बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
नेपाली चलचित्र

फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा

मङ्गलबार, ०३ असार २०८२, १६ : ००
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • नेपाली फिल्म निर्माणमा वृद्धि भएको छ, नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्कले देखाएको छ।
  • वैशाखको तुलनामा जेठमा फिल्म निर्माण इजाजत लिनेको सङ्ख्या दोब्बरले बढेको छ, जसले गत वर्षको बक्स अफिस सफलतालाई प्रतिबिम्बित गर्दछ।
  • जेठ महिनामा ३६ फिल्मले निर्माण इजाजत लिएका छन्, जसमा 'रातो पासपोर्ट', 'लुछाचुँडी' लगायतका विभिन्न शीर्षकहरू छन्।

काठमाडौँ । नेपाली फिल्मको निर्माण दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्कले यस क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको सङ्केत गरेको हो । बोर्डमा गत वैशाखको तुलनामा जेठ महिनामा फिल्म निर्माण इजाजत लिनेको सङ्ख्या दोब्बरले बढेको छ ।

गत वर्ष (२०८१) मा नेपाली बक्स अफिसमा देखिएको फिल्म व्यवसायको उछालले यो वर्षको सुरुवातदेखि नै प्रभाव देखिएको हो । गत वर्ष एक ब्लकबस्टर, तीन सुपरहिट, चार हिट र पाँच वटाका फिल्मको लगानी सुरक्षित गरेर १३ फिल्म सफल ठहरिएका थिए ।

बोर्डका अनुसार, वैशाखमा दर्तासहित १९ फिल्मले निर्माण इजाजत लिएकोमा जेठ महिनामा यो सङ्ख्या बढेर ३६ पुगेको छ । जेठमा अघिल्लो महिनाको तुलनामा दोब्बरले फिल्म निर्माण बढेको देखिएको हो । नेपालमा फिल्म निर्माणपूर्व बोर्डमा दर्ता गरेर निर्माण इजाजत पत्र लिनैपर्ने प्रावधान छ ।

जेठमा निर्माण इजाजत लिने फिल्ममा रातो पासपोर्ट, लोभी पापी, बब दाइ, मिःम्लेन फुङ, मिम्जी फुङ, गोबर गणेश, डियर महारानी, पाण्डेको वान डे, लज्जावती, छल कपट, बाटुलो जुन, एक दुई तीन, सुख–दुख, पारी बुटोल, दारासिङ, जयन्ती, पथलैया, कश्यप, स्वर्गीय सिंगे, भद्रकाली, राधा पियारी, प्रतिवैरम, परीवेश, कुम्भ, तथास्तु, क्याप्टेन कालिका, आहुती–२, गैरी खेत, अस्तु, वाकस, सतिघाटु, शुभ विवाह,चालिस कटेसी रमाउँला, इँटा भट्टा, चिट्ठा, लुछाचुँडी लगायत रहेका छन् ।

जेठमा निर्माण इजाजत लिने पहिलो फिल्म सिवर्डस पिक्चर्स प्रा.लिको रातो पासपोटहो भने अन्तिम इजाजत लिने फिल्म श्याम शुक्ला फिल्म प्रोडक्सन प्रा.लिको मिराज मोशन फिक्चर्स प्रालिको लुछाचुँडी रहेको छ ।

  • को–को बनाउँदै छन् नयाँ फिल्म ?

जेठमा फिल्म निर्माण अनुमति लिने निर्माता/निर्देशकमा नयाँ पुराना दुवै खालका छन् । केहीले त डेब्यु गर्न खोजेको पनि देखिन्छ ।

movie-list

आधा अर्ब लगानी घोषणा

जेठमा फिल्म निर्माण इजाजत लिँदा निर्माताहरूले एकै महिनामै झन्डै आधा अर्ब (५० करोड) रुपैयाँ बराबरको लगानी घोषणा गरेका छन् । जेठमा निर्माण इजाजत लिएका ३६ मध्ये ३४ वटा फिल्मले मात्र लगानी घोषणा गरेका छन् । ती घोषणा भएको लगानी जोड्दा ४९ करोड ७६ लाख ७० हजार रुपैयाँ हुन आउँछ । दुई फिल्मले भने लगानी घोषणा गरेको छैनन् ।

लगानी घोषणा अनुसार सानादेखि ठुला बजेटसम्मका फिल्म निर्माण हुन देखिएको छ । यी फिल्ममा सबैभन्दा बढी लगानीमा फिल्म ‘तथास्तु’ बन्ने देखिएको छ । सेभेन प्रोडक्सन प्रालिको ब्यानरमा अरुण ब. स्याङ्ताङ निर्माता रहेको फिल्मको निर्देशक राज पौडेल र राज थापा हुन् । फिल्मको निर्माण लागत ५ करोड ४० लाख बताइएको छ ।

त्यस्तै, सबैभन्दा कम बजेटको फिल्म ‘बाटुलो जुन’ रहेको छ । सनराइज फिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता जिया केसी र निर्देशक भुवन केसी रहेका छन् । भुवन केसी, जिया केसी र अनमोल केसी कलाकारको रूपमा रहेको फिल्मको बजेट २५ लाख घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप