बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अराजकलाई नङ्ग्याउने अभियान

सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध कलाकारको ‘एक्सपोज’ अभियान : अब चुप लागेर नबस्ने घोषणा

मेरो अभियान सार्थक हुँदैछ : अभिनेत्री ऋचा शर्मा
बिहीबार, १२ असार २०८२, १६ : ५४
बिहीबार, १२ असार २०८२

सारांश

  • कलाकारहरूले सामाजिक सञ्जालमा हुने दुर्व्यवहारको खुलेर प्रतिवाद गर्न थालेका छन्।
  • ऋचा शर्माले साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाएपछि अन्य सेलिब्रेटीहरू पनि यस अभियानमा सामेल भएका छन्।
  • अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूलाई एक्सपोज गर्दा माफी माग्न बाध्य भएको र अभियानले निरन्तरता पाउने कुरा उल्लेख गरिएको छ।

काठमाडौँ । केही अघिसम्म कलाकारहरू आफूमाथि सामाजिक सञ्जालमा हुने गरेका अभद्र टिप्पणीमा चुप लागेरै बस्थे । प्रतिक्रिया जनाउँदा विषय अझै बल्झिँदै जाने चिन्ताले उनीहरू यस्ता कुरालाई सार्वजनिक गर्न डराउँथे । आफ्नो सामाजिक प्रतिष्ठामा असर पुग्ने डरले पनि उनीहरू त्यस्ता दुर्व्यवहारमा कुनै प्रतिक्रिया दिँदैनथे ।

अहिले समय फेरिएको छ । सामाजिक सञ्जालमा हुने गरेका दुर्व्यवहार र नकारात्मक टिप्पणी लुकाउने र सहने मानसिकताबाट कलाकार बाहिर निस्कन थालेका छन् । उनीहरू आफूमाथि हुने साइबर दुर्व्यवहारविरुद्ध खुलेर प्रतिवाद गर्न थालेका छन् । 

पछिल्लो समय सेलिब्रेटीहरूले आफूलाई सामाजिक सञ्जालमा नराम्रो टिप्पणी गर्नेहरूको नाम र पहिचानसहित ‘एक्सपोज’ गर्न थालेका छन् । गुमनाम बसेर गालीको वर्षा गर्नेहरू पछिल्लो समय सार्वजनिक रूपमा नाङ्गिन थालेका छन् । एकपछि अर्को गर्दै सेलिब्रेटीहरूले आफूमाथि सामाजिक सञ्जालमा हुने गरेका अभद्र टिप्पणी र दुर्व्यवहारको जबाफ सामाजिक सञ्जालबाटै र कानुनी रूपमा समेत दिन थालेका छन् । 

उदाहरणका रूपमा समीक्षा अधिकारीलाई लिन सकिन्छ । उनले केही समयअघि आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी सार्वजनिक गरेकी थिइन् । जसको २४ घन्टा नबित्दै ती प्रयोगकर्ताले समीक्षासँग माफी मागेका थिए ।

उनले पोष्टमा क्षमा माग्दै लेखेका थिए, ‘समीक्षा बहिनी ! जे लेखियो, त्यसका लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागौंला...!!’

अधिकारीले पनि उनको माफी स्वीकार गर्दै उनले गरेको अभद्र टिप्पणीसहितको स्क्रिनसट आफ्नो सामाजिक सञ्जालबाट हटाएकी थिइन् ।

  • ऋचाले सुरु गरेकी थिइन् अभियान

सामाजिक सञ्जालमा आफूलाई नकारात्मक टिप्पणी गर्दै गाली गलौज गर्नेलाई सामाजिक सञ्जालमार्फत नै एक्सपोज गर्ने पहिलो आँट गर्ने सेलिब्रेटी अभिनेत्री ऋचा शर्मा हुन् । उनी राजपरिवारको विषयमा दिएको अभिव्यक्तिका कारण आलोचित अभिनेत्री सुरक्षा पन्तको बचाउ गर्दा सामाजिक सञ्जालमा तारो बनेकी थिइन् ।

त्यसरी गाली गर्ने केही प्रयोगकर्ताको नाम सार्वजनिक गर्दै साइबर अपराधमा उजुरी गर्ने चेतावनी उनले सामाजिक सञ्जालमार्फत नै दिएकी थिइन् । जसको कारण उनीहरूले ऋचासँग माफी माग्दै पोस्टसमेत हटाएका थिए ।

त्यस्तै, टिकटक हुँदै म्युजिक भिडियोमा छाउन सफल प्रिज्मा खतिवडाले पनि सामाजिक सञ्जालमा आफूलाई अभद्र गाली गर्नेको नाम सार्वजनिक गरेकी थिइन् ।

अहिले गायिका एलिना चौहान पनि यो अभियानमा देखिएकी छन् । उनले आफ्नो बारेमा अमर्यादित टिप्पणी गर्नेलाई एक–एक गरेर सार्वजनिक गर्ने चेतावनी दिएकी छन् ।

‘समीक्षा, ऋचा, प्रिज्मालगायतले सामाजिक सञ्जालमा एक्पोज गरेको देखेर अब यो शान्त हुन्छ भनेर चुप बसेको थिएँ’, एलिनाले बुधबार एक भिडियो सन्देशमा भनेकी छन्, ‘सुरु–सुरुमा मैले कमेन्ट बेवास्ता गर्दै छोड्दै आएको थिएँ । अब चुप बस्दिनँ । एक–एक गरेर एक्सपोज गर्छु ।’ 

एलिनाले त्यस्ता व्यक्तिविरुद्ध साइबर अपराधको कसुरमा उजुरी दिनेसमेत बताएकी छन् ।

  • मैले आँट गरे, अब अभियान बन्दैछ : ऋचा शर्मा 

अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा गरिने अभद्र टिप्पणीबारे प्रतिवाद गर्दाको अनुभव सुनाइन् ।

रातोपाटीसँग उनले भनिन्, ‘जब मैले अभिनेत्री सुरक्षा पन्तको बचाउमा केही शब्द बोलेँ, मैले सुरक्षालाई सपोर्ट गरेँ भनेर राजावादीहरूले मलाई निसाना बनाए । सामाजिक सञ्जालमा विभिन्न गालीगलौज हुन थाल्यो ।’ 

पहिले यस्ता कुरामा बेवास्ता गर्दै आए पनि अति भएपछि अब चुप बस्नु हुँदैन, एक्सपोज गर्नुपर्छ भनेर आफूले उनीहरूको सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक गर्दै साइबर अपराधको उजुरीसमेत दिएको उनले बताइन् ।

‘त्यसपछि कतिपयले माफी माग्दै गालीगलौज गरिएका कमेन्ट तथा पोस्ट हटाए । त्यसरी गालीगलौज गर्नेको फेक आइडी हुने रहेछ । तर प्रहरीले फेक आइडी कसले चलाइरहेको छ भन्ने पनि पत्ता लगाउन सक्दोरहेछ । त्यसपछि मलाई कुनै पनि नराम्रो म्यासेज आएको छैन,’ ऋचाले भनिन् ।

आफूले चलाएको अभियान त्यतिवेला सबैले चलाएको भए अहिले कसैले पनि त्यस्तो दुर्व्यवहार भोग्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । ‘तर के गर्नु ? कसैले आँटेनन्,’ उनले भनिन्, ‘मेरो बुझाइमा त्यसरी गालीगलौज गर्नेहरू विभिन्न समस्याबाट पीडित व्यक्ति हुन्, जो आफ्नो परिवारलाई केही भन्न सक्दैनन्, आफ्नो फ्रस्टेसन कतै पोख्न पाउँदैनन्, अनि सोसल मिडियामा आएर हामीलाई गाली गर्छन् ।’

सेलिब्रेटीहरूले सबै कमेन्ट हेर्दैनन्, हेरे पनि रिप्लाइ गर्दैनन् भन्ने सोचेरै त्यस्ता व्यक्तिले जथाभावी कमेन्ट गर्ने गरेको ऋचाको बुझाइ छ । उनले भनिन्, ‘जब मैले उनीहरूको स्क्रिनसट हालेँ, कतिले मलाई नै भने– तपाईंको बेइज्जत भयो । तर मेरो बेइज्जत किन हुन्छ ? बेइज्जत त त्यसको हुनुपर्‍यो, जसले मलाई जथाभावी लेखिरहेको छ । मैले ६ जनालाई एक्सपोज गरेकी थिएँ, ६ जनाले नै माफी मागेको भिडियो पठाएका थिए ।’

ऋचाका अनुसार एक जना त डरले रुँदारुँदै बिरामी भएर अस्पताल भर्ना भएका रहेछन् । ‘उनले सामाजिक सञ्जालमा गाली गर्ने बितिक्कै मैले जबाफ फर्काएकी थिएँ,’ ऋचाले भनिन्, ‘योचाहिँ नेपाल प्रहरीमा जान्छ र तपाईंमाथि साइबर ब्युरोमा मानहानिको मुद्दा लाग्नेछ भनेँ । त्यो देख्नेबित्तिकै उनी थरथर काँप्न थालेछन् र बिरामी भएछन् ।’

कलाकारको कामका बारेमा टिप्पणी गर्न पाइने तर व्यक्तिगत जीवन र चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको ऋचाको भनाइ छ । उनले भनिन्, ‘मेरो पेजमा आएर मलाई अपशब्द बोल्ने अधिकार कसैसँग पनि छैन । मेरो कामको बारेमा भन्न पाउनुहुन्छ । तिम्रो अभिनय मन परेन, तिम्रो फिल्म राम्रो लागेन भन्न पाइन्छ । तर मेरो व्यक्तिगत जीवन र चरित्रमाथि प्रश्न उठाउन र गाली गर्न पाउनुहुन्न ।’

हरेकचोटि यस्तो म्यासेज आउँदा आफू एक्सपोज गर्ने पक्षमा रहेको ऋचाले बताइन् । ‘अचम्मको कुरा के छ भने त्यसपछि एउटा पनि त्यस्तो म्यासेज आएको छैन, पूरै बन्द भयो,’ उनले भनिन् ।

आफूले जस्तै कदम अहिले समीक्षा, एलिनाले पनि उठाएकोमा ऋचा खुसी छिन् । उनले भनिन्, ‘मैले त्यतिखेर सुरक्षालाई पनि भनेकी थिएँ– तिमी डराउनुपर्दैन, पाँच जनालाई मात्र सार्वजनिक गर, सय जनाले सरी लेखेर पठाउँछन् । उनले मानिनन् ।’

सामाजिक सञ्जाल प्रयोगकर्तालाई ऋचाको सन्देश छ– तपाईंहरूले हाम्रो कामको लागि प्रश्न गर्न पाउनुभयो, तर हाम्रो व्यक्तिगत जीवन र शरीरलाई लिएर गाली गर्न पाउनुहुन्न ।

उनले कलाकारलाई पनि सुझाव दिँदै भनिन्, ‘यदि तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ भने बोल्न नडराउनुस् ।’

आफूले अभद्र टिप्पणी गर्नेलाई ‘एक्सपोज’ गर्दा दीपाश्री निरौलाले समेत प्रशंसा गरेको उनले सुनाइन् । ‘अहिले एउटा अभियान नै सुरु भएको छ । धेरैले फोन गरेर धन्यवाद भनेका छन्,’ उनले भनिन्, ‘तिमीले सुरु गर्‍यौ । बिस्तारै अरुले पनि आँट गर्न थालेका छन् भनेर प्रशंसा गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप