मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ ।
- सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले मध्यराति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाएका हुन् ।
- सत्ता साझेदार दलहरूबीच बजेटको सिलिङ र योजनाका विषयमा सहमति जुट्न ढिलाइ हुँदा बजेट भाषण मध्यराति सुरु भएको थियो ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ ।
झण्डै ७ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले बैठक बहिस्कार गरेका हुन् । बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद मानबहादुर धामीले मध्यराति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाए ।
उनले सरकारको यो कदमले प्रदेश सभाकै अपमान र लाजमर्दो अवस्था सिर्जना गरेको भन्दै आफूहरू यस्तो प्रक्रियामा सहभागी नहुने घोषणा गरे ।
‘सरकारले नाटक गर्यो, समयमै किन बजेट पेस गर्न सकेन ? मध्यराति बजेट ल्याएर के देखाउन खोजिएको हो ? विगत तीन वर्षमा आजसम्म कुन कानुनले छेकेको थियो ? कुन आन्दोलनले रोकेको थियो ? बेलैमा बजेट ल्याउन नसक्नु सरकारको असफलता हो । हामी यो नाटक हेरेर बस्दैनौँ, बैठक बहिस्कार गर्छौँ,’ उनले भने ।
सांसद धामीले सम्बोधन सकेलगत्तै नेकपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।
प्रतिपक्षको बहिस्कार र विरोधबिच आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटको सिलिङ र योजनाका विषयमा कुरा नमिल्दा सोमबार दिनभर अन्योल छाएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले राखेका मागहरूमा मुख्यमन्त्री कमलबहादुर शाह सकारात्मक बनेपछि राति अबेर मात्रै सहमति जुटेको थियो ।
सहमतिलगत्तै मन्त्रिपरिषद् बैठक बसेर बजेट पारित गरिएको थियो । त्यसपछि मात्रै मुख्यमन्त्री र मन्त्रीहरू बजेटको ब्रिफकेस लिएर प्रदेश सभा हलमा पुगेका थिए ।
यसअघि साँझ ५ बजेका लागि तय गरिएको बजेट भाषण दलहरूबिचको आन्तरिक खिचातानीका कारण मध्यराति मात्रै सुरु हुन सकेको हो । प्रतिपक्षको बहिस्कारका कारण संसद हलमा सत्ता पक्षका सांसदहरू मात्रै उपस्थित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण