बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’

राजनीतिक प्रशिक्षण जरुरी छ : भानुभक्त ढकाल
बुधबार, ०४ असार २०८२, २१ : ३०
बुधबार, ०४ असार २०८२

काठमाडौं । नेकपा एमालेका जनसंगठनहरुमा आफुखुसी निर्णय हुने गर्दा समस्या देखिएको छ । एमाले स्थायी समितीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले यस्तो समस्या आएको बताएका हुन् । 

साथै उनले जनसंगठनका केन्द्रीय  पदाधिकारीहरुलाई राजनीतिक प्रशिक्षण जरुरी भएको बताएका छन् ।

जनसंगठन संयन्त्रको बुधबार बसेको बैठकमा बोल्दै ढकालले कतिपय जनसंगठनमा संस्थागत निर्णय नगरी आफुखुशी कामहरु गर्ने र केही महिना पछि समस्या आएको बताएका हुन् ।

‘कुनै संगठनमा अध्यक्ष र महासचिवको मन मिल्ला,कुनैमा अध्यक्ष उपाध्यक्षको मन मिल्ला त्यस्तो बेला अनौपचारिक निर्णय गरेर संगठनका काम नगर्नुहोस’ ढकालले निर्देशन दिंदै बैठकमा भने, ‘मन नमिलेका दिन ति सबै निर्णयले विवाद निम्त्याउछन् । त्यसैले जतिसुकै मन मिले पनि नमिलेपनि औपचारिक निर्णय गरेर काम गर्नुहोस ।’

कतिपय जनसंगठनमा बस्ने नयाँ वा पुराना पदाधिकारीलाई पनि राजनीतिक र व्यवशायिक प्रशिक्षण नपुगेको महसुष आफूलाई भएको पनि ढकालको भनाइ छ ।

संगठन कसरी सञ्चालन गर्ने,विधी कसरी बनाउने,बैठक कसरी सञ्चालन गर्ने,पार्टीका आधारभुत ज्ञानहरु कसरी प्राप्त गर्ने भन्ने कुरा जनसंगठनका पदाधिकारीलाई जानकारी लिनु पर्ने नेता ढकालको भनाइ छ ।

साथै उनले जनसंगठनले पार्टीको ‘चेन अफ कमाण्ड’ पनि बुझ्नु पर्ने,जनसंगठन भन्दा माथी इन्चार्ज हुने,इन्चार्ज भन्दा माथी जनसंगठन संयन्त्र हुन्छ भन्ने कुराको आधारभुत ज्ञान पदाधिकारीलाई राख्न पनि उहाँले सचेत गराएका छन् ।

जनवर्गीय संगठनहरुले मुलत पार्टीका गतिविधीलाई ब्यापक बनाउने र पार्टीप्रति आकर्षण गराउने काम गर्नुपर्नेमा जोड दिदै जनसंगठनमा आवद्ध भएको कार्यकर्ता उमेर र ज्ञानका हिसाबले पनि सधैं सक्रिय हुनुपर्ने बताए ।

‘कतिपय महाधिवेशनमा पद लिने बेलामा भेटिने काम गर्ने बेलामा भेटिदैनन्’ ढकालले भने, ‘कतिपयले पद पनि मैले लिने काम पनि मैले गर्ने भन्ने हुन्छ र भन्ने जस्ता प्रश्न पनि गर्छन् । त्यसैले यस्ता कार्यकर्तालाई प्रशिक्षित गराएर पद लिए बापत अरु भन्दा बढी काम आफूले गर्नुपर्दछ भन्ने भावना विकास गराउन जरुरी छ ।’

महाधिवेशन भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष र महासचिवको सहभागितामा भएको बैठकमा निर्वतमान अध्यक्षलाई विदाइ गरिएको थियो भने नयाँ निर्वाचित अध्यक्षलाई स्वागत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप