमुख बेघालाई प्रमुख साम्पाङका समर्थकले हातपात गर्न खोजेका थिए । सोही समूहले मंगलबार पनि बेघालाई घेराउ गर्न ११ बजे नगरपालिका पुगेका थिए । बेघाको कार्यकक्षमा पुगेका उनीहरूले विवाद गरिरहँदा बेघा पक्ष माओवादी कार्यकर्ताहरू आइपुगेपछि दुई समूहबिच झडपको स्थिति बनेको थियो । साम्पाङको समूहले डोजर, स्काभेटरको चाबी माग्न भन्दै उपप्रमुखको कार्यकक्षमा पुगेको थियो । ‘उहाँहरूले चाबी लिन आउनु भयो । मैले किन दिने भनेँ । उहाँहरूलाई सम्झाई बुझाइ पनि गरेँ । त्यहीबिचमा हाम्रा साथीहरू पनि आउनु भयो । त्यसपछि केही समय विवादजस्तो भयो । यो सबै प्रमुखज्यूबाट भएको हो,’ उपप्रमुख बेघाले भने ।

नगरपालिकाको डोजर, स्काभेटरको चाबी नगर प्रमुख साम्पाङ, उपप्रमुख र कार्यालय स्टोरमा १/१ वटा रहन्छ । प्रमुख तथा उनका समर्थकले जथाभाबी प्रयोग गर्न थालेपछि दुरुपयोग रोक्न केही दिनदेखि आफूसँग भएको र कार्यालयको चाबी कसैलाई दिन रोक लगाएको उनले बताए । साम्पाङले भने श्रमदान गर्ने नाममा नगरपालिकाको डोजरहरू प्रयोग गर्दै आएका थिए । 

धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले नगर प्रमुख हर्क साम्पाङले ठाडो हस्तक्षेप गर्दै कानुन विपरीत वडाका समुदायसँग सरोकार नराखी आफै उपभोक्ता समिति बनाउँदै आफूखुसी गरेको आरोप लगाए । वडामा निर्माणाधीन बहुभाषिक पाठशाला बाढीबाट जोगाउन तार जाली लगाउने कार्यमा प्रमुख साम्पाङले ठाडो हस्तक्षेप गरी आफैँ नजिकका मानिसलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको बताए । 

धरानको मेयरमा निर्वाचित भएदेखि हर्क साम्पाङले ‘श्रमदान’ भन्दै विभिन्न काम गर्दै आएका छन् । त्यसको लागि उनले देश तथा विदेशबाट करोडौं रुपैयाँ पनि सङ्कलन गर्दै आएका छन् । श्रमदान भनेर प्रचार गरिएको आयोजनामा साम्पाङले उपभोक्ता समितिमार्फत उपमहानगरमा बिल पेस गरेर भुक्तानीको दबाब दिएका थिए । श्रमदान भनिएको आयोजनाको निर्माणमा डोर हाजिरी फाराम भराएर ज्याला दिएको कागज पेस गरिएको छ । उपभोक्ता समिति पनि साम्पाङले आफूनिकट र समर्थकलाई राखेर बनाएका छन् ।

सर्दु खोला नियन्त्रणका लागि धरान–१६ मा चलाएको श्रमदान अभियानको लागि भन्दै १ लाख ४८ हजार ५ रुपैयाँ भुक्तानीका लागि उपमहानगरमा बिल पेस गरिएको छ । मेयर साम्पाङले धरान १६ को बहुभाषिक विद्यालय संरक्षणका लागि चलाएको श्रमदान अभियानबाहेक धरानमा बनाउने भनिएको साबुन फ्याक्ट्री र बेसार उद्योग सञ्चालनका लागि चलाएको श्रम अभियानमा पनि समर्थकलाई डोर हाजिरी बिल पेस गर्न लगाएका थिए । उपमहानगरबाट त्यसको ज्याला भने निकासा भइसकेको बुझिएको छ ।

Dharan (1)

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले भने डोर हाजिरीको विषय आफूलाई थाहा नभएको दाबी गरेका छन् । स्थानीय तहमा विकासे आयोजना सम्पन्न गर्दा उपभोक्ता समिति गठन हुने र उपभोक्ता समितिमार्फत काम गराउँदा डोर हाजिरी गराउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

यसअघि श्रमदान भन्दै मेयरले चलाएको अभियानको चौतर्फी प्रशंसा भएको थियो । अभियानको लागि भन्दै करोडौं सहयोग देश तथा विदेशबाट उठेको थियो । त्यो सहयोगको खर्च पारदर्शिताबारे प्रश्न उठ्दा साम्पाङले त्यो नगरपालिकाको बजेट नभएको भन्दै पन्छाउने गरेका थिए । 

अहिले श्रमदान भनिएको कामको डोर हाजिरी गरी भुक्तानी मागेर बिल नै पेस भएपछि उनको अभियान प्रचारका लागि मात्रै भएको देखिएको छ । साम्पाङले भने श्रमदान अभियानमा पनि उपभोक्ता समिति बन्ने गरेको जिकिर गरेका छन् । अर्को भिडियो सन्देश जारी गर्दै उनले डोर हाजिरीको फोटो विरोधीले अफवाह फैलाएको आरोप लगाएका छन् ।

धरान उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष सूर्यप्रसाद भट्टराईले विधि र प्रक्रियाभन्दा बाहिर गएर मेयर धरानमा मुठभेडको अवस्था निम्ताएको बताए । प्रमुख साम्पाङले भने खोला कुनै पनि वडाको नहुने बताउँदै काम गर्ने मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको जिकिर गरेका छन् ।

उपभोक्ता समितिमार्फत १७ लाखको काम ७ लाख रुपैयाँमा सम्पन्न भएको उनको दाबी छ । ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।

मेयर साम्पाङका समर्थकले श्रमदानबाट भएको काममा पनि डोर हाजिरीको भुक्तानीका लागि पेस गरेको जानकारी दिँदै बेघाले वडा र उपमहानगरलाई जानकारी नभएको तथा बजेटमा उल्लेख नभएको योजनाको अनुगमन नगर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप