मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ नगर प्रहरीविरूद्ध उच्च अदालत पाटनमा रिट, १९ असारमा पेसी

मङ्गलबार, १७ असार २०८२, १८ : ४०
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाअन्तर्गत नगर प्रहरीविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ । कानुनका विद्यार्थीहरू ओमकुमार यादव र निकेश नेपालले उत्प्रेषण परमादेश मागसहित मंगलबार निवेदन दायर गरेका हुन् । निवेदनमा ट्राफिक प्रहरी कार्यालयलाई पनि विपक्षी बनाइएको छ । 

उक्त निवेदनमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल नजिक सडक किनारमा पार्क गरेर राखिएको मोटरसाइकल कुनै पूर्व सूचना नदिई नगर प्रहरीले उठाएर जरिवाना गरेकाले त्यो गैरकानुनी भएको दाबी गरिएको छ । 

निवेदनमा भनिएको छ, ’न नो पार्किङ बोर्ड थियो, न त कसैलाई अवरोध हुने गरी सवारीसाधन राखिएको थियो । तर बिना कुनै लिखित सूचना जवाफको अवसर समेत नदिई प्रत्यक्ष प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन गर्दै सवारीसाधन उठाइएको र जरिवाना गरिएको छ ।’ 

रिट निवेदनमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा महानगर प्रहरी ऐन, २०८० मा ट्राफिक प्रहरी र नगर प्रहरीलाई यस्तो कार्यको स्पष्ट अधिकार नदिएको उल्लेख गर्दै नगर प्रहरीको उक्त कार्य गैरकानुनी भएको दाबी गरिएको छ ।  

उक्त जरिवाना बदर गरी फिर्ता गर्न र भविष्यमा कानुनबिना यसरी सवारी नियन्त्रणमा नलिनसमेत आदेशको माग गरिएको छ । निवेदकद्वयले यस्तो कार्यले संविधानको धारा १६, १७, ४६ र १४४ को उल्लङ्घन भएको दाबी गरेका छन् । 

उक्त रिटमाथि सुनवाइका लागि असार १९ गते पेसी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप