डा. केशव श्रेष्ठको पुकार, प्रणाली र हाम्रो दायित्व
हालै डा. केशव श्रेष्ठले सामाजिक सञ्जालमा व्यक्त गरेको हृदयविदारक सन्देश र त्यसपछिको घटनाले हाम्रो समाज र राज्य संयन्त्रमा गहिरो घाउ देखाएको छ । कार्यस्थलमा भोगेको भनिएको चरम दुव्र्यवहार, भ्रष्टाचारको जालो र जवाफदेहिताविहीन प्रशासनको पीडाले एक समर्पित चिकित्सकलाई आत्महत्याको प्रयाससम्म पुर्याउनुले हामी सबैलाई झस्काएको छ । यो एक व्यक्तिको निजी पीडा मात्र होइन बरु हाम्रो प्रणालीगत कमजोरी, मानसिक स्वास्थ्यप्रतिको उपेक्षा र सामाजिक सञ्जालको असंवेदनशील प्रयोगको ज्वलन्त उदाहरण हो । यो घटनाले हामीलाई गम्भीर आत्मसमीक्षा गर्न र अगाडिको बाटो खोज्न बाध्य बनाएको छ ।
डा. श्रेष्ठको कथा सुन्दा जो कोहीको मन रुन्छ । आमाको अथक् संघर्षबाट डाक्टर बनेका उनले नेपाल प्रहरी हुँदै बागमती प्रदेश लोकसेवा आयोगबाट नाम निकालेर सार्वजनिक सेवामा प्रवेश गरेका रहेछन् । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा २५ महिना सेवा गर्दा १८ महिना नेतृत्व सम्हालेको र अस्पताललाई देशकै उत्कृष्टमध्ये एक बनाउन दिन–रात खटेको उनको भनाइ छ । आफूले अस्पतालमा सुशासन कायम गर्न र अनियमितता रोक्न खोज्दा कामचोर, ठग र प्रणालीमा नबस्ने कर्मचारीहरूलाई भागाभाग बनाएकामा उनी गर्व गर्छन्; यही इमानदारिता र कर्तव्यनिष्ठा नै उनका लागि अभिशाप बन्यो ।
उनको आरोप छ कि रामेछाप अस्पतालबाट सरुवा भएका डा. गगन अधिकारी र रामेछाप– ८ का केदार कार्कीले आफूविरुद्ध झुटा आरोपहरूको तानाबाना बुने । केदार कार्कीले पैसा मागेको र उनैले भनेको कार्यालय सहयोगीलाई जागिर नदिएको झोँकमा उनकै नेतृत्वमा आफूमाथि षड्यन्त्र रचिएको श्रेष्ठको दाबी छ । एप्रन नलगाएको विषयमा प्रश्न गर्दा एक डाक्टरले मुखमुखै लागेको र सोही दिन केदार कार्कीलाई बोलाएर आफ्नो कार्यकक्षमा धम्की दिएको, हात हाल्न खोजेको र तीन दिनभित्र सरुवा नगरे आफ्नो नाम केदार होइन भनी चुनौती दिएको घटनाले कार्यस्थलमा कस्तो भयावह वातावरण थियो भन्ने देखाउँछ । केदारले भनेबमोजिम अस्पताल चलाउनुपर्ने, उनको होटलको बिल तिर्नुपर्ने र विज्ञापन गर्दा उनकै मान्छे राखिदिनुपर्ने दबाबले स्पष्ट पार्छ कि सार्वजनिक सेवामा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले गहिरो गरी जरा गाडेको छ ।
डा. श्रेष्ठको सबैभन्दा ठुलो पीडा त यो थियो कि उनले आफ्नो कुरा राख्न खोज्दा स्वास्थ्य मन्त्रालयका मन्त्री र सचिव कसैले पनि सुनेनन् । १६ वटा टाँका लगाएको शरीर, श्रीमती र दुई वर्षकी छोरीसहित राति ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारिनु र बिहान ४ बजे काठमाडौँ आइपुगेर ८ बजे फेरि हाजिर हुन हेटौँडा लाग्नुपर्ने अवस्थाले उनले भोगेको अमानवीय व्यवहारको पराकाष्ठा देखाउँछ । नयाँ निमित्त मेसुलाई हाजिर गराउन सीडीओ कार्यालयमा फोन गर्ने मन्त्रालयले उनको सुरक्षाका लागि किन चासो देखाएन भन्ने उनको प्रश्नले राज्यको संवेदनहीनतामाथि प्रश्नचिह्न खडा गर्छ । स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानवीय व्यवहार गरेको, बर–बुझार्थ केही नगरी गाडी खोसेको र अलपत्र पारेको उनको आरोपले सार्वजनिक प्रशासनमा व्याप्त बेथिति र जवाफदेहिताको अभावलाई छर्लङ्ग पार्छ । डा. नरेन्द्र झा र रेवती थापाको आर्थिक चलखेलमा आफूलाई सरुवा गरिएको उनको दाबीले भ्रष्टाचारको जालो कति बलियो छ भन्ने देखाउँछ ।
एप्रन नलगाएको विषयमा प्रश्न गर्दा एक डाक्टरले मुखमुखै लागेको र सोही दिन केदार कार्कीलाई बोलाएर आफ्नो कार्यकक्षमा धम्की दिएको, हात हाल्न खोजेको र तीन दिनभित्र सरुवा नगरे आफ्नो नाम केदार होइन भनी चुनौती दिएको घटनाले कार्यस्थलमा कस्तो भयावह वातावरण थियो भन्ने देखाउँछ ।
‘म मानसिक रूपमा कमजोर हुन पुगेँ, अहिले विक्षिप्त हुन पुगेको छु’ भन्ने डा. श्रेष्ठको भनाइले कार्यस्थलको तनाव र प्रणालीगत असफलताले निम्त्याउने गम्भीर मानसिक पीडालाई दर्शाउँछ । नेपालमा मानसिक स्वास्थ्य सेवा अझै पनि उपेक्षित क्षेत्र हो, विशेष गरी ग्रामीण भेगमा यसको पहुँच अत्यन्तै सीमित छ । सामाजिक लाजलज्जा, पूर्वाग्रह र गलत धारणाहरूका कारण धेरै मानिस आफ्नो मानसिक समस्या लुकाउँछन् र उपचार खोज्न हिचकिचाउँछन्, जसले समस्यालाई झन् जटिल बनाउँछ । मानसिक रोगका कारण करिब ६७ प्रतिशत आत्महत्याका घटना हुने गरेको तथ्याङ्कले यो गम्भीर समस्यालाई औँल्याउँछ । डा. श्रेष्ठको घटनाले कार्यस्थलमा मानसिक स्वास्थ्यको सुरक्षाका लागि कडा नीति र सहयोग प्रणालीको आवश्यकतालाई जोड दिएको छ ।
सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न अंग बनेको छ, जसले डा. श्रेष्ठको मार्मिक पुकारलाई सार्वजनिक ध्यानमा ल्याउन र उनको सकुशल उद्धारमा समेत महत्त्वपूर्ण भूमिका खेल्यो । यो यसको सकारात्मक पक्ष हो, जहाँ सूचनाको द्रूत प्रवाहले जीवन बचाउन सक्छ तर उनको सकुशल प्राप्तिपछि सामाजिक सञ्जालमा देखिएको ‘ट्रोलिङ’को लहरले हामीलाई स्तब्ध बनाएको छ । विषयवस्तुको गाम्भीर्यतालाई बुझेर संवेदनशीलता देखाउनुको सट्टा, उडाउने र खिसीट्युरी गर्ने प्रवृत्तिले हाम्रो सामाजिक चेतनाको स्तर कति दयालाग्दो छ भन्ने पुष्टि गर्छ । यो निन्दनीय व्यवहारले मानसिक पीडामा रहेका व्यक्तिलाई थप चोट पुर्याउँछ र साइबरबुलिङको भयावह रूपलाई उजागर गर्छ । झुटा सूचना, अफवाह र चरित्र हत्याले मानसिक हिंसा र सामाजिक बहिष्कार निम्त्याउँछ; जसले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्छ । आत्महत्याजस्ता संवेदनशील विषयमा समाचार रिपोर्टिङ गर्दा अन्तर्राष्ट्रिय नैतिक दिशानिर्देशहरूको पालना नगर्नु र सनसनीपूर्ण प्रस्तुति दिनुले जनस्वास्थ्यका लागि गम्भीर जोखिम निम्त्याउँछ, किनकि यसले अनुकरण गर्ने प्रवृत्तिलाई बढावा दिन सक्छ ।
डा. केशव श्रेष्ठको यो मार्मिक घटनाले हामीलाई धेरै पाठ सिकाएको छ । अब राज्यले ढिलाइ गर्नु हुँदैन । उनको आरोपमाथि तत्काल, स्वतन्त्र र पारदर्शी छानबिन गरिनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ । सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिक हस्तक्षेप रोक्नका लागि नीतिगत र व्यावहारिक सुधारहरू अपरिहार्य छन् । इमानदार कर्मचारीलाई संरक्षण गर्ने र सूचनादातालाई प्रोत्साहन गर्ने कानुन तत्काल आवश्यक छ ।
यसका साथै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै यसको सेवा विस्तार गरिनुपर्छ । कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहारविरुद्ध कडा नीति र कार्यान्वयन संयन्त्र आवश्यक छ । सञ्चारमाध्यम र सर्वसाधारणले आत्महत्या र मानसिक स्वास्थ्यसम्बन्धी समाचार रिपोर्टिङ गर्दा नैतिक दिशानिर्देशहरूको पालना गर्नुपर्छ । सामाजिक सञ्जालमा समानुभूतिपूर्ण र जिम्मेवार व्यवहार अपनाउनु आजको आवश्यकता हो ।
डा. श्रेष्ठको पीडालाई केवल एक व्यक्तिको समस्याका रूपमा मात्र नहेरी यसलाई समग्र प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ । हामी सबैको दायित्व हो कि यस्तो घटना फेरि नदोहोरियोस् । न्यायपूर्ण, जवाफदेही र सहानुभूतिपूर्ण समाज निर्माणका लागि आजैबाट हातेमालो गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण