...त्यसपछि फेरियो बुढीगंगा नगरपालिकाको नाम
सारांश
- बाजुराको बुढीगंगा नगरपालिकाको नाम परिवर्तन गरी 'बार्जु नगरपालिका' राख्ने निर्णय गरिएको छ।
- नाम परिवर्तनको मुख्य कारण प्रशासनिक समस्या र अन्य स्थानीय तहसँग नाम जुधिनु थियो, जसले योजना र बजेटमा अन्योल ल्याएको थियो।
- बार्जु नाम ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको र बाजुराको पहिचानसँग जोडिएको हुनाले यसलाई रोजिएको हो।
कैलाली । बाजुराको बुढीगंगा नगरपालिका अबदेखि नयाँ नामले चिनिने भएको छ । नगरपालिकाको १२ औँ नगर सभाको सर्वसम्मत निर्णयले नगरपालिकाको नाम ‘बार्जु नगरपालिका’ राख्ने प्रस्ताव पारित गरिएको छ ।
स्थानीय बुढीगंगा नदीको नामबाट राखिएको पुरानो नाम आखिर किन फेर्नुपर्यो? नयाँ नाम ‘बार्जु’ नै किन रोजियो? यसको पछाडि प्रशासनिक झन्झटदेखि ऐतिहासिक गौरवसम्मका रोचक कारणहरू रहेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
कुनै पनि ठाउँको नाम त्यसको पहिचान भएको बताउँदै त्यही पहिचान अन्य ठाउँसँग मिल्न गएपछि समस्या झेल्नुपर्ने अवस्थामा आएको नगर प्रमुख बानियाँले बताए ।
नगरपालिकाको नाम परिवर्तनको निर्णय लिनुको मुख्य कारण नै नाम जुध्दा उत्पन्न भएको प्रशासनिक र व्यवहारिक कठिनाइ रहेको नगर प्रमुख बानियाँ बताउँछन् ।
यो समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले पाँचौँ नगर सभादेखिनै नाम फेर्ने विषयमा कुरा उठाएको थियो ।‘पहिला बाजुरा जिल्लाको बुढीगंगा नदीको नामबाट नगरपालिकाको नाम राखिएको थियो,’ बानियाँ भन्छन्, ‘तर अहिले यो नामले हामीलाई केही समस्याहरू सिर्जना गर्यो।’
उनका अनुसार समस्याको जड दुई ठाउँमा थियो । पहिलो, मोरङ जिल्लामा ‘बुढीगंगा गाउँपालिका’ नामको अर्को स्थानीय तह छ । दोस्रो, बाजुरा जिल्लामै ‘बुढीनन्दा नगरपालिका’ पनि छ । छोटकरीमा लेख्दा दुवै नगरपालिकाको नाम ‘बुनपा’ हुन जान्थ्यो, जसले ठुलो भ्रम सिर्जना गर्यो ।
यो भ्रमका कारण प्रदेश र सङ्घबाट आउने योजना तथा बजेटहरू अन्योलमा पर्न थाले । बुढीगंगा नगरपालिकाका लागि छुट्याइएका योजनाहरू कहिलेकाहीँ झुक्किएर बुढीनन्दा नगरपालिका वा मोरङको बुढीगंगा गाउँपालिकामा पुग्ने समस्या देखियो । यसले विकास निर्माणका काममा समेत बाधा पुर्याउन थालेपछि नाम फेर्नेबारे गम्भीर छलफल सुरु भएको नगर प्रमुखको भनाई छ ।
नाम परिवर्तनको निर्णय रातारात लिइएको होइन । यसका लागि नगरपालिकाले एउटा लामो र सहभागितामूलक प्रक्रिया अपनाएको थियो । नगर प्रमुख बानियाँका अनुसार समस्या महसुस भएपछि कार्यपालिकाले एउटा समिति नै गठन गरेको थियो । उक्त समितिले नाम परिवर्तनको आवश्यकता र विकल्पबारे अध्ययन गरेको थियो ।
नगरपालिकाले ‘समृद्धिका लागि बुढीगंगा विकास कचहरी’ नामक एक सम्मेलन आयोजना गरेर सरोकारवाला र स्थानीय नागरिकको सुझावसमेत सङ्कलन गरेको थियो । सोही भेलामा उपस्थित अधिकांशले नाम जुध्दा परेको अप्ठ्यारो अन्त्य गर्न नाम फेर्नुपर्नेमा जोड दिएका थिए ।
सबैको सुझावअनुसार नगरपालिकाले त्यसपछि नाम परिवर्तन गर्ने काम अगाडी बढाएको हो । ‘त्यो सम्मेलनमा हामीले सबैको सुझाव लियौँ,’ नगर प्रमुख बानियाँले भने, ‘त्यसपछि नै बुढीगंगाको नाम फेरौँ भन्ने निष्कर्षमा पुगेका हौँ ।’
समितिले विभिन्न नामहरू प्रस्तावका लागि सङ्कलन गरिएको थियो । तीमध्ये बाजुरा नगरपालिका, टाँटे नगरपालिका, बार्जु बुढीगंगा जस्ता नामहरू पनि छलफलमा आएका थिए । यी नामहरू मध्ये ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ‘बार्जु’ नाममा सबैको सहमति जुटेपछि नगरपालिकाको नाम परिवर्तन गरिएको हो ।
‘बार्जु’ यो एउटा नाम मात्र होइन । यो बाजुराको ऐतिहासिक सभ्यता र पहिचानसँग जोडिएको शब्द हो। नगर प्रमुख बानियाँका अनुसार, बाइसे–चौबिसे राज्यकालमा ‘बार्जु’ एक शक्तिशाली र सभ्य राज्यको केन्द्र थियो। त्यो समयमा बार्जुले एउटा छुट्टै सभ्यताको विकास गरेको थियो ।
एउटा बलियो किंवदन्तीअनुसार, हालको ‘बाजुरा’ जिल्लाको नामाकरण पनि यही ‘बार्जु’ शब्दबाट अपभ्रंश भएर रहेको हो। यसरी जिल्लाको नामसँगै ऐतिहासिक साइनो गाँसिएको हुनाले यही नामलाई पुनर्जीवन दिनु उपयुक्त हुने ठहर गरियो ।
‘हाम्रो ऐतिहासिक चिनारी, जुन बार्जु सभ्यता हो, त्यसैलाई टेकेर हामीले नगरपालिकाको नाम राख्ने निर्णय गरेका हौँ, यो हाम्रो सभ्यता र इतिहासप्रतिको सम्मान पनि हो ।’, मेयर बानियाँले भने ।
एउटा सभ्यतासँग जोडिएको नाम राख्दा नगरपालिकाको पहिचान अझ बलियो हुने उनको भनाई छ । यसका साथै ऐतिहासिक गौरव पनि संरक्षण हुने विश्वास नगरपालिकाको छ । नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णयपछि स्थानीयहरू नगरपालिकाको निर्णय ऐताहिसक भएको बताउँछन् ।
‘समस्या आएपछि नाम परिवर्तन गर्नु उपयुक्त काम हो, यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ, स्थानीय नरेन्द्र सिंहले भने ।
नाम परिवर्तनपछि अबको पक्रिया के हुन्छ ?
नगर सभाबाट नाम परिवर्तनको निर्णय सर्वसम्मतिले पारित भइसकेको छ । तर, यो निर्णय तत्कालै लागू भने हुँदैन । यसका लागि एउटा निर्धारित प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
नगर प्रमुख बानियाँका अनुसार, अब नगरपालिकाले यो निर्णयलाई प्रदेश सभामा पठाउनेछ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेपछि त्यसलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइन्छ । त्यसपछि नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र ‘बुढीगंगा नगरपालिका’ आधिकारिक रूपमा ‘बार्जु नगरपालिका’ हुनेछ ।
यो प्रक्रिया पूरा हुन केही समय लाग्नेछ । प्रक्रिया पूरा भएपछि नगरपालिकाको वेबसाइट, लेटरपेड र अन्य सबै सरकारी कागजातमा नयाँ नाम समावेश गरिनेछ ।
‘यो प्रक्रियाले केही समय लिन्छ, हामीले हाम्रो ऐतिहासिक पहिचान स्थापित गर्न यो कदम चालेका हौँ,’ नगर प्रमुख बानियाँले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण