एमाले कमजोर बनाउन चार शक्ति लागेका छन् : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले एमालेमाथि चार शक्तिले हमला गरिरहेको बताए।
- उनका अनुसार राजावादी, माओवादी, समाजवादी, र बाह्य शक्तिले एमालेलाई कमजोर पार्न खोजिरहेका छन्।
- पोखरेलले एमालेको सशक्त प्रतिवाद गर्नुपर्ने र सामाजिक सञ्जालमा राजनीतिक विचार राख्न आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी माथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन् । एमालेले राष्ट्र हित र जनताका सवाललाई सशक्त ढङ्गले उठाउँदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पुरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए ।
एमाले काठमाडौँ जिल्ला कमिटीको छैटौँ बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । पोखरेलले एमालेलाई राजावादी,कम्युनिस्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए ।
‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरू सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामी माथि खनिएका हुन् ।’
एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उनले बताए । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालीबाट हामी विचलित हुनुहुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौँ ।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमाले माथि हमला गर्न आउने गरेको उनले बताए । ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्’ पोखरेलले भने ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ । ’
महासचिव पोखरेलले एमाले माथि हमला गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमाले माथि हमला गरिरहेका छन्’ पोखरेलले भने, ‘किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’
अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनले बताए । नेपाली संस्कृति, सामाजिकता,सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उनले स्पष्ट पारे ।
एमालेको खोइरो खन्ने बाह्य शक्ति पनि भएको उनको भनाइ छ । एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा रहेकोले त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उनले बताए । ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वाभिमान प्रदर्शन एमालेले गर्यो । मुलुकमा स्थायित्वको खोजी गर्यो ’ पोखरेलले भने ‘ एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गिर खेल्ने ठाउँ बनाउँथे । त्यो स्वार्थ पुरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’
महासचिव पोखरेलले एमालेका मूल नेता र प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई उनले निर्देशन दिएका छन् । आज एउटा नेतालाई हमला गर्नेले भोलि अरूलाई नै बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई आजै निस्तेज पार्नुपर्ने उनको भनाइ छ ।
‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ’ पोखरेलले भने, ‘आजै यो कुरालाई निस्तेज नगरे भोली अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ ।’ उनले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माथि उल्लेख गरिएका चारै वटा शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।
‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी, पारिवारिक तस्बिर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भने, ‘एमालेहरूले यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले वार्तामा ढिलाइ गर्यो, अब मूल्य चुकाउनुपर्छ : ट्रम्प
-
सुशासन र समृद्धि : वर्तमान सरकारका लागि एक ‘रोडम्याप’
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध
-
छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण