सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा बाढीबाट दश परिवार विस्थापित

सोमबार, १६ असार २०८२, २१ : २१
सोमबार, १६ असार २०८२

कञ्चनपुर । आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार बाढीबाट विस्थापित भएका हुन् । 

विस्थापित सबैलाई नजिकैको विद्यालय र आफन्तका घरमा बस्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

“घर डुबानमा परेपछि मानिससहित गाईभैँसी र बाख्रालाई सुरक्षित स्थानमा लगेका छौँ”, उनले भने, “विस्थापितहरू केही आफन्तकामा र केही नजिकैको विद्यालयमा छन् ।”

पुनर्वास नगरपालिका–५ पशुपतिचोक नजिकै डुबानका कारण विस्थापित भएका सात परिवारलाई उद्धार गरेर नजिकैको छिमेकीका घरमा लगिएको छ । 

त्यसैगरी कृष्णपुर नगरपालिका–७ स्थित कार्की कटानमा विस्थापित दुई परिवारलाई अर्को घरमा बस्ने व्यवस्था गरिएको छ ।  

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा डुबानका परेको कलावती जोशीको पाँच जनाको परिवार, दुई वटा गाई, एक भैँसी र पाँच वटा बाख्रालाई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा बस्ने व्यवस्था गरिएको छ ।

भीमदत्त नगरपालिका–१५ स्थित डम्बर राना क्षेत्रीको ज्योति कृषि तथा पशुपन्छी फार्म डुबानमा परेर करिब रु ७२ हजार बराबरको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप