किन कतिपय आमाहरूको दुध नआउने समस्या हुन्छ ?
सारांश
- विज्ञहरूका अनुसार बच्चालाई फर्मुला दुध खुवाउनु गलत हो, र आमाको दूध नै पहिलो खोप हो।
- शिशुको पेट सानो हुने भएकाले थोरै दूध भए पनि पुग्छ, र आमाको दूध कम भए पनि फर्मुला आवश्यक पर्दैन।
- आमाको दूध बढाउन गुलियो खानेकुराको सट्टा स्वस्थकर र झोलिलो खानेकुरा खानुपर्छ, र बच्चाले दूध खोज्दा औंला चुस्ने जस्ता संकेत दिन्छन्।
भनिन्छ आमाको दुध बच्चाको लागि अमृत समान हो । तर पनि पछिल्लो समय भर्खर जन्मिएको बच्चालाई पनि फर्मुला दुध खुवाउने चलन बढ्दो छ ।
बच्चा जन्मने बित्तिकै आमाको दुध निक्कै कम आउने भएकाले बच्चालाई फर्मुला दुध टन्न खुवाउने गरिन्छ । तर विज्ञहरू यो अभ्यास गलत भएको बताउँछन् ।
उनीहरू बच्चा जन्मने बित्तिकै आमाकै दुध खुवाउनुपर्नेमा जोड दिन्छन् । हामीले आमाको दुधको महत्त्व लगायतका विषयमा सिनियर कम्युनिटी नर्सिङ अफिसर कुमारी भट्टराईसँग कुराकानी गरेका छौँ ।
भर्खरै जन्मिएको शिशुलाई आमाको दुध नै किन खुवाउने ?
बच्चाको लागि आमाको दुध पहिलो खोप हो । बच्चा जन्मने बित्तिकै आमाको बिगौती दुध अर्थात् कोलोस्ट्रम मिल्क खुवाउनुपर्छ । किनभने आमाको बिगौती दुधमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसैले बच्चा जन्मने बित्तिकै आमाकै दुध नै खुवाउनु पर्छ । यसलाई फर्स्ट इम्युनाइजेसन अफ चिल्ड्रेन भनेर पनि चिनिन्छ ।
भर्खरै जन्मिएको शिशुलाई कति मात्रामा दुध आवश्यक पर्छ ?
भर्खरै जन्मिएको शिशुको पेट सानो हुन्छ । त्यसैले उसलाई धेरै दुध खुवाउनुपर्दैन । त्यसैले ५ देखि ७ एम.एल दुध अर्थात् एक चिया चम्चाको एक चम्चा दुध भए एक दिनको लागि पुग्छ । त्यसैले जन्मने बित्तिकै आमाको दुध थारै आएपनि बच्चालाई पुग्छ ।
आमाको दुध थारै आयो भनेर फर्मुला दुध खुवाउने चलन छ । त्यसो भए भर्खरै जन्मिएको बच्चालाई आमाको दुध थारै भयो भनेर फर्मुला दुध खुवाउनु पर्दैन हो ?
पर्दैन । बच्चाको पेट सानो हुन्छ । बच्चा जन्मिएको दुई दुई घण्टाको अन्तरमा बच्चालाई आमाको दुध खुवायो भने अरू दुध खुवाउनु आवश्यक छैन । हामीले डराएर मात्रै त्यसो गरेका हौँ । दुध कम भएको छ भने बच्चालाई ज्वरो आउने लगायतका लक्षण देखिन्छ । त्यसैले यो लक्षण हेरेर मात्र बच्चालाई दुध खुवाउनुपर्छ ।
दुई दुई घण्टामा बच्चालाई दुध खुवाइरहनै पर्ने हो ?
पहिले-पहिले दुई दुई घण्टामा दुध खुवाउने भनिन्थ्यो । अहिले बच्चाको डिमान्ड अनुसार खुवाउनुपर्छ पनि भनिन्छ । यो भनेको बच्चाले जतिबेला दुध खोज्छ त्यति बेला खुवाउने गर्नुपर्छ । जस्तै बच्चाले खान खोज्यो, औँला चुस्न थाल्यो भने खुवाइहाल्नुपर्छ । तर कतिपय बच्चाले दुध खान खोजेको सङ्केत नदिन सक्छन् । यस्तो अवस्थामा बच्चालाई २४ घण्टामा ८ देखि १० पटकसम्म दुध चुसाउने गर्नुपर्छ ।
कतिपय आमाहरूको दुध नै नआउने समस्या हुन्छ । किन ?
बच्चाले जति राम्रोसँग दुध चुस्यो, त्यत्ति नै आमाको दुध राम्रोसँग आउँछ । बच्चाले राम्रोसँग नचुसेका कारण पनि दुध नआएको हुन सक्छ । अर्को कुरा यदि आमा धेरै चिन्तित छिन् भने पनि आमाको दुध आउने प्रक्रियामा समस्या हुन्छ । यदि आमाको निन्द्रा पुगेको छैन, खाना राम्रोसँग खाएको छैन भने, आमाले धेरै तनाव लियो भने दुध उत्पादन प्रक्रियामा समस्या हुन्छ । त्यसैले आमाले धेरै चिन्ता नलिने, समयमा खाने, पर्याप्त सुत्ने गर्नुपर्छ । यसो हुँदा विशेष परिस्थितिमा बाहेक आमाको दुध नआउने भन्ने हुँदैन । बच्चालाई छातीमा टासेर राख्यो भने पनि आमाको दुध आउने प्रक्रियामा मदत पुग्न सक्छ । बच्चासँगको सामीप्य बढायो भने पनि आमाको दुध उत्पादनमा धेरै सहयोग गर्छ ।
धेरै दुध आएन भने जेरी, लड्डु जस्ता गुलियो खानेकुरा खुवाउने र खाने चलन छ । यसले आमाको दुध उत्पादनमा सहयोग गर्छ ?
यो हाम्रो पुरानो परम्परा हो । तर गुलियो खाएर दुध आउँछ भन्ने कुरा वैज्ञानिक हो भन्ने लाग्दैन । किनभने निप्पलमा स्टिमुलेट गरिसकेपछि त्यसले प्रोल्याक्टिन हर्मोन रिलिज गर्छ । हर्मोन रिलिज भएपछि प्रोल्याक्टिनले प्रोडक्सन गर्छ र अक्सिटोसिनले मिल्क रिलिज गर्न सहयोग गर्छ । बच्चालाई समय समयमा दुध चुसाइरहने हो भने आमाको दुध आउन थाल्छ । यसो गरियो भने दुध बढाउनको लागि भनेर वैज्ञानिक आधार नभएका खानेकुरा खुवाइरहनु पर्दैन । बरु दुध धेरै आयो भने सुकाउने खालका औषधिहरू आएका छन् । तर दुध बढाउने खानेकुरा भनेर अहिलेसम्म कुनै पनि वैज्ञानिक तवरले आएका खानेकुरा भने छैनन् अर्थात चाकु, घ्यु खाएर, गुलियो खानेकुरा खाएर आमाको दुध आउँछ भन्ने हुँदैन । पोसिलो खानेकुरा, झोलिलो खाने कुराहरूले भने आमाको दुध उत्पादन प्रक्रियालाई सहयोग गर्छ ।
बच्चाले दुध खान मन लाग्यो भने के-के सङ्केत दिन्छ ?
बच्चा रुन्छ । बच्चाको मुखमा औँला अरू कुनै पनि चिज लग्यौँ भने बच्चाले चुस्न खोज्छ । आफ्नो औँला पनि चुस्न खोज्न । यसरी पनि बच्चालाई दुध चाहिएको हो भनेर थाहा पाउन सकिन्छ ।
बच्चालाई कसरी दुध खुवाउनु पर्छ ?
पहिले पहिले थु....थु गरेर खुवाउने, आगो छोएर खुवाउने तथा बच्चाको लात्ती निप्पलमा लगाएर खुवाउने चलन थियो । तर यसरी होइन, पहिले आमाले सरसफाइमा ध्यान दिनुपर्छ । सामान्यतया: निप्पललाई सफा पानीले धोएर वा पुछेर दुध खुवाउँदा हुन्छ । खुवाउँदै पिच्चे धोइरहनुपर्दैन दिनको एक पटक सफा पानीले पुत्चेर खुवाउँदा हुन्छ ।
बच्चालाई अमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने ?
दुध प्रशस्त खान पुगेको बच्चाले एक दिनमा अर्थात् २४ घण्टामा कम्तीमा ६ देखि ८ पटक पिसाब फेर्छ र पिसाबको रङ सफा हुन्छ । यदि बच्चालाई दुध प्रशस्त पुगेको छैन भने २४ घण्टामा ६ पटक भन्दा कम पिसाब फेर्छ र पिसाबको रङ गाडा पहेँलो, बाक्लो र एकदम गन्हाउने हुन्छ । यस्तो अवस्थामा आमाले बच्चालाई आवश्यक मात्रामा दुध पुगेको छैन भन्ने बुझ्नुपर्छ ।
आमा बिरामी भएको अवस्थामा बच्चालाई दुध खुवाउन मिल्छ ?
मिल्छ । आमा वा बच्चा जो बिरामी भए पनि निरन्तर रूपमा दुध खुवाउनुपर्छ । अर्को कुरा बच्चालाई आमाले पूर्ण स्तनपान अर्थात् ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण