बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कथा

लोहारपट्टीवाली

शनिबार, ०७ असार २०८२, १७ : ००
शनिबार, ०७ असार २०८२

सारांश

  • समाचारमा लोहारपट्टीवाली नाम गरेकी महिलाको कथा प्रस्तुत गरिएको छ, जसले छोरा जन्माएपछि मृत्युवरण गर्छिन्।
  • महिलाले छोरी मात्र जन्माएको कारणले लोग्ने र परिवारबाट पाएको दुर्व्यवहार र उनले भोगेका पीडाहरूको वर्णन गरिएको छ।
  • लेखकले महिलाको मृत्युलाई समाजमा महिलाको अवस्था र उनीहरूको दुःखसँग जोडेर प्रश्न उठाएका छन्।

म कोठाबाट बाहिर निस्कन्छु र पिँढीमा राखेको चटाइमा बस्छु । जाडो महिनाको तराईको एक साँझ, बत्ती नभएको गाउँ, सूर्य अस्ताइसके तापनि अँध्यारो भइसकेको छैन । पर खेतमा पहेँला फूल फुलेका बोटहरू लहरै उभिएका छन् ।

ट्युबवेलमा पानी लिन आउनेहरू कम भइसकेका छन् । घर–घरपिच्छे घुर बाल्न सुरु गरेकाले, धुँवाले सम्पूर्ण वातावरणलाई नै धुमिल पारेको छ । कोही कोही खेतबाट बयल लिएर फर्कंदै छन् । परबाट लोहारपट्टीवाली आउँदै छ । उसले बायाँ कम्मरमा एउटी बच्ची बोकेकी छ, दायाँ औँलामा अर्की समाएकी छ, फेरि अर्कीले उसको धोती समाएर रुँदै उसको पछिपछि दौड्दै छे । उसकी ठुली छोरीले पनि बच्ची बोकेकी छ । सबै नै मैला, भुतुङ्गा छन् वातावरणजस्तै । वातावरणले उनीहरू मैला देखिएका हुन् या उनीहरूले वातावरणलाई मैलाएको हो वा दुवै नै हो, के हो ?

उनीहरू नजिक अझ नजिक हुँदै आउँछन् । अझ अगाडि आइपुगेपछि देख्छु उसका गोडामा कुनै गति छैन, कसरी ऊ हिँडिरहिछ ? धेरै अशक्त हिँडाइले आउँछे र शरीरलाई ऊ पिँढीमा फ्याँक्छे, बच्चीलाई काखमा राखेर टाउको पिँढीको काठको खम्बामा अडाउँछे र लामो लामो सास तान्छे ।

“लोहारपट्टीवाली के भयो ? सन्चो छैन ?” म सोध्छु । 

ऊ बोल्न पनि नसकेर लामो लामो सास मात्र फेरिरहन्छे । केही बेरपछि टाउको उठाएर मलाई हेर्दै भन्छे– “फेरि म दुई जिउकी भएकी छु ।”

“छोरा नभई हुँदैन । हरेकपल्ट दुई जिउ हुँदा यिनीहरूको बाबुले धम्क्याउँछ, अब छोरी पाइस् भने तँलाई र तेरा छोरीहरूलाई गला घोटेर मारिदिन्छु” भन्छ । दुई जिउ भयो कि मलाई यस्तै हुन्छ, खान मन लाग्दैन, पीर मात्र लाग्छ, डर मात्र लाग्छ फेरि छोरी हुने हो कि ?!!”

उसको भनाइले अनन्त पीर व्यक्त गरिरहेको हुन्छ । दुःख, ग्लानि र अशक्त उसको आँखाभित्र म कहालीलाग्दो खाडल देख्छु ।

उसका वरिपरि पाँच छोरीहरू छरिएका छन् ।

“पाँचवटा जन्मिसकेपछि पनि बन्द नगरेको ?” म सोध्छु । 

“छोरा नभई हुँदैन । हरेकपल्ट दुई जिउ हुँदा यिनीहरूको बाबुले धम्क्याउँछ, अब छोरी पाइस् भने तँलाई र तेरा छोरीहरूलाई गला घोटेर मारिदिन्छु” भन्छ । दुई जिउ भयो कि मलाई यस्तै हुन्छ, खान मन लाग्दैन, पीर मात्र लाग्छ, डर मात्र लाग्छ फेरि छोरी हुने हो कि ?!!”

“तेरो के दोष यसमा ?” 

“मैले जन्माउने, कसको दोष हुने ? किन मलाई छोरी मात्र हुन्छ ? किन मेरो पेटमा छोरा आउँदैन ? भगवान्लाई कत्ति पुकारिसकेँ । छोरा भएन भने मलाई नै मारिदेउ भनिसकेँ तर मेरो पुकार भगवान्ले पनि सुन्दैन ।”

“हेर, कत्ति पीर लिएकी, पीरले नै तँलाई खाइसकेछ, अनुहार कत्ति पहेँलो, ‘फु’ गर्दा ढल्ली जस्ती” ।

म देख्छु, ऊ धेरै अशक्त भएकी छे । एक मुठी सास लिएर कसरी ऊ हिँडिरहिछ । उसको हात समाएर हेर्छु, नङहरूमा रगत छैन, हलुको भएकी छे ।

उसको काखकी बच्ची अस्पटाउँछे र रुन्छे, ऊ चोलोभित्रबाट दूधको मन्टा निकालेर दिन्छे । बच्ची मन्टो चुस्न थाल्छे ।

“यी रीत्ता लाम्टा किन चुसाएकी ?”

“दूध नभए पनि यो चुस्न खोजिरहन्छे ।”

बच्ची दूध कटुवा आँखाले मलाई हेर्छे । यो दयनीय, कारुणिक जीवन ! मलाई भित्रभित्रै नमीठो लागेर आउँछ । गरिबी सँगै अज्ञानता पनि टाँसिएको हुँदोरहेछ । यो गाउँमा बस्नु भनेको अशिक्षित, अज्ञानी र अबुझ लोग्नेद्वारा सताइएका महिलाहरूका अनेक प्रकारका दुःख हेर्नु हो ।

जन्मने व्यक्तिको लागि जन्मनु एउटा अनिच्छा हुन सक्छ तर पनि ऊ जन्मन्छ, जन्मेपछि भोग्नुपर्ने विभिन्न प्रकारका आघात, घात प्रतिघात, यातना भोग्न ऊ बाध्य छ ।

“मलाई त हरेक दिन कुटेर नै मार्न लागिसक्यो” लोहारपट्टीवाली भन्छे ।

“तेरो लोग्ने पनि त्रसिछ छ– कतै छोरी जन्मेली भनेर, तँलाई कुटेर आफूभित्रको त्रासबाट मुक्त हुन खोज्छ, तर तँ, तँलाई त छोरी जन्मने डराथि लोग्नेले गर्ने यातनापूर्ण व्यवहारको पनि डर... जे हुन्छ हुन्छ छोडिदे, पीर नले । यो तेरो वशभित्रको कुरा हो र ? तेरो लोग्नेलाई मकहाँ पठा । म पनि सम्झाउला, बुझाउँला ।”

“बुझ्दैन, कुनै हालतमा पनि बुझ्दैन । मलाई अलच्छिनाइ भनेर सधैँ रिस मात्र पोखिरहन्छ । बिहा गर्ने बेलामा दहेजको, तिलकको लोभले बिहा नहोला भनेर, यसका आमाबाबुले र यसले मलाई छोपेर बिहा गरे । अर्को गाउँबाट कति राम्रो केटाले माग्न पठाएको थियो । अहिले यस्तो यातना दिन्छ !

“म मर्न पनि सकिनँ” ऊ लामो सुस्केरा तान्छे ।

‘“तँ मरिस् भने यी लालाबालाको के हबिगत होला । कस्तो दुर्गति होला । यस्तो पनि सोच्नुहुन्छ ?!”

ट्वाल्ल हेरेका एक जोडा आँखाहरूले भनिरहेका थिए– यो लोग्नेमानिसको साम्राज्य भएको संसारमा कहिले महिलाहरू शक्तिशाली होलान् ? सधैँ पराजय भोग्न बाध्य उनीहरूलाई कहिले विजयले साथ देला ? कहिले मांसल शक्तिको युग गएर बुद्धि र विवेकको युग आउँला ?

“यही डरले त बाँचिरहेछु । तर अहिले पनि छोरी भयो भने के गर्ने ??” ऊ त्रसित आँखाले मलाई हेर्छे ।

छोरी जन्मने सम्भावनाको त्रासले त्रसित ऊ, यो सम्भावनाको सोचाइले नै गल्दै गल्दै, मर्दै मर्दै गइरहिछ ।

परबाट खसी दौडदै आउँछ । पछिपछि रजिन्दर पनि खसी समात्न दौडदै आउँछ । लोहारपट्टीवाली खसीलाई हेर्छे र मनमनै सोच्छे, खसीको बलको एक छेउ बल पनि शरीरमा रहेन । उसको आँखाको भावबाट म बुझ्दछु, ऊ के सोचिरहिछ ।

चिन्ताले चितामा पुर्‍याउँछ । चिन्ता बलियो हुँदै जाँदा यसले मन शरीरलाई खरानी पार्छ । अनि संसारका हरेक वस्तु बलिया देखिन्छन्, मात्र आफू निर्बलियो होइन्छ । त्यसैले त हाम्रो दर्शनले भन्छ नहुने कुरा हुँदै हुँदैन र हुने कुरा रोक्न सकिँदैन । सबै निश्चित छन् । मन सम्हाल्न यस्ता सोचाइले धेरै मद्दत दिन्छ । तेरो हातमा कुनै कुरा नै छैन । त्यसैले पीर गर्नु मूर्खता मात्र हुन्छ”– म सम्झाउँछु ।

तर लोहारपट्टीवाली कुनै हालतमा पनि यस्ता कुराले मन सम्हाल्न नसक्ने अवस्थामा पुगिसकेकी छ किनकि बच्चा जन्मने दिन जति नजिक हुँदै जाँदै छ उसको मुटुको घण्टी त्यत्तिकै तोडले बज्दै छ । मेरा केही कुरा ऊ बुझ्दछे र केही कुरा बुझ्दिन तैपनि यहाँ आउँदा मसँग कुरा गर्दा उसको मन केही हलुको भएको अनुभव गर्छे– यो उसको बारम्बारको अभिव्यक्ति हो । 

रजिन्दर खसी पक्डदै भन्छ– “यसले मलाई कहाँदेखि दौडायो, बल्ल समातेँ ।”

म रजिन्दरलाई भन्छु– “यही खसी पक्डिएजस्तै यसको लोग्नेलाई मकहाँ पक्डिएर लेरा न ।”

“किन मालिक ?”

“केही कुरा सम्झाउनु छ । मैले कतिपटक बोलाउन पठाएँ, आउँदैन । हेर, यो लोहारपट्टीवाली मर्न लागिसकिछ । यसलाई यसै पीर छ, त्यसमाथि लोग्नेले पनि धेरै सताउँदोरहेछ । तँ त त्यसको साथी होइन ? तैँले सम्झाए पनि त हुन्छ ।”

“यसले छोरी मात्र पाउँछे अनि उसलाई रिस उठ्दैन त ?” ऊ रिसको आँखाले लोहारपट्टीवालीलाई हेर्छ ।

“के छोरी पाउनुमा यसको मात्र हात छ ? यसको वशको कुरा हो ? के रहरले यसले छोरी मात्र पाएकी हो र ?? पाँचवटा छोरी भइसकेपछि पनि छोरालाई कुर्नु हुन्छ ?” म भन्छु ।

“वंश नै लोप हुन्छ, अनि के गर्ने ?” ऊ भन्छ ।

“छोरी पनि त वंश हो नि, वंश त छोरीहरूले पनि त धानिन्छ” म भन्छु ।

 “पिण्डपानी कसले दिन्छ, पितृ तर्नुपरेन ? छोरा त चाहिहाल्छ । नभए अर्को बिहा गर्छ, उसले यसै भनेको छ”– ऊ खसी घिच्याउँदै जान्छ ।

लोहारपट्टीवाली अरू गलित भएर मलाई हेर्छे म उसको मनभित्रको सन्तापलाई बुझ्दछु तर सदियौँदेखि चलिआएको तिनीहरूको मस्तिष्कभित्र जकडिएको विचारलाई तुरुन्त फ्याँक्न म असमर्थ छु । संस्कार लुगाजस्तै भए म नयाँ लुगा लगाइदिन सक्थेँ । थुप्रै कौवाको बिचमा बकुल्लो बनेकी म, मेरो बोलीको नै कुन मूल्य हुन सक्छ र ? उनीहरूको आँखामा म पनि एउटी महिला मात्र त हुँ । कुन महिलालाई उनीहरूले सम्मानको आँखाले हेर्ने गरेका छन् र ? महिलाको कुरा सुन्ने गरेका छन् र ?

म दूध तताएर ग्लुकोज राखेर लोहारपट्टीवालीलाई दिन्छु, ऊ पछि हटेर डराउँछे ।

“किन ? यसले तागत दिन्छ खा”– म भन्छु ।

“बाहिर कसैको घरमा पनि खाने गरेको छैन” – ऊ दच्किएर भन्छे ।

“तेरो लोग्ने त खान्छ यहाँ ।”

“ऊ त मर्द, मैले हुँदैन ।”

हरेक सानातिना कुरामा पनि लोग्नेमानिस र स्वास्नीमानिसमा विभेद छ यहाँ । लोग्नेमानिस जे कुरामा पनि स्वतन्त्र छ, उसको हरेक जीवनचर्यामा । स्वास्नीमानिसको दासता जसलाई उनीहरू सभ्यता र संस्कृतिको नामले पुकार्छन्, इज्जत र मर्यादाको श्रीपेच सम्झन्छन् ।

दुई हप्तापछिको त्यस्तै साँझ, म आँगनको खटिामा बसेर चिया पिइरहेको हुन्छु । बालक, किशोर, तरुण, बूढीहरू सबै हतारहतार पूर्व दिशातिरको बाटोमा गइरहेको देख्छु । किन सबै हतारिएर एकै बाटोतिर गइरहेछन् ? म मनमनै सोच्छु । 

“ए मखनलाल, कहाँ हतारिएर जाँदै छौ ?” म सोध्छु । 

“महाराजजीको पोता भएको छ, उनैकहाँ जाँदै छु” ऊ हतारिँदै हिँड्छ ।

“यो सबै तपाईंको पुण्यको फल हो । तपाईंजस्तो धर्मात्माको घरमा पनि छोरीहरू मात्र कहाँ जन्मन्थे र । धर्मको फल ढिलो भए पनि मीठो हुन्छ” एउटा गाउँले चिप्लो घसिरहेको हुन्छ । 

“फूलकुम्री (फूलकुमारी) तँ कहाँ जान लागेकी ?“– म सोध्छु ।

“मिठाइ खान...” भनेर ऊ खिसिक्क हाँस्दै महाराजजीको घरतिर देखाउँछे ।

यी सबैको भनाइबाट थाहा हुन्छ । लोहारपट्टीवालीले छोरा पाइछ । जीवनभरको सन्तापबाट ऊ मुक्त भइछ । ऊ धेरै खुसी होली । अब त उसको लोग्ने र घरका परिवारको ऊप्रतिको व्यवहार पनि राम्रो भयो होला । म उसका लागि र उसको छोरोको थाङ्नाका लागि दुईटा धोती झिकेर ल्याउँछु, लोहारपट्टीवालीलाई दिनका लागि । त्यस खुसीमा सामेल हुने रहर मभित्र पनि जागेर आउँछ । म पनि ढोका ढप्काएर उसकै घरतिर लाग्छु ।

लोहारपट्टीवालीको घरको आँगनमा पुग्दा, उसको ससुरो महाराजजी सिन्दुरले रातै भएर फूलहरू सिउरेर खटियामा बसिरहेको, उसको लोग्ने पनि रातै भएर गाउँलेलाई मिठाइ बाँडेर बसेको, सासु भित्र बाहिर गरिरहेकी, सबै खानपिनमा मस्त भएको देख्छु । दमाईहरूले बाजा बजाइरहेका सम्पूर्ण वातावरणमा रौनकता छाइरहेको, खुसी व्यक्त भइरहेको हुन्छ ।

“अब भने पिण्डपानीको दाता पोता जन्मियो । मेरो सन्ताप अन्त्य भयो, वंश थामियो । जिन्दगीमा म आजको दिनजस्तो खुसी कहिल्यै भएको छैन ।” यो महाराजजीको आवाज म पस्दापस्दै सुन्छु ।

“यो सबै तपाईंको पुण्यको फल हो । तपाईंजस्तो धर्मात्माको घरमा पनि छोरीहरू मात्र कहाँ जन्मन्थे र । धर्मको फल ढिलो भए पनि मीठो हुन्छ” एउटा गाउँले चिप्लो घसिरहेको हुन्छ । 

“के छोरीहरू पापका फल थिए ?” म मनमनै सोच्दै भित्र जाँदै हुन्छु ।

एउटाले जक्खू खसी सकी नसकी घिच्याएर ल्याउँदै भन्छ– “ल महाराजजी गाउँभरिको सबैभन्दा ठूलो खसी खोजेर ल्याएँ । यो खसीले पुग्छ कि अर्को पनि चाहिन्छ ?”

“नपुगे अर्को काटौंला” महाराजजी रवाफसाथ जवाफ दिन्छ ।

सबै खुसीको हावभावले खसीतिर ध्यान दिन थाल्छन् । कोही खसीको तौलको अन्दाज गर्न थाल्छन्, कोही मुखभरि पानी रसाउन थाल्छन् ।

रातभर भोजभतेर, गाजाबाजा, मिठाइ खुसियालीका लागि गाउँ नै त्यहीँ एकत्रित हुँदै थियो । मानिसहरूको आगमनको क्रम बढ्दै थियो । मलाई पनि यो सब देख्दा खुसी लागिरहेको हुन्छ । म कसैलाई पनि इङ्गित नगरीकन सोध्छु– “लोहारपट्टीवाला कहाँ छे ?”

कसैले पनि मेरो प्रश्नको जवाफ दिँदैनन् वा सुन्दैनन् । सबै आ–आफ्ना धूनमा मस्त छन् । म भित्र पस्छु । बाहिर बच्चा नुहाउन लागेकी एउटी आइमाईलाई देख्छु, म सरासर कोठाभित्र पस्छु । पस्नासाथ एउटा विदीर्ण अवस्थामा म लोहारपट्टीवालीलाई देख्छु रगतले मुछिएकी, लुगा तितरबितर भएकी । म आवाज दिन्छु– “लोहारपट्टीवाली ?”

ऊ बोल्दिन । म फेरि आवाज दिन्छु, फेरि पनि बोल्दिन । नजिकै गएर म उसको निधार छाम्छु, शिलालाई छोए जस्तो जीवन नै नभए जस्तो लाग्छ मलाई । मलाई डर र आश्चर्यले एकैचोटि छोप्छ “के भयो उसलाई ?”

ऊ आँखा टवाल्ल हेरिरहेकी थिई । म उसलाई हल्लाउँछु, बोलाउँछु, ऊ निर्जीव शून्य भइसकेकी थिई । म बाहिर निस्किएर आत्तिएर कराउँछु– “लोहारपट्टीवालीलाई के भइसक्यो ?? !!”

कसैले पनि मेरो आवाज सुन्दैनन् । म उसको लोग्नेको नजिक गएर भन्छु– “लोहारपट्टीलाई हेर्न आउ, ऊ चिसी भएकी छ ।”

त्यहीँ बसेकी एक महिला भन्छे– “ऊ जानु हुँदैन सुत्केरी कोठामा ।”

लोग्ने मिठाइ बाँड्नमै तल्लीन हुन्छ, मानौँ उसले केही सुनेकै छैन ।

त्यो महिला मसँगै भित्र पस्छे, लोहारपट्टीवालीलाई छाम्छे, हल्लाउँछे अनि निर्णयमा पुग्छे, अब ऊ यस संसारमा छैन ।

बाहिर बाजा घन्किरहेको हुन्छ । मानिसको हुल र खुसियाली बढ्दै हुन्छ । लोहारपट्टीवालीले मानौँ आफ्नो कर्तव्य पूरा गरी– छोरा जन्माइदिई र यो स्वार्थी, निर्मोही संसारलाई छोडिदिई । अब त्यहाँ उसको कुनै काम थिएन, उसको जन्म नै छोरा जन्माउन भएको थियो र त्यो पूरा भएको छ ।

उसको कमजोर शरीर रगतले मुछिएको थियो । फिँजारिएको कपाल र अनुहारका ट्वाल्ल हेरेका एक जोडा आँखाहरूले भनिरहेका थिए– यो लोग्नेमानिसको साम्राज्य भएको संसारमा कहिले महिलाहरू शक्तिशाली होलान् ? सधैँ पराजय भोग्न बाध्य उनीहरूलाई कहिले विजयले साथ देला ? कहिले मांसल शक्तिको युग गएर बुद्धि र विवेकको युग आउँला ?!

छोरी हुँदाको पीडा र छोरीहरू जन्माउँदाको पीडाले ऊ छियाछिया भइसकेकी थिई । छोरीहरूको विवाहको तिलक र दाइजोले रित्तो भएर औषधि गर्न नपाएर मरेकी आफ्नी आमाको व्यथा पनि उसको आँखामा थियो ।

उसले जन्माएका छोरीहरूले फेरि भोग्नुपर्ने पीडाको सन्त्रासले ती आँखाहरू त्रसित थिए । ती आँखामा छोरा जन्मदाको लेस मात्र पनि खुसी थिएन । यस समाजलाई ती आँखाले चेतावनी दिइरहेका थिए । बदलाको भाव तैरिरहेका ती आँखाहरू विस्फारित थिए, क्रुद्ध थिए ।

म सँगै भित्र पसेकी स्वास्नीमानिस खुइय्य गर्छे । त्यो खुइय्यभित्र उसले महिला हुनुको पीडा पोखिरहेकी थिई । 

“लोहारपट्टीवालीले विश्रान्ति लिई, जीवनमुक्त भई, न सुख न दुःख” म अवाक् भएर यी शब्दहरू व्यक्त गर्छु ।

“पीरको तलाउमा डुबेर मरी”– ऊ पनि दुःख व्यक्त गर्छे । 

“मात्रा र प्रकारमा बढीघटी विविधता मात्र हो, हामी संसारभरका महिलाले भोग्नुपर्ने दुःख एउटै हो । जीवन जति आकर्षक छ, त्यत्तिकै अनाकर्षक, प्रेम जति पवित्र छ त्यत्तिकै घृणित । प्रेमको घृणित परिणाम भोगेर ऊ मरी !!” म भन्छु ।

“पहरो बनेर उभिएको सामाजिक संरचना संस्कार, धर्म र कानूनबाट ऊ खसेर मरी !!” ऊ भन्छे ।

हामी दुवै दुःखको खाडलमा खस्दै कोठा बाहिर निस्कन्छौँ । बाहिर खुसियालीमा केही पनि कमी आएको हुँदैन । भित्र लोहारपट्टीवालीको लास लडिरहेको हुन्छ । मानौँ लोहारपट्टीवालीको मृत्यु पत्नीको मृत्यु होइन, बुहारीको मृत्यु होइन, बालबच्चाकी आमाको मृत्यु होइन, मानिसको मृत्यु नै होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बेन्जु शर्मा
बेन्जु शर्मा
लेखकबाट थप